sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खोटाङको डिकुवामा खानेपानीको हाहाकार: गृहकार्य छाडेर पानी ल्याउँछन् विद्यार्थी

फागुन–४, जिल्लाको पश्चिमी गाविस डिकुवामा खानेपानीको हाहाकार भएको छ । नजिकमा रहेका खानेपानीको मुहानहरु सुकेपछि गाविसको वडा नम्बर–४, ५ र ८ मा यस्तो हाहाकार मच्चिएको हो । 

स्थानीयले उपभोग गर्दै आएका पानीको मुहान सुकेपछि अहिले पाँच घण्टाको बाटो धाएर डिकुवाखोलाबाट गाग्रीमा बोकेर खानुपर्ने अवस्था रहेको स्थानीय शिक्षक सत्यकुमार राईले जानकारी दिनुभयो । मान्छेले खाने त जसरी पनि ल्याइन्छ, राईले भन्नुभयो, “वस्तुभाउको बिचल्ली भएको छ, यसप्रति कसैको ध्यान जान सकेन !” 
नजिकमा खानेपानीको धारा नभएपछि खोलाबाट पानी ल्याँदै बालक ।

स्थानीयका अनुसार तीनवटै वडाका बासिन्दाले एउटै पँधेरा प्रयोग गर्नुपर्दा उक्त पँधेरा समेत फोहोर भइसकेको छ । यसअघि उक्त क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि नार्सीपा–दाम्ली ग्रामिण खानेपानी योजना सञ्चालन गरिएको थियो । 

उक्त योजना सञ्चालन गरिएको मुहान सुकेपछि घरघरमा धारा त छ तर, पानी नआएको लामो समय बितिसकेको छ । हाम्रो समस्याका बारेमा पटक–पटक सम्बन्धित निकायमा जानकारी गराइयो, स्थानीय भन्छन्, “कँहीबाट सुनुवाई भएको छैन, अब त ककाकुलको अवस्था भइसकेको छ ।”

आफू अध्ययनरत विद्यालयमा खानेपानीको व्यवस्था नभएपछि त्यस क्षेत्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले आफै घरबाट पिउने पानी लिएर आउने गरेका छन् । शिक्षकहरुका लागि भने, परिचरले गाग्रीमा बोकेर ल्याइदिने गरेको पाइएको छ ।

वडा नम्बर–४ का ८६, ५ का २२ र ८ का २४ घरपरिवारमा यस्तो समस्या भएको गाविस सचिव गणेश कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “खानेपानीका लागि यस आर्थिक वर्षको गाउँ परिषद्बाट बजेट त बिनियोजन गरिएको छ तर, गाविसको बजेटले मात्र कुनै पत्तो चल्नेवाला छैन ।”

स्थानीयका अनुसार त्यस क्षेत्रमा नजिकै पानीको मुहान छैन । केही समयअघिसम्म पानी खाँदै गरेको मुहान समेत सुकीसकेको स्थानीय मनु राईले बताउनुभयो । उहाँले भन्नुभयो, “नजिकमा पानी नभएपछि बिहान चार बजे नै घरबाट हिड्नुपर्छ, समयमा नगए पालो नै पाइन्न !”

पानी ल्याउनका लागि अधिकांश बालबालिका पँधेरा जाने गरेका छन् । उनीहरु विद्यालयले दिएको गृहकार्य छाडेर पानी लिन जाने गरेको शिक्षकहरुको भनाइ छ ।
घरमा ठूला मान्छे नभएपछि बालबालिकालाई पानी लिन पठाउने गरिएको स्थानीयको भनाइ छ । त्यस क्षेत्रका अधिकांश युवायुवती वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post