sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » शैक्षिक सुधारका लागि ‘गाउँ डुल’ अभियान

मंसिर–२६, जिल्लाको उत्तरी गाविस जालपामा शैक्षिक सुधारका लागि ‘गाउँ डुल’ अभियान थालिएको छ । जालपास्थित जालपा उच्च माविले शुक्रबारबाट यस्तो अभियान थालेको हो । 

अभियानमा गाउँ–गाउँमा गएर विद्यार्थीहरुको नतिजा सुनाउने, विद्यालयको गतिविधिका बारेमा अभिभावकहरुलाई जानकारी गराउने, विद्यालयको भावी रणनीति तयार गर्ने लगायतका काम गरिने विद्यालय व्यवस्थापन समितिका सदस्य गोपाल गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसका लागि शिक्षक र अभिभावकको छ टोली बनाएका छौं, उक्त टोलीले गाउँ–गाउँमा गएर शैक्षिक सुधारका लागि सुझाव समेत संकलन गर्नेछन् ।”

विद्यालय स्रोतका अनुसार उक्त कार्यक्रम गाविसका छ ठाउँमा सञ्चालन हुनेछन् । अभिभावकहरुलाई पाएक पर्ने ठाउँहरुमा केन्द्र तोकिएको गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गौतमवुद्ध प्रावि, पञ्चकन्या निमावि, जनकल्याण प्रावि, जनता प्रावि, भुमेस्थान प्रावि र जालपा उच्च माविमा केन्द्र तोकिएको छ ।

सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरु आफ्ना छोराछोरीको नतिजा हेर्न विद्यालयसम्म नआउने भएकाले अभियानमा विद्यार्थीको नतिजा समेत सार्वजनिक गरिने विद्यालयले जनाएको छ । पछिल्लो समय जिल्लामा शैक्षिकस्तर खस्कँदै गएको अवस्थामा जालपा उच्च माविले यस्तो अभियान थालेको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post