sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » खुल्यो तराई जोड्ने सबैभन्दा छोटो रुट 'महुरे–फोक्सिङ्टार सडक'

फागुन–६, जिल्लाबाट तराई जोड्ने सबैभन्दा छोटो रुट महुरे–फोक्सिङटार सडक बुधबार उद्घाटन गरिएको छ । 

सगरमाथा हाई–वे अन्तरगत खोटाङको नुनथलास्थित महुरेदेखि लिच्कीराम्चेसम्मको ४९ किलोमिटर सडक उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको हो । 

नेपाल सरकार, जिल्ला बिकास समिति खोटाङ र स्विटजरल्याण्ड सरकारको संयुक्त लगानीमा २०६७ साल भदौ–१६ गते निर्माण सुरु गरिएको सडकले खोटाङ र तराई जोड्ने बाटो खुलाएको छ । ठूला मेसिनरी सामानको प्रयोग नगरी ‘मानवीय शक्ति र घरेलु हाते औजार’को प्रयोग गरेर सुरु गरिएको सडकको निर्माण कार्य २०७० साल असार मसान्तमा सम्पन्न भएको हो । 
जिल्लाबाट तराई जोड्ने सबैभन्दा छोटो रुट महुरे–फोक्सिङटार सडक बुधबार रिबन काटेर उद्घाटन गर्नुहुँदै उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री सिंह । 

६० करोडको लागतमा निर्माण सम्पन्न भएको महुरे–फोक्सिङटार सडक खोटाङ र पुर्वी तराई आउजाउ गर्ने द्रुत मार्गकारुपमा स्थापित भएको स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटाले बताउनुभयो । जिल्लाबाट तराई जाने दोश्रो मार्ग खुलेपछि जिल्लाबासी हर्षित बनेका छन् । 

महुरे–फोक्सिङटार सडक खोटाङ र उदयपुरको फोक्सिङटारस्थित सुनकोसीसम्म पुग्छ । सुनकोसीबाट खोटाङ र उदयपुर दुबैतर्फ सडक बिस्तार भइसकेको र सुनकोसीमा बेलिब्रिज राखिसकिएका कारण खोटाङबाट सिधै गाईघाट पुग्न सकिन्छ । गाईघाट पुगेपछि पुर्वी तराईका सबै जिल्ला पुग्न र आउन सकिन्छ । 

नुनथला, बुइपा, बिजयखर्क, राजापानी, बतासे र लिच्कीराम्चे जोड्ने सडक निर्माणकाक्रममा स्थानीयले गाउँमै रोजगारको अवशर पाएको स्वीस सरकार विकास सहयोग नियोगका सम्पर्क अधिकृत सुशिल श्रेष्ठले बताउनुभयो । सडक निर्माणका क्रममा ६७ प्रतिशत बिपन्न सर्वसाधारणले रोजगार पाएको श्रेष्ठको भनाइ छ  ।

६० करोडमध्ये करिब ४० करोड रकम निम्न आर्थिकस्तर भएका कामदारका हातमा पुगेको छ, श्रेष्ठले भन्नुभयो, “सडक आसपासमा बजारहरु बिस्तार हुँदै गएको छ, यो खोटाङ्गेका लागि खुसीको कुरा हो ।” 

नेपालस्थित स्विस राजदूत डा. उर्स हेरेनले दुई दिनको बाटोलाई सडकले घण्टामा छोट्याएको बताउनुभयो । हेरेनले सडक निर्माणकाक्रममा स्थानीय कामदारको आर्थिक उन्नतीमा टेवा पुगेको उल्लेख गर्नुभयो । यो सडकले स्थानीय सर्वसाधारणको जिविकोपार्जनमा योगदान पु¥याएको छ, डा. हेरेने भन्नुभयो, “सडक बनाउने काम गरेवापत स्थानीयले पूरानो ऋण चुक्ता गरे, घर जग्गा जोडे, सुन किनेका रहेछन् ।”

जिल्ला सडक सहयोग कार्यक्रम अन्तरगत वातावरणमैत्री शैलीमा बनाइएको सडकले खोटाङमा उत्पादन भएको आलु, अलैंची, इस्कुस लगायतका कृषि उपजहरु तराईका बजारमा पु¥याउने सिधा बाटो खुलाएको सभाषद पिके राईले बताउनुभयो । स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने हामी किसानको ठूलो समस्या थियो, सभाषद राईले भन्नुभयो, “अब हामीलाई बजारको चिन्ता रहेन, यहाँ उत्पादन भएका फलफुल, तरकारी हामी तराईमा लगेर बिक्री गर्न सक्छौँ ।” 

सडक उद्घाटन कार्यक्रममा स्थानीय विकास सचिव डा. सोमलाल सुवेदी, कृषि सडकका निर्देशक जीवनकुमार श्रेष्ठ, एसडिसी हेडअफ को–अपरेसन जा“फ्वास्वा“, कांग्रेस जिल्ला सभापति विष्णुकुमार राई, प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा, स्थानीय उपभोक्ता समितिका दीपककुमार राई लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलहरुले उक्त सडक खण्डमा पर्ने फोक्सिङ्टारमा पक्की पुल निर्माणका साथै सडकलाई कालोपत्रे गर्न मन्त्री सिंहको ध्यानाकार्षण गरेका छन् । सबै राजनीतिक दलहरुको तर्फबाट स्थानीय शान्ति समितिका संयोजक ललितकुमार राईले संयुक्त ज्ञापन–पत्र बुझाउँदै यस्तो ध्यानाकार्षण गराएका हुन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post