sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » सुनकोसी पुलले खोटाङ्गेको जीवनशैली फेरिदै ......

माघ–८, खोटाङ बाहुनीडाँडा–७ का टेकमान राईलाई ‘गाडीमा चडेर जिल्लाबाट कहिलदेखि सिधै सहर पुगिएला’ भन्ने लागीरहन्थ्यो । हुन पनि पुलको अभावमा सुनकोसी र दुधकोसीमा ओर्लिएर अर्को गाडी परिवर्तन गर्दै यात्रा गर्नुपर्ने झमेलाबाट सबैजना मुक्ति चाहन्थे । 

बाटोमा पार गर्नुपर्ने उदयपुरको घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने सुनकोसीको पक्की पुल गत पुस–७ गतेबाट सञ्चालनमा आएसँगै राईजस्ता खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूका स्थानीयको वर्षौदेखिको सपना केही पूरा भएको छ । टेकमान भन्नुहुन्छ,  “जे होस् ढिलै भएपनि सहर जाने र आउने सिधा बाटो खुलेको छ, दुई÷तीन दिनमा पार गरिने बाटो एक दिनमा पार गर्ने वातावरण बन्नु हाम्रा लागि खुसीको कुरा हो ।”

पुलले गाउँ र शहरको दुरी छोटो बनाएको सृर्जनात्मक युवा समुह च्यास्मिटारका अध्यक्ष रसकुमार राईले बताउनुभयो । तीन जिल्लाको मुख्य प्रवेशद्धारका रुपमा रहेको सुनकोसीको पक्की पुल सञ्चालन भएसँगै खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुबाट सिधै राजधानी काठमाडौं लगायत सहर पुग्न र आउन सकिने बाटो खुलेको छ । 

निर्माण कार्य थालिएको १४ वर्षपछि तयार भएको पुल भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले पुस–७ गते उद्घाटन गरेसँगै खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । पुल सञ्चालनमा आएसँगै राजधानी काठमाडौं र उदयपुरको कटारीका लागि सोही दिनदेखि यात्रुवाहक सवारी साधन सञ्चालनमा ल्याइएको यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष गणेशविक्रम शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “एकै दिनमा काठमाडौं पुग्ने वातावरण बनेको छ, दिक्तेल–कटारी, दिक्तेल–काठमाडौं र हलेसी–काठमाडौं यातायात सेवा सञ्चालन गरेका छौँ ।” 

ओखलढुङ्गा र सोलुखुम्बुबाट तराई जान र आउन सुनकोसी पुल मात्र तर्नुपर्छ । तर, खोटाङबाट शहर जानआउन सुनकोसी र दुधकोसी दुबै पार गर्नु पर्ने हुन्छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्नेे जयरामघाटस्थित दुधकोसीमा पनि मंसिर–२२ गतेदेखि बेलिब्रीज सञ्चालनमा आइसकेका कारण खोटाङ समेत राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । 

सिधा यातायात सेवा सुरु भएसँगै जिल्लाबाट तराई जानेआउनेक्रममा सुनकोसी र दुधकोसीमा झर्दै पुनः गाडीमा चढ्नुपर्ने बाध्यता हटेको छ । वाईवा भैरब कन्ट्रक्शनका ठेकेदार कृष्ण लामाले पाँच वर्षभित्र पूरा गर्नेगरी २०५८ सालमा जिम्मा लिएको पुल निर्माणको काम १३ वर्ष बितेपछि मात्र सम्पन्न भएको हो । 

१४ करोड ६० लाखमा पूरा गर्नेगरी वाइवा कन्ट्रक्शनले जिम्मा लिएको पुल निर्माणका क्रममा २० करोड ४३ लाख बढि खर्च भएको ठेकेदार कम्पनीले जानकारी दिएको छ । आठ÷आठ पटक म्याद थपिएको पुलको तौल पाँच सय ७० टन रहेको छ । 

एक सय ७० मिटर लम्बाइको पुल निर्माणकै क्रममा गत चैत्र–२४ गते रहस्यमय तरिकाले भाँचिएर नदीमा खसेको थियो । सुनकोसीमा पुलको विकल्पमा सञ्चालन हुँदै आएको फेरी गत वर्ष नै नदीले बगाइसकेको छ ।

२०६४ साल फागुनबाट यातायातका सवारी साधन भित्रिएको जिल्लामा सुनकोसीको पक्की पुल बनेपछि बिस्तारै जिल्लाबासीको जीवनशैलीमा परिवर्तन आउन थालेको एकीकृत नेकपा माओवादी खोटाङका सचिव दुर्गाजयन्ती राईले बताउनुभयो । पूर्व सभाषद् समेत रहनुभएकी सचिव राईले भन्नुभयो, “जिल्लाबासीका लागि आवश्यक पर्ने हरेक चिज फ्रेस आइपुग्छ, भौतिक रुपमा मात्र नभइ स्वास्थ्यको दृष्टिले पनि राम्रो हुँदै गएको छ ।” 
निर्माण कार्य थालिएको १४ वर्षपछि सञ्चालनमा आएको सुनकोसीको पक्की पुल । 

लामो समयसम्मको धैर्यतापछि सञ्चालनमा आएको पुलका कारण जिल्लामा कम लागतमै भौतिक विकास निर्माणका काम गर्ने वातावरण बनेको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “भौतिक विकास त हुने नै भयो, जिल्लामा उत्पादित जडीबुटी, कच्चा पदार्थ निकासी तथा हलेसी, सगरमाथा, टेम्के, रुपाकोट लगायत पर्यटकीयस्थलको पर्यटन विकासमा समेत पुलले योगदान पु¥याएको छ ।”

तराईसँगको सिधा यातायात सञ्चालन भएपनि जिल्लामा दैनिक उपभोग्य वस्तुको मुल्य भने घटेको छैन । मालवाहक सवारी साधनले ढुवानी मुल्य नघटाएका कारण मुल्य घटाउन नसकिएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष खुसनारायण सैंजूले बताउनुभयो । उहाँले भन्नुभयो, “मुल्य नघटेपनि जिल्लाबासीले गुणस्तरीय सामान उपभोग गर्न पाएका छन्, यसमै खुसी मान्नुपर्छ ।”

यसअघि पारिश्रमिक दिएर भरियामार्फत नदी तार्नुपर्ने समस्याका कारण म्याद नाघेका र टुटफुट भएका सामान उपभोक्ताको हातमा पर्ने गरेको थियो । उहाँले थप्नुभयो, “तराईबाट दुई हप्तामा आइपुग्ने सामान एकै दिनमा सुरक्षितसाथ जिल्ला आइपुग्छ, यसलाई व्यवस्थित गर्न बाँकी नै भएकाले केही दिनमै भाउ समेत घटाउने तयारी गरेका छौं । 

दुधकोसीको जयराम घाटमा पनि निर्माणाधिन पुल बने तराईको भन्दा प्रतिकेजी पाँच रुपैयाँ बढिमा सामान दिन सकिने व्यवसायीको भनाइ छ । सुनकोसीको पुल सञ्चालनमा आएपनि  दुधकोशी नदीको पुल नबन्दा मुल्य घटाउन नसकिएको उनीहरु बताउँछन् । 

हाल जयरामघाटस्थित दुधकासीमा अस्थायी बेलिब्रीज सञ्चालनमा छ । जयरामघाटको पुल समेत चाँडै सञ्चालनमा आउने हो भने, जिल्लामा हरेक क्षेत्रको विकासको गतिले तिब्रता पाउने थियो । 

हुलास ईन्जिनियरिङ एण्ड कन्ट्रक्शनले दश करोड छ लाख रुपैयाँको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी २०६६ साल भदौमा पुल निर्माणको जिम्मा लिएका थिए । २०६८ साल असारसम्ममा सम्पन्न हुनुपर्ने पुलको काम निरन्तर चलीरहेको ठेकेदार कम्पनीले जनाएको छ । 

उक्त पुल निर्माणको काम असार मसान्तभित्र सक्न पटक–पटक ताकेता गरिएको खोटाङ क्षेत्र नम्बर–२ बाट निर्वाचित सभाषद् विशाल भट्टराईले बताउनुभयो । नेकपा एमालेका बैकल्पिक सदस्य समेत रहेका भट्टराईले भन्नुभयो, “यसअघि सुनकोसीको पुल नबनेको बहानामा ठेकेदारले आलटाल गरिरहेको थियो, अब त पुल पनि सञ्चालन भइसकेकाले असार मसान्तभित्र सञ्चालनमा ल्याउन उनीहरुलाई नैतिक दबाब परेको छ ।”

सम्झौता भएको पाँच वर्ष बितिसकेको दुधकोसी पुलको हाल पिलर हाल्ने काम भइरहेको छ । उक्त पुल निर्माणको काम तत्काल सक्न भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले निर्देशन समेत दिइसकेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post