sponsor

Slider

Theme images by kelvinjay. Powered by Blogger.

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

उपचार गर्न काठमाडौं ल्याइएका खोटाङका १६ वर्षिया शिवराम ११ दिनदेखि बेपत्ता

हराईरहेका शिवराम
काठमाडौं २ भदौं । उपचारका लागि काठमाडौं ल्याइएका खोटाङका एक १६ वर्षिया नाबालक विगत ११ दिनदेखि हराईरहेका छन् । लामो समय खोजि कार्य गर्दा पनि नभेटिएपछि उनको परिवारमा भने थप समस्या थपिएको छ । उनका परिवारले सहयोगका लागि अपिल समेत गरेका छन् ।

खोटाङ साकेला गाउँपालिका वडा नम्बर १, साबिकको च्यानडाँडा वडा नम्बर २ का शिवराम गुरुङ झण्डै दुई सातादेखि काठमाडौंको पुरानो बानेश्वर नजिकैबाट हराएका हुन् । अन्दाजी ४.५ फिट उचाई भएको सेतो भेष्ट र कालो ट्रयाक लगाएका उनी २१ साउनमा काठमाडौंको पुरानो बानेश्वर (भिमसेनगोला) बाट हराएको उनको परिवारले जनाएको छ ।
सामान्य मानसिक समस्याको बिरामी समेत रहेकाले उपचारका क्रममा काठमाडौंमा भएको बेला उनी हराएको उनका दाजु बलराम गुरुङले जानकारी दिए ।

विभिन्न ठाउँमा खोजी कार्य गर्दा समेत फेला नपरेपछि परिवारले गौशाला प्रहरी प्रभागमा निवेदन दिएपनि हालसम्म नभेटिएको भन्दै कसैले देखे भेटेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराईदिन हुन उनको परिवारले आग्रह गरेको छ । उनको परिवारले शिवरामलाई भेटेमा ९८१५७२४१८४ वा ९८६१८६५७१६ मा खबर गरिदिन पनि आग्रह गरेको छ ।

हराईरहेका शिवराम

खोटाङमा शिक्षक मृत फेला

खोटाङ भदौ–२, खोटाङमा एक शिक्षक मृत फेला परेका छन् । दिक्तेलस्थित दिक्तेल माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कार्यरत शिक्षक राज भट्टराई शनिबार बिहान मृत फेला परेका हुन् । बिगत ७ वर्षदेखि दिक्तेल माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कार्यरत शिक्षक भट्टराई आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । 

बुढीगंगा गाउँपालिका–७ मोरङ ठेगाना भएका शिक्षकको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घट्नाका विषयमा अनुसन्धान भइरहेको डिएसपी केसीको भनाई छ । 

खोटाङका ४६ मृतक परिवारलाई साँढे ५ करोड बढि राहत

खोटाङ भदौ–२, वैदेशिक रोजगारीका सिलसिलामा विशेषगरी खाडी मुलुक तथा मलेसियामा ज्यान गुमाएका खोटाङका ४६ मृतक परिवारले साँढे ५ करोडभन्दा बढि राहत तथा क्षतीपूर्ति प्राप्त गरेका छन् । सन् २०११ देखि हालसम्म वैदेशिक रोजगारीको क्रममा विभिन्न कारणले ज्यान गुमाएका मृतक परिवारले वैदेशिक रोजगार प्रबद्र्दन बोर्ड तथा बीमा कम्पनीबाट राहत तथा क्षतीपूर्र्ति स्वरुप ५ करोड ६५ लाख ३५ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमै रहँदा भएको विभिन्न प्रकृतिका दुर्घटना, सुतेकै ठाउँमा ज्यान गुमाएका, बिरामी परेर ज्यान गुमाएका परिवारलाई विभिन्न समयमा राहत तथा क्षतिपूर्ति दिलाईएको जनाईएको छ । पीडित परिवारलाई क्षतिपूर्ति तथा राहत दिलाउनका लागि जिल्लामा रहेर सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा काम गरिरहेको सुरक्षित आप्रवासन परियोजना सामीले सहयोग गरेका थिए । 

राहत तथा क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया पूरा गर्न तथा कागजात तयार पार्न सामीले सहयोग गर्दै आएको सुरक्षित आप्रबासन परियोजना (सामी)को दिक्तेलस्थित सूचना केन्द्रका परामर्शकर्ता अम्बीका दाहालले बताउनुभयो ।  परियोजनाले सन् २०११ यता वैदेशिक रोजगारीका सिलसिलामा ठगीमा परेका जिल्लाका ६७ पीडितलाई ३९ लाख ९६ हजार ५ सय क्षतीपुर्ती दिलाउन, खाडी तथा मलेसियामा अलपत्र ९६ जनालाई उद्धार गर्न समेत परियोजनाले सहयोग गरेको जनाईएको छ । 

यस्तै, ५ सय ७१ वटा केसमा कानुनी सहायता प्रदान गरिएको, मेडिकल फेल भएका ३ जनालाई २ लाख ९२ हजार क्षतीपूर्ति दिलाउने र एजेण्टले होल्ड गरेका २७ वटा पासपोर्ट फिर्ता गराउन समेत सुरक्षित आप्रवासन परियोजनाले सहजिकरण गरेको परामर्शकर्ता दाहालको भनाई छ ।  
परियोजनासँगको सहकार्यमा जिल्लास्थित वालसेवा समाज नेपाल नेर्पा र नवकिरण सेवा समाज दुर्छिमले वैदेशिक रोजगारीलाई सुरक्षित वनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । 

नेता देखि पत्रकारसम्म विद्यार्थी, समाजशास्त्रको क्रेज


भिम राई
खोटाङ । जिल्लाकै पहिलो उच्च शिक्षा प्रदान गर्ने पहिलो शैक्षिक सँस्था दिक्तेल बहुमुखी क्याम्पसमा मानविकि संकाय अन्तर्गत समाज शास्त्र विषयको स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीको क्रेज बढ्दो देखिएको छ । दिक्तेल बहुमुखी क्याम्पसले यसै शैक्षिक सत्रबाट शुरु गरेको समाज शास्त्र विषयको स्नातकोत्तर (एम ए) को सेमेस्टर प्रणाली अन्तर्गतको कार्यक्रममा विद्यार्थीहरुको उपस्थिती राम्रो देखिएको हो ।

क्याम्पसमा समाजशास्त्र विषयको अध्यायपन हुने भएपछि क्याम्पसका पूर्व स्ववियु सभापति देखि पत्रकार महासंघका नेताहरु समेतले अध्ययन गर्न थालेका छन् । सोही क्याम्पसमा स्ववियु सभापति जितेका र प्राध्यापन समेत गरिसकेका टंक थापा अहिले समाज शास्त्रका विद्यार्थी हुन् । पेशाले राजनीतिकर्मीका रुपमा रहेका उनी गएको प्रदेश सभा सदस्यको निर्वाचनमा खोटाङ जिल्लाको प्रदेश ‘ख’ बाट पराजीत संघीय समाजवादी फोरमका उम्मेदवार समेत हुन् । उनले नेपाली विषयमा यस अघीनै एमए पास गरिसकेका छन् । यस्तै सोही क्याम्पसमा पढाउँदै आएका रविन सुनुवार पनि समाजशास्त्रका विद्यार्थी उनले समेत अंग्रेजी विषयबाट (एमए) गरेका हुन् । जिल्लाका चर्चित पत्रकारहरु दमन राई, रामधन राई, सुर्य तामाङ अहिले समाजशास्त्रका विद्यार्थीका रुपमा नियमित क्याम्पसमा भेटिन गरेका छन् । 

जिल्लाकै क्याम्पसमा समाज शास्त्र जस्तो विषयको पढाई हुने भएपछि शुरुमा ७३ जना प्रवेश परिक्षामा सामेल भएका थिए । जसमध्ये ५७ जना विद्यार्थीले भर्ना गरेकामा ४३ जना विद्यार्थीले पहिलो सेमेष्टारको परिक्षा दिने भएका छन् । पहाडी जिल्लामा संचालन गरिएको सेमेष्टार प्रणालीमा यति विद्यार्थी हुनु निकै राम्रो मानिने क्याम्पस प्रमुख हिराकुमार राईले बताए । पहाडी क्षेत्रमा विद्यार्थीको यो उपस्थितीकै कारण परिक्षा केन्द्र खोटाङमै ल्याउन सफल भएको उनको भनाइ थियो । 

विद्यार्थी र प्राध्यापक विच छलफलमा आधारित शिक्षण विधिबाट कक्षा संचालन हुँदै आएका क्याम्पस प्राध्यापक देवकुमार राईले बताए । ‘उहाँहरुले नै विषय लिनु हुन्छ तयारी गर्नु हुन्छ र आएर कक्षामा प्रस्तुत गर्नु हुन्छ’ राईले भने प्राध्यापकको काम त सहजीकरण गर्नेमात्र हो । 

मानविकि संकाय अन्तर्गतको समाजशास्त्र विषयको पहिलो सेमेष्टारको परिक्षा आगामि भदौ १७ गतेबाट हुने क्याम्पसले जनाएको छ । 

चिवापा चिवामा पुर्णीमा मनाउने तयारी



काठमाडौँ । काठमाडौंवासी दुमि रंकासु सत्म रुसुकिमले धामीहरुले मनाउदै आएको चिवापा चिवामा पुर्णीमा अर्थात क्रिषितर्पणी पुर्णिमामा  भव्यरुपमा मनाउने तयारी गरेको छ । खोटाङ जिल्लाको खाजावासमा (खार्मी,जालपा,वाक्सिला, सप्तेश्वर र माक्पा) बसोवास गर्दै आएका सम्पुर्ण दुमि किरात राईहरुको प्रतिनिधित्व गर्दै दुमी धामीहरु लिएर रुसुकिमको टोली साँखुमाथीको मणीचुड पोखरी जाने तयारीमा लागेको हो । 

आगामि भदौ १० गते पर्ने पुर्णिमाको अवसर पारेर चिवापा चिवामा (नाग नगेनी)को पुजा आराधाना गरिने प्रचलन अनुसार मणीचुड डाँडा जान लागेको रुसुकिमका अध्यक्ष प्रेमबहादुर राईले जानकारी दिए । किराती संस्कृतिमा नागेलुमको कथा जोडिएसँगै किरातीहरुले नाग नगेनीको पुजा अराधाना गर्दै आएको उनको भनाई रहेको छ । 

काठमाडौं खाल्डो बाट नजिकै रहेको मणिचुड पोखरी सम्म दुइजना दुमी धामीहरुलाई लिएर २०७२ साल देखि निरन्तर नुहाउन जाने गरेको रुुसुकिमका सचिव नविन राईको भनाइ छ । ऐतिहासिक तथा पर्यटकीय स्थलका रुपमा रहेको स्थानमा जानकालागि संस्थाले गाडी तथा खानपानको समेत ब्यवस्था गरेको छ । यस तिर्थयात्रामा जान आउनका लागि यातायात तथा सम्पुर्ण व्यवस्थापन गर्न संस्थाले प्रति व्यक्ती ८ सय रुपैँया सहयोग शुल्क तोकेको सचिव राईले जानकारी दिए ।  

भुँइफुटुवा निस्के धनिराम नछुङ

भिम राई
२ भदौ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबजारमा करिब २७ बर्ष अगाडि हल्ला चल्यो । सोल्मा राजखर्कमा ६ बर्षको बालक धामी निस्कदै छ रे ! सबैले उसको नाम सानोधामी राखे । उनको लगाव धामी विधामा बढ्यो । उनै सानोधामी भुँइफुटुवा भएर निस्के लोकलाज ढाक्नेगरी । 

६ वर्षको उमेरबाट जोखना हेर्नेकाम गरेर धामीका यात्रा थालेका उनै व्यक्ती हुन गायक तथा संगीतकार धनीराम नक्छुङ । ७ बर्षको उमेरदेखि अर्काको घरमा चिन्ता बस्न हिँडन थालेका उनी धामीविधामा पोख्त भुँईफुटुवा हुन् । धामी विधामा भुँईफुटुवा भएजस्तै गीत सँगीतमा पनि भुँईफुटुवा नै निस्के । 

सानै उमेरबाट गीतसंगीतमा रुचि राख्ने उनले स्थानीय रुपाको सामुदायीक रेडियो स्थापना भएपछि पहिलो पटक ‘पालै पालो’ भन्ने कार्यक्रममा पहिलो गीत रेकर्ड गराए । यसबाट शुरुभयो उनको संगीतको यात्रा । गाउँमा सानोधामीको नामले कहलिएका उनी नौ वर्ष नेपाली सेनाको जागीर समेत खान भ्याए । नौ वर्ष नेपाली सेनाको जागीर सकेर उपदानमा निस्केका उनी दुईवर्ष मलेशियाको वैदेशिक रोजगारमा समेत पुगे । उनी जँहा गए । जे गरे । तर गीतसंगीत प्रतिको उनको मोह उतिकै बढेको बढै रहयो । 

उनले नेपाली सेनाभित्र हुँदा होस या मलेशियाको वैदेशिक रोजगारमा रहँदा होस गीत गाउन स्टेजमा चढिरहे । स्टेजमा उभिएर उनले नारायण गोपाल, गोपाल योञ्जन, रामकृष्ण ढकाल र राजेशपायल राईहरुको गीत सुनाई रहे ।  

मलेशियाको बसाई छाडेर नेपाल फर्केपछि उनी यातायात व्यवसायीका रुपमा काम गर्न थाले यो सँगै उनी संगीतकर्ममा समेत जोडिए । उनले ल्याएको ‘पाउन पनि सकिन तिम्रो जीवनलाई’ उनको पहिलो गीत हो । 

यसपछि ‘घर हाम्रो खोटाङ दिक्तेल बजार’। चर्चित गायीका पार्वती राईसँग डोयट स्वरमा रहेको गीतको शब्द तथा संगीत उनै धनिराम नुछङको हो । यस्तै अस्मिना राईको शब्दमा रहेको ‘सुनकोशीको तिरैमा हावा सरर’ उनकै लय संकलन र स्वरमा रहेको अर्को गीत खोटाङ जिल्लाको बर्णन गरिएको गीत हो । खोटाङ जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन जिल्लाको महत्वपूर्ण स्थलहरुको बारेमा गीतको शब्द रहेकाले पनि उनी आशाबादी छन् । 

यो गीत पछि क्रमश ः अर्को नयागीतको पोष्ट प्रोडक्सनको काम भईरहेको उनले सुनाए । गीतसंगीत रुचिको विषय भएकाले उनले यसबाट धन कमाउने भन्दा बढी नाम कमाउने सोचमा रहेको उनले सुनाए । अब छिट्टै बजारमा अर्को गीत आउन लागेको छ । उनको पहिलो र दोस्रोगित बजारमा रामै्र चर्चामा रहेको छ । भने तेस्रोगित पनि उतिकै दमदार रहने उनले आशा गरेका छन् । 


खोटाङमा औपचारिक रुपले सुरु गरियो नयाँ संहिता कार्यान्वयन

खोटाङ भदौ–१, जिल्ला अदालत खोटाङले औपचारिक रुपले परिमार्जित मुलुकी ऐन कार्यान्वयनको प्रारम्भ गरेको छ । जिल्ला अदालतमा शुक्रवार आयोजना गरिएको कार्यक्रममा जिल्ला न्यायधिस किशोर घिमिरेले औपचारिक रुपले मुलुकी ऐन कार्यान्वायन प्रारम्भको घोषणा गर्नुभएको हो ।

कार्यक्रममा जिल्लामा मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, फौजदारी कसुर ऐन प्रारम्भ भएको घोषणा गरिएको हो । जिल्ला अदालतको सभा हलमा आयोजित कार्यक्रममा जिल्ला न्यायधिस घिमिरेले मुलुकी ऐन र परिमार्जित नयाँ कानूनका भिन्नताका बारेमा सहभागीलाई जानकारी गराउनुभयो । उहाँले आवश्यकता अनुसार कानून परिमार्जन हुँदै जाने समेत बताउनुभयो । 

कार्यक्रममा संबाोधन गर्दै उहाँले लागु भएको कानून कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभयो ।

नगरपालिकामा बार्षिक ९४ करोड रुपैंयाँ रेमिट्यान्स : खै त सदुपयोग ?

खोटाङ भदौ–१,   खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वैदेशिक रोजगारीवाट बार्षिक साँढे ९३ करोड रुपैंयाँ बढी रेमिट्यान्स भित्रिने गरेको छ । नगरपालिकावाट वैदेशिक रोजगारीको लागि बढी मात्रामा जाने खाडी मुलुक तथा मलेसियावाट वार्षिक ९३ करोड ५४ लाख ४२ हजार रुपैंयाँ रेमिट्यान्स भित्रिने गरेको तथ्याङ्कमा उल्लेख छ ।

१५ वटा वडा रहेको उक्त नगरपालिकामा गरिएको घर–घर तथा ब्यक्ति–ब्यक्ति सर्वेक्षण अनुरुप नगरपालिकाभित्र उल्लेख्य रुपमा रेमिट्यान्स भित्रिने गरेको पाईएको मेयर दिपनारायण रिजालले वताउनुभयो । आर्थिक बर्ष २०७४÷०७५ मा वैदेशिक रोजगारीवाट भित्रिएको उक्त रकम नगरपालिकाको बार्षिक बजेट भन्दा बढी रहेको रिजालको भनाई छ । १० हजार ५० घरधुरी रहेको नगरपालिकाको बार्षिक बजेट करिव ६८ करोड रुपैंयाँ रहेको छ । 

नगरपालिकाको कुल घरधुरीमध्ये २ हजार ६ सय ८१ घरका ३ हजार १ सय ५३ जना कामदार हाल वैदेशिक रोजगारीको लागि विभिन्न देशमा रहेका छन् । बिशेष गरी खाडी मुलुकहरु क्रमश : साउदी, कतार, तथा दुवईमा नगरपालिकावाट गएका कामदार रहेको तथ्याङ्क रहेको छ । 

नगरपालिकाकै आर्थिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी खोटाङले तयार पारेको तथ्याङ्क अनुसार खाडीकै देशहरु कुवेत, बहराईन, ओमान तथा मलेसियामा रहेका कामदारहरुवाट उक्त रेमिट्यान्स भित्रिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकावाट वैदेशिक रोजगारीमा जानेको कूल संख्यामध्ये ७ प्रतिशत मात्र युरोप तथा अन्य मुलुकमा छन् । छुट्टीमा फर्किएका र जान तयार कामदारको संख्या तथा उनिहरुको आम्दानीलाई तथ्याङ्कमा उल्लेख नगर्दा समेत रेमिट्यान्सको मात्रा यति ठूलो देखिनु चानचुने कुरा नभएको नगरवासीको ठहर छ । 

 कहाँ सदुपयोग हुँदैछ रेमिट्यान्स ?


   वैदेशिक रोजगारीवाट नगरपालिकामा भित्रिएको रेमिट्यान्समध्ये सबै भन्दा बढी २८ दशमलब ३ प्रतिशत जग्गा खरिद तथा घर निर्माणमा खर्च गर्ने देखिएको छ । यस्तै, घर खर्चमा १९ दशमलब ५, ऋण तिर्न १९ दशमलब ३ र शिक्षा तथा स्वस्थ्यमा १९ दशमलब  २ प्रतिशत रेमिट्यान्स खर्च भएको नगरपालिकाको तथ्याङ्क छ । 

कूल रेमिट्यान्सको ९ प्रतिशत बचत गरेको देखिन्छ भने ४ प्रतिशत चाहीँ ब्यवसाय सञ्चालनमा खर्च भएको पाईएको सामी परियोजनाको जिल्ला संयोजक भक्त राईले बताउनुभयो ।

रेमिट्यान्स भित्रिनु भन्दा पनि त्यसको सदुपयोगको विषय महत्वपूर्ण ठानिएको छ । वैदेशिक रोजगारीवाट आउने रेमिट्यान्सको मात्रा र उपलब्धी तथा सदुपयोगको हिसावले हेर्दा बढी नै सोंच्नुपर्ने अवस्था आएको सरोकारवालाहरु बताउँछन् ।

 रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु र सँधैभरि वैदेशिक रोजगारीमै निर्भर रहनुपर्ने अवस्था अन्त्यको लागि प्रेरित गर्नको लागि निकै गम्भिर भएर लाग्न आवश्यक रहेको मेयर दिपनारायण रिजालले जनाउनुभएको छ । रेमिट्यान्सको सदुपयोग गर्दै समृद्दिको वाटोमा लाग्नुपर्ने उहाँको धारणा छ ।

 वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक बनाउनका लागि कार्यक्रम सञ्चालन गर्न वैदेशिक रोजगारीकैे क्षेत्रमा काम गरिरहेको सुरक्षित आप्रवासन परियोजनाको लागि नगरपालिकाले २० लाख रुपैंयाँ बजेट बिनियोजन गरेको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जस्तै जिल्लाका अन्य स्थानीय तहबाट समेत वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रहेका छन् । सवै युवाहरुलाई स्वरोजगार बन्न पे्ररित गर्नुपर्ने तथा वैदेशिक रोजगारीमा गईसकेको र जान तयार भईसकेकाहरुलाई सुरक्षित बनाउन सवै लाग्नुपर्नेमा जिल्लाका सरोकारवालाहरुको जोड छ । 

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो तथा उपलब्धीमूलक बनाउने उदेश्यले जिल्लामा वालसेवा समाज नेपाल नेर्पा तथा नवकिरण सेवा समाज दुर्छिमले सामी परियोजना अन्र्तगत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । 

दुई नगर र आठ गाउँपालिका रहेको जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या सरदर बार्षिक ४ हजारको संख्यामा रहेको पाईएको छ । 

एक वडाले अर्को वडाको क्षेत्राधिकार मिचेकोमा ध्यानाकर्षण

खोटाङ साउन–३१, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक वडाले अर्को वडाको क्षेत्राधिकार मिचेको भन्दै आपत्ति जनाईएको छ । नगरपालिकाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी र कालिका भगवती मन्दिर जाने बाटो वडा नम्बर–५ मा परे पनि उक्त बाटोमा सिँढी निर्माण कार्य भने एक नम्बर वडाले गरिरहेकोमा आपत्ति जनाईएको हो । 

मझुवागढी तथा कालिका भगवती मन्दिर तथा सो स्थान जाने बाटो समेत आफ्नै भूगोलमा परे पनि कुनै जानकारी तथा समन्वय विना एक नम्बर वडाले सिँढी निर्माण कार्य अगाडी बढाएकोप्रति ध्यानाकर्षण भएको लफ्याङबासीले जनाएका छन् । बिहिबार नगरपालिकालाई सम्बोधन गरिएको जानकारीपत्रमा स्थानीय सरकारको मान–मर्यादा र वडाको काम, कर्तब्य तथा अधिकार बिपरित गरिएको कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । 

वडाध्यक्ष निर्मल राईले हस्ताक्षर गर्नुभएको जानकारीपत्रमा सो निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने उल्लेख छ । वडाबासीको बैठकले छलफलपछि मात्र सिंढी निर्माण कार्य अगाडी बढाउन अनुरोध गर्ने निर्णय सहित नगरपालिकाको ध्यानाकर्षण गरिएको जनाईएको छ ।

नगरपालिकाको मेयर दिपनारायण रिजालले दुवै वडाका वडाध्यक्षलाई तत्कालै बोलाई छलफल गर्ने जनाउनुभएको छ । भूगोलको बारेमा स्पष्ट नभएर सो कार्यको सिफारिस कुन वडाले गर्ने भन्नेमा अलमल भएको हुन सक्ने मेयर रिजालको भनाई छ । 

समन्वय तथा कार्य सहजताको लागि वडाको सिफारिस आवश्यक ठानिए पनि नगरपालिकाले नै कार्य सम्पादन गर्ने स्पष्ट पारिएको छ ।  

धरानको ‘टोपा’ मिथ्थकीय नाटककार


खोटाङ जिल्लाको सुदुर दक्षिणको गाउँ चिसापानी पाथीभारामा जन्मेका नेपाली नाटकमा मुन्धुमी मिथ्थकलाई प्रवेश गराउने यूवा नाटककार तथा रंगकर्मी हुन् प्रविण पुमा । नेपाली चलचित्रहरुमा हिरोको भुमिकामा आउने सपना बोकेर काठमाडौँको शहर छिरेका पुमा नेपाली मुलधारका चलचित्रमा हिरो त बनेनन् तर किराती मिथ्थकमा आधारित केही चलचित्रहरुमा भने मुख्य भुमिकामा देखिए । परम्परावादी नाटक लेखनको लामो श्रृंखलालाई भंग गर्दै उनले फरककथामा आधारित नाटकहरुको लेखन तथा निर्देशन गरे । नेपाली नाटय क्षेत्रले खास प्रगती नगर्नुको कारण विदेशी नाटकहरुको प्रोत्साहन गर्ने संस्कृति रहेको बताउने पुमा हाल काठमाडौं कोटेश्वर स्थित रत्नशिक्षा पव्लिक क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका छन् । उनै बहु आयामिक व्यक्तित्व प्रविण पुमा सँग गरिएको कुराकानी ।

अहिले खास के मा व्यस्त ?
अं अहिले खास सृजनात्मक नया कामको शुरुवात भएको छैन । कलेज(रत्नशिक्षा पव्लिक क्याम्पस)को काममा अलि व्यस्त रहिएको छ । बाँकी समय इण्डिजिनियस टेलिभिजनमा कार्यक्रम संचालन, बौद्धिक बहसका कार्यक्रमहरुमा उपस्थिती तथा साँस्कृतिक तथा सिर्जनात्मक कामहरुमा सहभागिता यस्तै यस्तैमा व्यस्त छु ।

तँपाईको बाल्यकाल ?
मेरो बाल्यकाल खोटाङ जिल्लाको चिसापानी पाथीभारामा वितेको हो । मेरो जन्म त्यही भयो एसएलसी सम्म चिसापानी मावि हाल उमाविमा पढेको हुँ । बाल्यकाल अति संघर्षपूर्ण नै बिताईयो । हाम्रो गाउँको नजिकको बजार चिसापानी हो । तर मधेससँग जोडिने बजार भनेको बेल्टार हो । मैले माविमा पढ्नका लागि बेल्टारको नुन चिसापानीमा लगेर बेचेको छु । चिसापनीको सुन्तला बेल्टारमा पु¥याएर बेचेको छु । भनेको भारी बोकेर पढेको हुँ । पहिलो पटक बोकेको नुन बेचेर स्कुलमा नाम लेखाइयो  दोस्रो खेप वेल्टार गएर नुन ल्याएर बेचेपछि कपी कलम स्कुल तेस्रो पटककोले ड्रेस र अर्को पटकको वेल्टार गई घरमा खाने नुनतेल जोहोका गरिन्थ्यो । यस बाहेक बाल्यकालमा अर्काको नक्कल गर्न खुव रहर गर्ने मान्छे थिँए । गाउँमा समुह समुह मिलेर नाटकहरु गर्ने गरिन्थ्यो । धामीको औधी नक्कलपनि गरियो ।  पढ्दै, खेल्दै, रमाउँदै ख्याल ख्यालमै वित्यो हौ बाल्यकाल त ।

उच्चशिक्षाको यात्रा ?
जब चिसापानी माविबाट एसएलसी उतिर्ण भयो पढ्नका लागि धरान झरियो । धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट मैले आइए पास गरेको हुँ । शुरुमा अध्ययनका लागि धरान जानेक्रममा धेरैले आशंका गरेका थिए । अब यो केटो शहरमा बिग्रने भो भनेको सुनेँ । तर त्यस्तो त भएन । हामीले पढ्ने महेन्द्र बहुमुखी क्याम्पसमा हातिछाप चप्पल लगाएर क्याम्पस गईन्थ्यो । त्यहाँ स्तर मिल्ने मन मिल्ने पाँच जना साथीहरुसँग हाम्रो ग्रुप बन्यो । सबै हामी हातीछाप चप्पलवालाहरु थियौँ । धरान त्यति वेला चर्चित फेसनको शहर भईसकेको थियो । यस्तो समयमा हामी हातिछाप चप्पलवालाहरुलाई त्यहाँका कतिपयले ‘टोपा’ भन्थे । त्यो भनेको के भन्ने थाहा सम्म नपाउने हामीले राम्रै होला भनेर लगतार पढाईलाई अगाडि बढायौँ । पछि परिक्षाको नतिजा आउँदा जम्मा २८ सयजना परिक्षा दिने विद्यार्थी मध्ये ३६ जनाले मात्र पास गरियो । हाम्रो ५ जनाको टिम ३६ जना भित्र प¥यो । त्यसपछि ‘टोपा’ भन्नेहरु चुपचाप । हातिछाप चप्पल हाई हाई ।

आइए पास पछि कसरी अगाडि बढ्यो नि जिन्दगी ?
आइए पास गरेपछि खरदारको जागीरमा भिडियो । पासपनि गरियो । खरिदार पास गरेको खबर आएपछि नियुक्तीपत्र लिन चिसापानीबाट सदरमुकमा दिक्तेलबजार जानु पर्ने भयो । त्यसबेला म हिडे की उडेँ थाहा छैन । सामन्यत चिसापनीबाट सदरमुकाम जान मज्जाले हिँड्ने मान्छेलाई एकदिन र आधा पुरै लाग्छ तर म त्यसबेला दिक्तेल पुगेर काम सकेर आधाबाटो सम्म फर्केर वास बसेको छु । त्यो सम्झना निकै गाढा छ । खरदारको नियुक्ती लिएपछि म घरेलुको तालिमा काठमाडौँ आएँ । घरेलुको तालिम पछि मलाई जुम्ला पठायो । तर पहिले देखि गाउँमा नाटकहरु गर्दै आएकाले मलाई नाटकको भुत चढिसकेको थियो । ०४५ सालदेखि नै गाउँमा नाटकहरु गर्दै आइएको थियौँ । के को जागीरमा जानु थिएटर पो जान थालियो । हिरो हुने मन थियो केको जागीर एकवर्षपछि छाडियो । जागीर छाडेर व्याचलर पढ्न थालियो । अभिनयमा लागियो । हिरो हुनुका लागि चाहिने अत्यावश्यक कुरामध्ये पैसा, उचाई जस्तो कुराको अभाव रहेछ उसै त त्यो राजेश हमालको जमना थियो । त्यसैले हिरो भइएन ।   

नाटकमा रुचि चाँही कसरी बढ्यो ?
शुरुदेखी नै गाउँमा साानातिना नाटकहरु खेल्दै आएको म शहरमा पसेपछि धेरैवटा नाटकहरु हेर्न पुगे । जहाँ गएर नाटक हेरेँ त्यहाँ म आफुलाई पाउनै सकिन । यहाँ मञ्चन गरिने नाटकहरुमा मेरो माटोको कथा थिएन । मेरो सृष्टी अभिनय थिएन । मेरो अनुहार देखिन । मुलधारका भनिएका नाटकहरु रंगमञ्चमा प्रस्तुत हुँदा भारतवर्षको नाटक युरोपियन उपमहादिपका कथामा आधारित नाटकहरु मात्र प्रस्तुत हुने । भाषा नेपाली प्रयोग भएका तर सबै कथा विदेशी भएपछि मलाई फरक केही गर्ने तिब्र इच्छाशक्ति पलायो । हामीले हाम्रै माटोको नाटक किन नगर्ने भन्ने भएपछि मैले सुम्निमा पारुहाङको कथाहरुलाई खोज्न थाँले लेख्न थालेँ । 

नाटक लेखन, निर्देशन, र अभिनयको यो घडीसम्म आउनलाई मुख्य प्रेरणा के थियो र को थियो ? 
मैले अघि भनेँ यो क्षेत्रमा आउने मुख्य प्रेरणा मेरो माटो सुहाँउदो कथा अरुले नखोजिदिनु हो । मैले गाउँमा छँदै देखेका अभिनयहरुको संरक्षण नहुनु हो । अझैपनि गाउँमा (माङपा÷नक्छुङ)धामीहरुले गरेको अभिनयहरु कति राम्रो छ । मैले माङपाहरुको धेरै धेरै चिन्ता हेरेको छु । उनीहरुले पारुसेवा(शिलि÷नक्कल)ले मलाई तान्यो । बाल्यकालमा उनीहरुले गरेको यस्तो नक्कल खुब गरेको पनि यादछ । गोठालोमा जाँदा धामीहरुको नक्कल गर्ने शिकारी बोलाउने जस्ता अभिनय निकै गरियो खासमा यहि हो मेरो प्रेरणाको श्रोतहरु । गाउँमा हामीलाई नक्कल गर्नु हुन्न भनिन्थ्यो शहरमा आएपछि पनि झन गरियो । 

अब नाटकको बारेमा नै कुरा गरौँ । अहिले रंगमञ्चमा देखाईने नेपाली नाटकको ट्रेन कस्तो छ ?
अहिलेपनि नेपाली नाटकहरुमा खास परिर्वतन आएका छैनन् । हाम्रो आफ्नो माटोको सुगन्ध बोक्ने कथाहरु नेपाली नाटकमा लेखिएका छैनन् । नेपाली जनजीवनमा आधारित नाटकहरु मञ्चन हुनै सकेका छैनन् । हाम्रा थिएटरहरुमा विदेशी नाटकका अनुवादहरुलाई मञ्चन गरिने चलन रहि आएकै छ । नेपाली भाषानुवाद मात्र गरेर नाटकहरुको मञ्चन भईरहँदा नेपालीत्व भेटिन्न । यहाँका साना भन्दा साना समुदायको संस्कार संस्कृतिमा आधारित नाटकहरुको मञ्चन हुन नसक्नु दुर्भाग्य हो । अहिलेपनि हामी हाम्रो कथाहरुको खोजिमा रहेका छौँ । आफ्नो माटोको गीत गाउन नसक्दा परायाको नक्कल गरेरै धानिएको अहिले यो नाट्य क्षेत्रमा व्यापक सुधार हुन आवश्यक देख्छु म । 

नेपाली नाट्य क्षेत्रमा भर्खरै आउन चाहेका र आएकाहरुलाई के सन्देश छ ? 
उहाँहरुलाई खुल्ला हृदयले स्वागत गर्नु पर्छ भन्छु म । आउँदा विदेशी नाटकहरुको भुत बोकेर नआउनु राम्रो । आफ्नै माटो, भुगोल र जीवनका कथाहरुमा नाटक बनाउने दृडताका साथ आउनु होस । अन्य कला क्षेत्र जस्तो यो क्षेत्र त्यति कमाउ हुने क्षेत्र होइन । तर तँपाईको क्यारियर बन्छ । समाजको सहि विश्लेषण गर्न सक्ने बन्नु हुने छ । अभिनय के हो भन्ने कुरा बुझ्नु हुने छ । साहित्यको एउटा साँच्चै महत्वपूर्ण विधा नाटक रोज्नु भयो भने पक्कै राम्रो हुने छ । 

(रुपाकोट सामुदायीक रेडियो ९६.६ मेगाहर्जको साताको सम्वाद कार्यक्रमका लागि गरिएको कुराकानीको सम्पादित अंश) 
प्रस्तुती :- भिम राई