sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » आर्थिक अभावका कारण उपचार गराउँन नपाउँदा आठ महिनादेखि ओछ्यानमा

मंसिर २३- सानो एक तले घर । घरभित्र अगेना छेउमा ओछ्यान लगाएर सुताइएको बिरामी । काखमा डेढ वर्षकी छोरी बोकेर भन्दै हुनुहुन्थ्यो, ‘ए...उठ्नु न ! सक्नुहुन्न ?, उठेर एक गाँस तातो खोले त खानुस् !’ 

यो खोटाङको दक्षिणी गाविस लिकुवापोखरीस्थित एक गरीब परिवारको घरमा सुनिएको एकहोरो आवाज हो । जहाँ गरीबीका कारण आठ महिनादेखि ओछ्यानमा थलिएका श्रीमानलाई खोले खानका लागि आग्रह गर्दै हुनुहुन्थ्यो एक महिला । लिकुवापोखरी–७ का २२ वर्षीय जगजीत राई गत बैशाखबाट दाहिने खुट्टामा आएको घाउ आर्थिक अभावमा उपचार गर्न नपाएपछि ओछ्यानमै थलिनुभएको हो । ओछ्यानमा सुतीरहनुभएका जगजीत भन्नुहुन्छ, ‘कसैको सहयोग पाए बाँच्थे जस्तो लाग्छ, यदि सहयोग पाइँन भने, म त मर्छु नै सानी छोरी र परिवारको बिजोग हुने भो !’ जगजीतको परिवारमा आमा, भाइ, श्रीमती र छोरी छन् । श्रीमतीको काखमा अढेस लागेर बसेका जगजीत भन्नुहुन्छ, ‘वृद्धा आमा छोरीको हेरचाहा गर्नुहुन्छ, भाइ अर्काकोमा बनीबुतो गर्छ, अनि श्रीमती मलाई उठाउन–सुताउन... ।’ 
उपचार अभावमा आठ महिनादेखि ओछ्यानमा रहेका जगजीत राई । राईको दाहिने खुट्टाको गोलीगाँठा मुनीको भाग कुहिएर झरीसकेको छ ।

जगजीतका आफन्त प्रमिला राईका अनुसार जगजीतको खुट्टामा सुरुमा सामान्य पानी फोका उठेको थियो । उहाँ भन्नुहुन्छ, ‘गर्मी याममा सुरु भएको पानी फोका बिस्तारै फुटेर घाउ भयो र अहिले गोलीगाँठादेखि मुनीको भाग कुहिएर झरीसकेको छ ।’ स्रोतका अनुसार खुट्टामा सामान्य घाउ भएपछि जगजीत ऋण काढेर नोबेल हस्पिटल बिराटनगरसम्म उपचारका लागि जानुभएको थियो । हस्पिटलले अन्यत्र रेफर गरेपछि खर्च अभावमा आफू घर फर्किएको जगजीतको भनाइ छ । जगजीत भन्नुहुन्छ, ‘ऋण काढेर लगेको ८० हजार रुपैयाँ त्यत्तिकै सकियो, अहिले साहुले बसी खान दिएको छैन ।’

सम्पतीको नाममा फुटेको कौडी समेत नभएपछि छोराको उपचार खर्च त के दैनिक हातमुख जोड्न समेत समस्या भएको जगजीतकी आमा कालीमायाँ राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जेठो छोरा उही हो, हामी सबै उसैको भरमा थियौं, उ आफै ओछ्यान लागेपछि कन्त बिजोग भएको छ ।’

राई परिवारको तीन रोपनी पाखो बारी छ । वर्षभरी गरेको कमाइले तीन महिना पनि खान नपुग्ने उनीहरुको भनाइ छ । जगजीतकी आमा कालीमायाँ भन्नुहुन्छ, ‘दैव पनि हामी जस्तालाई नै लाग्दो रहेछ ! यसरी बाँच्नुभन्दा सबैलाई एकै चोटी लगे दुःखै लुक्थ्यो ।’

तीन वर्षअघि बैवाहिक बन्धनमा बाँधिएका जगजीतको बुबा शरणबहादुर बितेको पाँच वर्ष भइसकेको छ । आमा ६० वर्षकी हुनुहुन्छ । श्रीमती कल्पना राई २० वर्षकी । विवाह गरेको वर्ष दिनमा छोरी समिक्षाको जन्म भएको जगजीतले बताउनुभयो । सुरु–सुरुमा त बिस्तार–बिस्तार आफै दिसापिसाप गर्न जाने जगजीत अहिले श्रीमती कल्पनाको भरमा हुनुहुन्छ । ‘अहिले त उहाँले खानै छाडीसक्नु भएको छ, गहभरी  जमेको आँसु पुछ्दै कल्पना भन्नुहुन्छ, ‘ज्यादै चिन्ता लागेर आउँछ, यदि केही भइहाले मैले के गर्ने !’ सयमा उपचार नभए जगजीतको ज्यानै तलमाथी हुन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । जगजीतको खुट्टामा आएको घाउ क्यान्सर भइसकेको जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post