sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » अपांगता भए पनि सांगकै दर्जामा

पुस–७, खोटाङको दक्षिणी गाविस इन्द्रेणीपोखरी ३ की १६ वर्षीय सम्झना राईका दुवै हात छैनन्। तर हरेक घरायसी काम गर्न सक्ने क्षमताको आधारमा उनीभन्दा फरक देखिइन्नन्। जन्मजात हात नभएकी उनी खुट्टाको साहराले लेखपढ र घरायसी काम गर्छिन्। भगवती उच्च मावि खोटाङबजारमा कक्षा ८ मा अध्ययनरत सम्झना दुई खुट्टाले पुस्तक पल्टाउँछिन्, देब्रे खुट्टाले लेख्छिन्, अक्षर हातले लेखिएसरह सफा र आकर्षक।

उनको पढाइ पनि सन्तोषजनक छ। लखढपढबाहेक तरकारी काट्न, खाना पकाउन, खान, पिउन, मोबाइल चलाउन, लुगा धुन आफैं समक्ष छिन्। अझ अनौठो त सम्झना दुई खुट्टाले नै घाँस दाउरा गर्न सक्छिन्। सम्झनाले घाँसदाउरा काटेको देख्नेहरू अचम्मित हुन्छन्। पुरस्कार या सम्मान लिन परे च्यापु र कुमले च्यापेर थाप्छिन्। 'सम्झनाको हात नै यही खुट्टा हो,' आमा सुमिता राईले भन्नुहुन्छ, 'खुट्टाले नै लेखपढ गर्न र घरभित्रबाहिरको काम गर्न सक्छिन्।'

मालबहादुर राई र सुमिताको दोश्रो सन्तान हुन् सम्झना। उनका एक दाजु, एक भाइ र तीन बहिनी छन्। दुबै हात नभएकी बच्चा जन्मिँदा राई परिवारमा हर्ष र बिस्मात थियो। 'यस्ती छोरीले भविष्यमा के गर्न सक्ली र' भन्ठानेर विद्यालय पठाउनेतर्फ लामो समयसम्म आमाबाबुको ध्यानै गएन। तर सम्झनाले आँगन र भुइँको धुलो माटो सम्याएर सिन्कोले लेख्न सिक्न थालिन्। त्यसपछि मात्र राई दम्पत्तीले ८ वर्ष भइसकेकी छोरीलाई विद्यालय भर्ना गरिदिए।

तर अहिले उनीमा अपांगता हुनुको पीडा छैन। न त हात नहुँदाको हीनताबोध। अहिले खुट्टाले लेखपढ गर्ने तिनै सम्झना परिवारका लागि आडभरोसा बन्दैछिन्। 'पहिला त केही गर्न सक्दिनँ भनेर स्कुल पनि पठाइएन,' सुमिताले भन्नुभयो, 'अहिले उसैसँग भरोसा लाग्न थालेको छ, पछि केही गर्ली भन्ने आशा छ।'

फरक प्रतिभा र क्षमता भएकी सम्झना घरबाट एक घन्टा हिँडेर विद्यालय पुग्छिन्। झोलाभरी किताबकापी बोकेर साथीहरूसँग हाँसखेल गर्दै विद्यालय जान्छिन्–आउँछिन्। उच्च शिक्षा हासिल गर्ने र 'केही गर्ने' उनको सपना छ। 
उनले लेखपढ गरेको देख्नेहरू उनलाई 'झमककुमारी घिमिरे'सँग तुलना गर्छन्। 'झमककुमारी जस्ती' भनेर सम्बोधन गर्दा गर्व लाग्छ। जति दुःख र अभाव भए पनि उच्च शिक्षा अध्यायन गर्ने धोको छ,' झमकको पुस्तक 'जीवन काँडा कि फूल' पढिसकेकी सम्झनाले भनिन्, 'झमकजस्ती बन्न नसकिएला तर, भविष्यमा केही न केही राम्रो काम गर्न सक्छु भन्ने आत्मविश्वास छ।'

छोरीको आँट र मिहिनेत अनुसार बनिबुतो गरेर भए पनि उच्च शिक्षा पढाउने आमा सुमिताको अठोट छ। 'अहिलेसम्म त राम्रै छ, हामी मरेपछि उसलाई समस्या हुने चिन्ता छ,' उनले भनिन्, 'पढाइ र लालनपालनको व्यवस्था भए ढुक्क हुन्थ्यो।' जन्मिएको तीन महिनापछि नै गाविसमा अपांगता भत्ताका लागि आवेदन दिए पनि सम्झनाले १०/११ वर्षको उमेरदेखि मात्र भत्ता पाउन थालेकी हुन्। विद्यालयमा अपांगमैत्री शिक्षण व्यवस्था हुनुपर्ने उनको सुझाव छ। 'अपांगता नभएको समाज हुन्न,' सम्झनाले भनिन्, 'हरेक स्कुलमा सोही अनुसार पठनपाठनको व्यवस्था मिलाउन आवश्यक छ।'

सम्झनाको शिक्षादिक्षा र उज्ज्वल भविष्यका लागि गोर्खा भूपू सैनिक संघ तथा महिला कमिटी सुनसरीले दुई लाख सहयोग गरिसकेको छ। यस्तै, ब्रिटिस वेलफेयरले खोटाङबजारमा घर बनाइदिने गरी एक रोपनी आठ आना जग्गा किनिदिएको सुमिताले जानकारी दिनुभयो ।

असल नागरिक बन्ने लक्ष्य 
सम्झनाझैं अपांग भए पनि सांगकै दर्जामा उभिएका छन् काहुले–६ सालम्बुका २१ वर्षीय गणेश राई। दुवै हातको कुहिनामुनिको भाग नभएका गणेश तिनै आधा हातले हरेक काम गर्छन्। जन्मजात अपांग हातले कलम च्यापेर लेख्छन्, मोबाइल चलाउँछन्, लुगा धुन्छन्, नुहाउँछन् र खाना पकाउँछन्। सदरमुकाम दिक्तेलमा बसेर दिक्तेल बहुमुखी क्याम्पसमा बिबिएस तेश्रो वर्षमा पढिरहेका अधकल्चो हातले कम्प्युटर, ल्यापटपसम्म चलाउँछन्। आकर्षक थांका चित्र कोर्नसमेत उनी उत्तिकै दक्ष छन्।

गणेश परिवारका साइँला सन्तान हुन्। बुबा काजीमान राई र आमा जयकुमारी राईको कोखबाट २०५१ सालमा जन्मिदा गणेशलाई 'बाँच्न नालायक' भन्नेहरू धेरै थिए। 'केही गर्न सक्दैन, यिनको जन्म व्यार्थ छ' भनेर कुरा काटिन्थ्यो। उनले समाजमा अपांगमाथि गरिने सबै किसिमका विभेदको सामना गरे। तर बालकछँदा हेलाँहोचो गर्नेहरू नै अहिले 'हामी हात भएकाले केही गर्न सकेनौं, हाम्रो नाम राख्ने तिमी भयौ' भन्न थालेका छन्।

अपांग भएपनि गणेशलाई बुबाआमाले सानैदेखि विद्यालय पठाए। अपांगले पनि लेखपढ गर्न सक्छन् भन्नेमा राईदम्पत्ती ढुक्क थिए। बुबा काजीमानले 'लेखपढ गर्न सक्छौ' भन्दै उनलाई विद्यालय जान हौस्याइरहे। हातको पूर्ण भाग नभएका गणेशले सुरुमा खुट्टाले लेख्न सिकेका थिए। तर, विद्यालयमा बेञ्चमा बसेर लेख्न अप्ठ्यारो भएपछि त्यही अपांग हातले कलम च्यापेर लेख्न सिकेको गणेशले बताए।

गाउँमा, विद्यालयमा झमककुमारीको कुरा हुन्थ्यो। अपांग भए पनि झमकले नेपाली साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको विषयमा उनी सुन्थे। केटाकेटीमै 'अपांगले पनि सांगसरह काम गर्न सक्ने' सुने–बुझेका गणेशमा पनि 'भविष्यमा केही गर्न सक्छु' भन्ने आत्मविश्वास पलाउँदै गयो। यही आत्मविश्वासले गणेशलाई घरकै बढी शिक्षा हासिल गर्ने छोरो बनाएको छ। 'सानैदेखि हरेक काम गर्न सक्छु भन्ने हिम्मत थियो,' गणेशले भने, 'भविष्यमा देशको असल नागरिक बन्ने लक्ष्य छ।'

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post