sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » पुल उद्घाटनले पूर्वी पहाडि जिल्लाको समृद्धिको बाटो खुलेको छ: मन्त्री विमलेन्द्र निधि

पुस–७, भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले सुनकोसी नदीको पक्की पुल उद्घाटन भएसँगै माथिल्लो सगरमाथामा पर्ने पहाडि जिल्लाको समृद्धिको बाटो खुलेको बताउनुभयो । निर्माण कार्य थालिएको चौध वर्षपछि सम्पन्न पुल सोमबार प्रमुख अतिथिका रुपमा उद्घाटन गर्दै मन्त्री निधिले  यस्तो बताउनुभएको हो । 

मध्यपहाडि लोकमार्गमा पर्ने खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र उदयपुरको मुख्य नाकामा रहेको सुनकोसी नदीमा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएसँगै व्यापारिक कारोबारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो पुल हिमाल, पहाड, तराई र भारतसँगको सडक सञ्जालसँग जोड्ने पुल भएकाले पूर्वी पहाडि जिल्लाको पर्यटकीय क्षेत्रको विकास हुनुका साथै आर्थिक उन्नतीमा सहयोग पुग्ने छ ।”

सरकारले भौतिक पूर्वाधार विकासलाई प्रमुख एजेण्डामा राखेको बताउदै उहाँले यस क्षेत्रको यातायात विकासको लागि कटारीमा यातायात कार्यालयको शाखा खोल्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसका लागि सम्बन्धित मन्त्रालयका कर्मचारीसँग छलफल भइरहेको छ, यसले यस क्षेत्रका बासिन्दालाई सहयोग पुग्ने विश्वास गरेको छु ।” 

सरकारको एजेण्डा विकास निर्माण रहेकोले यसै आर्थिक वर्षभित्रमा जयरामघाटस्थित दुधकोसीको पुल निर्माण कार्य सक्न निर्देशन दिनुभएको छ । यसका लागि सम्बन्धित मन्त्रालयका कर्मचारीहरुसँग पटक–पटक उपलब्धीका बारेमा जानकारी लिइरहेको पनि बताउनुभयो । 

पुल उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, सभासद्हरु रामहरि खतिवडा, सरस्वती बजीमय, नारायण कार्की, यज्ञराज सुनुवार, मोहन बराल, गोपाल गिरी, विशाल भट्टराई, हर्कबोल राई, पिके राई, शकुन्तला राजभण्डारी र रामचन्द्र यादवले पुल निर्माणबाट यस क्षेत्र राष्ट्रिय सडक सञ्जालमा जोडिएकाले यस क्षेत्रको आर्थिक, सामाजिक सांस्कृतिक  क्षेत्रको विकासमा योगदान पुग्ने धारणा राख्नुभएको छ । 

वाईवा भैरब कन्ट्रक्सनका ठेकेदार कृष्ण लामाले पाँच वर्षभित्र पूरा गर्नेगरी २०५८ सालमा जिम्मा लिएको पुल निर्माणको काम १३ वर्ष बितेपछि मात्र सम्पन्न भएको हो । १४ करोड ६० लाखमा पूरा गर्नेगरी वाइवा कन्ट्रक्सनले जिम्मा लिएको पुल निर्माणकाक्रममा २० करोड ४३ लाख बढि खर्च भएको ठेकेदार कम्पनीले जानकारी दिएको छ । 

मंसिर–२९ गते पूरा भएको पुल उदघाटन गर्न हेलीकोप्टरबाट आएका मन्त्री निधिले पुल उद्घाटनअघि खोटाङको हलेसी महादेवस्थानको दर्शन गर्नुभएको थियो । सुनकोसी नदीको पुललाई मुलुकै अग्लो दाबी गरिएको छ । आठ पटकसम्म म्याद थपिएको पुलको तौल पाँच सय ७० टन रहेको छ । 

एक सय ७० मिटर लम्बाइ रहेको पुल उद्घाटन भएपछि सगरमाथाका ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङ राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । सिधा यातायात सेवा सुरु भएसँगै तराईबाट जिल्ला भित्रिने उपभोग्य सामानहरु सुनकोसीमा भरियामार्फत झार्नु, नदी तार्नु र पुनः गाडीमा चढाउनुपर्ने बाध्यता हटेको छ । 

यस्तै, काठमाडौं लगायत तराईका जिल्लाहरुमा जानआउनका लागि सर्वसाधारणले जयरामघाट, हर्कपुर, घुर्मी र कटारीमा सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । पुल सञ्चालनमा आएपछि दैनिक उपभोग्यवस्तुको मुल्य घट्ने विश्वास गरिएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post