sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » सडक दुर्घटनाका घाइते भन्छन्: कसैको सहयोग पाए बाँच्थे जस्तो लाग्छ !

पुस–२१, मैदानमा खुट्टा तेर्साएका एक व्यक्ति आँशु पुच्दै भन्दै थिए, “कतै अली सजिलोमा लगेर राख्नुस् न, एकदमै गाह्रो भो !” 

खोटाङको सप्तेश्वरछितापोखरी–५ का २१ वर्षीय जीतबहादुर खड्काको चार वर्षसम्म निको नभएको घाउको पीडा सहन नसकेर निस्किएको आवाज हो यो । गाडीको किचाइबाट दायाँ खुट्टाको बुढी औँला बाहेक चार वटा औँला गुमाएका जीतबहादुरको आर्थिक अभावका कारण लामो समयसम्म उपचार हुन सकेको छैन । 

घाउ पाकेर र कुहिएर बल्झिरहे पनि आर्थिक समस्याका कारण ‘दुखाइ सहनु’ सिवाय अन्य बिकल्प छैन जीतबहादुरको लागि । कुहिएर झर्न लागेको खुट्टा तान्दै जीतबहादुर भन्छन्, “घाउ दुखिरहन्छ, उपचार गर्ने खर्च छैन, जतिसुकै दुखे पनि के गर्ने, सहेर बस्नुको बिकल्प छैन ।”
खुट्टाको उपचार गराउन नसकेर गाउँ परिषद्मा सहयोगको यचाना गर्न आएका जीतबहादुर खड्का ।

बारम्बार पाकिरहने जीतबहादुरको खुट्टाको पुरानो घाउ गेडीमुनीको भाग कुहिएर झर्न लागेको छ । घाउको दुखाइकै कारण अहिले जीतबहादुर यताउता हिँडडुल गर्न समेत सक्न छाडेका छन् । 

आफ्नो खुट्टामा आफै उभिनुपर्ने जोसिलो र जाँगरिलो उमेरमा दाजुभाउजुको साहरामा बस्नु परेको छ जीतबहादुरलाई । उपचारको अभावमा चर्किएको त्यही घाउका कारण जीतबहादुरले कलकलाउँलो बैंश भन्न पाएका छैनन्, कहिल्यै ‘खाउँ–खाउँ र लाउँ–लाउँ’को उमेर भन्न पाएनन् ।

जीतबहादुरको परिवारमा दाजु, भाउजु, तीन भतिजाभतिजिनी र एक जना भाइ छन् । हाल दाजुभाउजुले गरेको बनिबुतोबाट आएको कमाइबाट सात जनाको परिवारको दैनिक गुजारा चलिरहेको छ । 

जीतबहादुरका दाजु भक्तबहादुर पनि लामो समयदेखि ढाड दुख्ने समस्याले पीडित छन् । साहराका रुपमा रहेका दाजु पनि थलिए आफूमाथि झनै बज्रपात हुने जीतबहादुरको भनाइ छ । आँशु पुछ्दै उनी भन्छन्, “बुबाआमाले त हामीलाई सानैमा छोड्नु भो, यदि दाजुभाउजुबाट पनि सहयोग पाउन छाँडे भने मेरो हालत के होला !” 

जीतबहादुर सानो छँदै बाबुआमा बितिसकेका थिए । ऋणपान तिर्न र घरको दुःख हल गर्नका लागि पैसा कमाउने सपनामा जीतबहादुर गाउँकै आफन्त तीलबहादुर खड्कासँग २०६७ सालमा भारतको कोइलाखाद हिँडेका थिए । तर, कहिल्यै घर नछाडेका जीतबहादुरलाई बसमा चढेपछि लगातार बान्ता भयो । 

बान्ता नरोकिएपछि भारतको गुहाटीमा रातको ११ बजे उत्रिएका जीतबहादुरलाई सडक पार गर्नेक्रममा गाडीले ठक्कर दियो । गाडीको किचाइबाट जीतबहादुरको दायाँ खुट्टाको बुढी औंला बाहेक चार वटा औंला गुम्यो ।

पैसा कमाउन हिँडेका खड्काको सपना कोइलाखाद नपुग्नै बाटैमा भताभुङ्ग भयो । उल्टै अपांग बनेर बीचैबाट घर फर्कनु प¥यो । 

गुहाटीको एक अस्पतालमा सामान्य उपचार गराएर घर फर्किएका जीतबहादुरले आर्थिक अभावमा खुट्टाको उपचार समयमै गराउन सकेनन् । अन्ततः हालसम्म चोट सहेरै बस्न बाध्य छन् ।

अवस्था हेर्दा खड्काको घाउमा क्यान्सर भएको हुन सक्ने स्थानीय बताउँछन् । खड्काको अधिकांश समय ओछ्यानमै ढल्किएर बित्छ ।

घाउका कारण अहिले कम्मर मुनीको भाग समेत दुख्न थालेको जीतबहादुरले सुनाउनुभयो । उहाँले भन्नुभयो, “पहिला त यही खुट्टा मात्र दुख्थ्यो, हुँदाहुँदा अहिले त कम्मर मुनीको भाग सबै दुख्न थालेको छ, कहिलेकँही त लाग्छ, यसरी पीडा सहेर बाँच्नुभन्दा मर्न पाए सारा दुःख नै लुक्थ्यो !’ 

घाइते जीतबहादुरको उपचारका लागि गाउँमा संकलन गरिएको रकमले सामान्य बाहेक थप उपचार गराउन नसकिएको स्थानीय पदमकेशर राईले बताउनुभयो । खुट्टाको चोट जटिल किसिमको भएका कारण अन्यत्र लगेर उपचार गराउन आवश्यक आर्थिक संकलन गर्न नसकिएको राईको भनाइ छ ।

सप्तेश्वरछितापोखरीको पुस–१४ गते भएको गाउँ परिषदमा आएर जीतबहादुरले बिरामी खुट्टाको उपचारका लागि सहयोगको याचना गर्नुभयो । डोकोमा बोकेर गाउँ परिषद्मा ल्याइएका जीतबहादुरले गहभरी आँशु पार्दै भन्नुभयो, “दिन दिनै घाउ बढ्दै छ, यसरी नै बढ्दै गयो भने धेरै दिन बाँच्दिन होला !, तैपनी सबैको सहयोग पाएँ बाँच्छु जस्तो लाग्छ ! त्यही भएर यहाँसम्म आएका हुँ ।” 

सम्पत्तीको नाममा खड्का परिवारको पाँच रोपनी पाखो बारी छ । वर्षभरी गरेको कमाइले उनीहरुलाई तीन÷चार महिना पनि खान पुग्दैन । 

दैनिक हातमुख जोड्न सक्ने आर्थिक क्षमता नभएका कारण खड्का परिवारले खुट्टाको उपचार गराउन नसकेको छिमकी जगतबहादुर खड्काले बताउनुभयो । उनी भन्छन्, ‘‘साँझ बिहान हातमुख जोड्न मुस्किल छ, कहाँबाट उपचार गराओस् त बिचराले !”

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post