sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » सहमति नभए प्रक्रियाबाटै संविधान जारी हुन्छ : देउवा

माघ–२९, नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले संविधान बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएकोले सहमति नभए प्रक्रियामार्फत भएपनि संविधान जारी गरेरै छाड्ने बताउनुभएको छ । खोटाङको चिसापानीमा आयोजना गरिएको स्वर्गीय हर्कबहादुर राईको सालिक अनावरण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता देउवाले एकीकृत नेकपा माआवादीलगायतका दलले अवरोध गरिरहे प्रक्रियामा गएर भएपनि संविधान जारी गरी छाड्ने बताउनुभएको हो । 

पहिलो संविधानसभाबाट ठूलो दल बनेको एमाओवादीले पहिले पनि संविधान जारी गर्न नसकेको र अहिलेको प्रमुख बाधक पनि एमाओवादी नै भएकाले समयमा संविधान जारी गर्न नसकिएको नेता देउवाले उल्लेख गनुभयो । उहाँले भन्नुभयो– “माओवादीकै कारण पहिलो संविधानसभाबाट संविधान जारी हुन सकेन, मुलुकलाई संक्रमणकालबाट जोगाउनका लागि जसरी भएपनि दोस्रो संविधानसभाबाट संविधान जारी गरेरै छाड्ने छौं ।”

माओवादी, मधेसवादी दललगायतलाई राजनीतिक सहमतिमा ल्याएर संविधान लेख्ने प्रयास भइरहेको छ, नेता देउवाले थप्नुभयो– “अब पनि माओवादी नसच्चिए जनताले छाड्दैनन्, यसको परिणाम माओवादी आफैले भोग्नुपर्छ ।”

हेलिकोप्टर मार्फत चिसापानी आउनुभएका नेता देउवाले २०५८ सालमा माओवादीद्वारा मारिएका चिसापानी उच्च माविका तत्कालीन प्रधानाध्यापक तथा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष हर्कबहादुर राईको अर्धकदको शालिक अनावरण गर्नुभयो । स्वर्गीय हर्कबहादुर राई स्मृति प्रतिष्ठानको आयोजनामा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता देउवाले सावापारीका १३ गाविसका समुदायको हितलाई मध्यनजर गर्दै सुनकोशी नदीको धाप्लाङघाटमा पक्की पुल र विद्युत बिस्तारका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  

चिसापानी उच्च माविको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् भिष्मराज आङदेम्बेले सहमतिका नाममा जनताको अधिकार कुहिरोका काग बन्न नहुने बताउनुभयो । नेता आङदेम्बेले संविधानसभाको जीवन भनेको प्रक्रिया भएकाले लोकतान्त्रिक प्रणालीलाई अवलम्बन गर्दै जातीय पहिचानसहित सबैको द्वन्द्व मेटिने संविधान जारी गरेरै छाड्ने बताउनुभयो । 

कार्यक्रमको अवसरमा स्वर्गीय हर्कबहादुर राई स्मृति प्रतिष्ठानका सहसचिव बाजिन्द्र बिष्टले  चिसापानी क्याम्पसलाई एक लाख बराबरको पुस्तक उपलब्ध गराउनुभएको छ । बिष्टले आफूले अध्ययन गरेको विद्यालयमा शैक्षिक गुणस्तरमा सहयोग पु¥याउने उद्देश्यले उच्च मावि तथा क्याम्पस तहका पुस्तक प्रमुख अथितिका हातबाट क्याम्पसलाई हस्तान्तरण गर्नुभएको हो । 

युवा नेता तथा स्वर्गीय हर्कबहादुर राई स्मृति प्रतिष्ठानका अध्यक्ष भुपेन्द्र राईको सभापतित्वमा भएको कार्यक्रममा नेविसंघका पूर्व महामन्त्री उमेशजङ्ग रायमाजी, पूर्व कोषाध्यक्ष विनोद वान्तावा, कांग्रेस नेता तथा कार्यकर्ता, प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा, प्रहरी नायव उपरीक्षक विनोदराज खरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अवसरमा गाविसस्तरीय भलिबल तथा नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post