sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » करेन्टले ह्वीलचेयर चढायो

माघ–१०, मलिन अनुहार । दुबै हात र दायाँ खुट्टा काटिएका । बायाँ खुट्टाको कान्छी औंला पनि काटिएकै अवस्था छ । दायाँ हातको कुममाथिको सिंगो भाग छैन । बायाँ हातको कुहिनो मुनिको ठुटोजस्तो भाग मात्र छ । अवरुद्ध विद्युत मर्मत गर्नेक्रममा लागेको करेन्टको झट्काका कारण खोटाङको नेर्पा–८ रामपुरका हरिकाजी ढुंगानाको यो कहालीलाग्दो हालत भएको हो । हातखुट्टा काटिएपछि मुढो सरह हल न चल बनेका ढुंगाना नेपाल बिद्युत प्राधिकरण शाखा खोटाङका दैनिक ज्यालादारी मजदुर हुन् । अवरुद्ध बिद्युत सुचारु गराउनका लागि मर्मत गर्नेक्रममा गत चैत्र–१६ गते लागेको ११ केभी क्षमताको करेन्टले उनलाई ह्वीलचेयर चढाएको हो । सवालंगबाट पूर्ण अपांग बनायो । डढेको हातखुट्टा फालिएपछि हरिकाजी एक्लोले केही गर्न सक्दैनन् । दर्दनाक अवस्थामा पुगेका ढुंगानाको हालका हरेक गतिविधि सहयोगीको भरमा मात्र हुन्छ । यताउता जानआउन ह्वील चेयरमा डो¥याउने सहयोगी चाहिन्छ । कृत्रिम भाग जोडिएको दाहिने खुट्टाको भरथेग छैन । खान खान, सुत्न, उठ्न, दिसापिसव गर्न, नुहाउन लगायतका हर क्रियाकलापमा सहयोगी अनिवार्य बनेको छ । ‘हरिकाजीलाई हरेक कुरामा अर्काको सहयोग चाहिन्छ,’ भिनाजु झमप्रसाद आचार्यले भन्नुभयो, ‘दिशापिसाव गर्न गराउन सबैभन्दा बढि गा¥हो भइरहेको छ ।’ 

हात जोडनका लागि आर्थिक सहयोग उठाउनेक्रममा ह्वीलचेयरमा दिक्तेल आएका हरिकारी ढुंगाना । 
करेन्टले डढेको चार पाउको उपचार गर्नेक्रममा २६ लाख खर्च भएको ढुंगाना परिवारले बताएको छ । नेपाल विद्युत प्राधिकरणकै निगरानी र खर्च व्यवस्थापनमा सुरुमा टिचिङ अस्पतालमा एक दिन उपचार गराएपछि बिएण्डी अस्पताल सातदोबाटो पु¥याइएका ढुंगानाको चार महिनासम्म बिएण्डीमै उपचार गरिए । बिएण्डीबाट निकालिएपछि उनलाई ललितपुरस्थित अर्थोप्लान्ट रिह्याव सेन्टरमा अपांगको जीवन पद्धति तथा शारिरीक तन्दुरुष्टिका विषयमा दुई महिनासम्म शारीरिक अभ्यास तथा ‘मनोबैज्ञानिक काउन्सिलिङ’ गराएर घर ल्याइएको आचार्यले बताउनु भयो । ‘रिह्याव सेन्टरमा अपांगले जिउनुपर्ने तरिकाका बिषयमा अभ्यास गराइयो,’ आचार्यले भन्नुभयो, ‘उनको आत्मबल द¥हो बनाउनका लागि मनोपरामर्श दिने काम पनि त्यही भयो ।’ 

बिएण्डबीमा गरिएको उपचारकाक्रममा लागेको खर्च नेपाल बिद्युत प्राधिकरणले तिरिदिएकाले आर्थिक भार कम परेको ढुंगानाकी श्रीमती सितादेबी ढुंगानाले बताउनु भयो । रिह्याव सेन्टरमा उपचार गराउनेक्रममा लागेको डेढ लाख उपचार खर्च भने प्राधिकरणले हालसम्म उपलव्ध नगराएको उहाले गुनासो गर्नुभयो । ‘त्यत्तीका पैसा तिर्ने हाम्रो क्षमता छैन, प्राधिरणको सहयोगले राहतको महसुस गरेका छौँ,’ ‘त्यसमा पनि प्राधिकरणकै सहयोगको आशा गरेका छौँ ।’ 

करेन्ट लागेर पूर्ण अपांग बनेको नेर्पाका हरिकाजी ढुंगाना । 
प्राधिकरण शाखाको दैनिक ज्यालादारी मजदुरकारुपमा काम गर्दैआएका ढुंगाना अर्खौलेमै डेरा गरी बस्थे । बेला–बेलामा घर आउने–जाने गर्थे । अर्खौले गाबिसस्थित तुवाचुङस्थित नागीमा नवलपुर र हलेसी जाने ११ केभी क्षमताको विद्युत मर्मत गर्नेक्रममा उनलाई करेन्ट लागेको हो । उज्यालोका लागि विजुलीको तार जोड्न खम्बा चढेका ढुंगानाको जीवन भने अँध्यारो बनेर झ¥यो । 

परिवारको बिचल्नी 
घर व्यवहार धान्दै आएका हरिकाजी करेन्टको चोटका कारण अपांग बनेपछि उनका बृद्ध बुवा शिवप्रसाद, आमा तिलमायाँ, एक बहिनी, श्रीमती, एक छोरी र एक दुधे बालकको विचल्नी भएको छ । उनका छोरा डेढ महिना अघिमात्र जन्मिएका हुन् । परिवारको पालनपोषण र संरक्षणका लागि जटिल समस्या निम्तिएको ढुंगाना परिवारको भनाई छ । श्रीमान पूर्ण अपांग बनेसँगै बालबच्चाको भविष्य, पालनोषण एबं शिक्षादिक्षाको सपना चकनाचुर भएको सितादेबीले बताउनु भयो । ‘सोच्दै नसोचेको नियतीको बज्रपात हामीमाथि परेको छ,’ भान्नुभयो ‘हाम्रो पेट भर्ने अन्नको गेडो खोसिएको महसुस गरिरहेका छौँ ।’ 

लेकाली भू–भाग, कम उव्जाउ हुने थोरै जनिमबाट उत्पादन हुने अन्नले परिवारलाई ६ महिना पनि खान नपुग्ने भएकाले अपांग जीवन जिउन अति कठिन भएको हरिकाजीले बताउनु भयो । सपाङ्ग अवस्थामै ज्यालादारी काम गरेर जीवन निर्वाह गर्दैआएको परिवारमा कहालीलाग्दो अवस्था सिर्जना भएको स्थानीयको भनाई छ । ‘म बाँचेर सृष्टि नियल्ने आशा राखेको छु,’ हरिकाजीले भन्नुभयो, ‘मेरो जीवन रक्षा र निर्वाहका लागि सहयोगको खाँचो छ ।’ 

उपचारपछि गत असोज–६ गते घर ल्याइएका ढुंगाना परिवारले आजीवन जीवन निर्वाह खर्चका लागि सरकार समक्ष माग गरेका छन् । आजीवन जीवन निर्वाहको व्यवस्था मिलाउन साउन–१ गते उर्जा मन्त्री राधा ज्ञवाली समक्ष माग राखिए पनि हालसम्म कुनै पहल नभएको ढुंगाना परिवारको गुनासो छ । ‘हप्ता दिनमै निर्णय दिन्छु भनेको उर्जा मन्त्रीले अहिलेसम्म केही भनेको छैन,’ आचार्यले भन्नुभयो, ‘सोही माग असार तेश्रो हप्ता प्राधिकरणको केन्द्रीय कार्यालयमा पनि पेश गरेका छौँ ।’ 

कृत्रिम हात जडानका लागि आर्थिक संकलन सुरु 
चारै हातपाउ काटेर फालिएका हरिकाजीको बायाँ हातमा कृत्रिम अंग जडानकालागि आर्थिक संकलन थालिएको छ । बायाँतर्फ कृत्रिम हात अड्याउने थोरै भाग बाँकी रहेकाले सोही ठाउँमा ‘सेन्स’ले चल्ने कृत्रिम हात जडानका लागि आर्थिक सहयोग संकलन थालिएको आर्थिक संकलन समितिका सचिव रहेका उनका भिनाजु झमप्रसाद आचार्यले बताउनु भयो । ‘दायाँतर्फ कृत्रिम हात राख्ने भाग नै छैन, बायाँतर्फ थोरै भाग छ,’ आचार्यले भन्नुभयो, ‘कम्तीमा एउटै हात जोड्न सकिए पनि सामान्य काम आफै गर्न सक्छ भन्ने आशा छ ।’ हरिकाजीको एउटै मात्र कृत्रिम हात जोड्न सकेपनि खाना खान, दिशापिसाव गर्न लगायतका व्यक्तीगत काम आफै गर्न सक्ने आफन्तको आशा छ ।  

हरीकाजीलाई ह्वीलचेयरमा राखेर दिक्तेल लगायतका स्थानमा माइकिङ गर्दै सहयोग जुटाउने अभियान सञ्चालन गरिएको आचार्यले बताउनु भयो । मानिसको ‘सेन्स’ अनुशार चलाउन सकिने कृत्रिम हात जडानका लागि कम्तीमा १३ लाख लाग्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएको आचार्यले भन्नुभयो । उनको स्वेच्छिक सहयोगका लागि खोटाङका सबै राजनैतिक दलले समेत सहयोगको अपिल गरेका छन् । रकम जम्मा गर्नका लागि राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ललितपुरमा खोलिएको बचत हिसाब नम्बर ११२००२१९७३१० मा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । विचल्नीमा परेको ढुंगाना परिवारको सहयोगका लागि पुर्वसभाषद दुर्गाजयन्ती राईको संयोजकत्वमा २५ सदस्यीय हरिकाजी ढुंगाना जीवन निर्वाह समन्वय समिति र श्रीमती सितादेबीको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post