sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » एकै घरमा तीन जना दृष्टिबिहिन : आर्थिक सहयोग पाए अस्पताल लगेर उपचार गराउँथे !

फागुन–१, जिल्लाको दक्षिणी गाविस छितापोखरीकी–३ की १८ वर्षीय कबिता भुजेल र उनकी १५ वर्षीया बहिनी गोमा भुजेल दुबै आँखाले देख्न सक्दैनन् । जन्मजात आँखा नदेख्ने कबिता र गोमा छामछामछुमछुम गर्दै घरभित्र र बाहिर गर्छन् । 

उनीहरुका सँगैका दौतरीहरु विद्यालय जान्छन्, घाँस दाउरा, मेलापात गर्छन् । तर, जन्मजात अन्धोपनाका कारण उनीहरु घरबाट एकछिन टाढा जान सक्दैनन् । हातमा समाएर डो¥याउने सयोगीको भरमा मात्र उनीहरु अन्यत्र जान र आउन सक्छन् । त्यसैमाथि उनीहरुलाई जन्म दिने बुबा सार्के भुजेलको पनि यही हालत छ । 

श्रीमान र दुई छोरीमा आँखा नदेख्ने एकै प्रकृतिको अन्धोपनाको समस्या भएपछि त्यसको ग¥हौं भार भने
श्रीमती धनमायाँ भुजेलको एक्लो काँधमा थोपरिएको छ । भुजेल दम्पत्तीको तीन छोरी र एक छोरा छन् । उनीहरुमध्ये जेठी छोरी देवि र छोरा बौवा मात्र सपाङ्ग छन् । देवि विवाह गरेर पराइ घर गइसकेकी छन् ।

खोटाङ छितापोखरी–३ का सार्के भुजेलको परिवार । तस्बिरः हाम्रो खोटाङ डटकम
एक्लो छोरो बौवाले पनि विवाह गरिसकेका छन् । उनीहरु आ–आफ्नै सुतीखेती गर्नतिर लागीसकेका छन् । बाँकी दुई छोरी र श्रीमान सार्के भने अहिलेसम्म एक्ली धनमायाँको भरमा बाँचीरहेका छन् । उनीहरुको आँखाको नानी सामान्य छ, तर टेढो हेरेको देखिन्छ । सार्के लट्ठीको साहरामा बिस्तारै–बिस्तारै गाउँघर डुल्न सक्छन् । उनी सँधै डुलीरहेको, हिँडीरहेको र अभ्यास्त बनेको बाटोबाट निसाना र अनुमानका भरमा छरछिमेक कहाँ पुग्छन् ।

दुई छोरीहरु भने अहिलेसम्म घरबाट पर गएकी छैनन्, जान पनि सक्दैनन् । अन्धोपना भएपनि दिदीबहिनी मिलेर खान पकाउँछन्, भाँडाकुँडा माझ्न एक्ली आमालाई सघाउँछन् । श्रीमान र छोरीहरुको अन्धोपना निको होला की भन्ने आशामा धनमायाँले निकै वर्षअघि श्रीमानलाई सदरमुकाम दिक्तेलमा सञ्चालन गरिएको आँखा उपचार शिविरमा पनि पु¥याइन् । शिविरमा भेटिएका चिकित्सकले शल्यक्रिया गर्न अन्यत्र लैजान सुझाव दिएका थिए । तर, खर्चको अभावमा श्रीमानलाई उपचार गर्न अन्यत्र लैजान नसकिएको धनमायाँको भनाइ छ । धनमायाँ भन्नुहुन्छ, “खान लाउन पुग्दैन, बतिबुतो गर्छु, परिवार पाल्छु, आफ्नो जीन्दगीसँग आफैलाई वाक्क लागेर आउँछ !” 

सार्केले अपाङ्गताको पँहेलो, छोरी कबिता र गोमाले निलो कार्ड पाएका छन् । १४ वर्षको उमेरछँदा धनमायाँको सार्केसँग विवाह भएको थियो । विवाह अघि सार्केको अन्धोपनाको विषयमा धनमायाँलाई पत्तै थिएन । भुजेल परिवारको कमाइ लगाउने चार माना बीउ जाने एक रोपनी जग्गा छ । ओत लाग्नका लागि राम्ररी उभिएर हिँड्न नमिल्ने एक कोठे घर छ । धनमायाँ भन्नुहुन्छ, “दिनदिनै परिवारमा जन बढ्यो, खाने मुख बढ्यो । तर, सम्पत्तीको नाममा केही बढेन । भुँडीले मागेपछि मेलापात गर्नै प¥यो, बनिबुतो गर्नैप¥यो, बल र बैंश छउञ्जेल त दुःख गर्दै बाँचिएला त्यसपछि के होइन्छ थाहा छैन ?” 

विवाह पछि छोरा छुट्टै बस्छन् । हाल धनमायाँ एक्लैले गरेको श्रम र मेहनतबाट उनका श्रीमान र दुई छोरीको पेट पालिएको छ । घरमा कमाउने जमाउने सबै थोक एक्ली धनमायाँको थाप्लोमा छ । आँशु पुछ्दै धनमायाँ भन्नुहुन्छ, “ज्यादै दुःखले बाँचेका छौँ, एक छाकलाई दुई छाक बनाएर खान्छौँ, के गर्ने प्राण धान्न साह्रै गाह्रो पर्‍यो ।” 

दुःख र जतीसुकै पीडा भएपनि ४९ वर्षीय धनमायाँले श्रीमान र छोरीहरुको आँखाको उपचार गराउने र देख्न सक्ने बनाउने आशा मारेकी छैनन् । धनमायाँ भन्नुहुन्छ, “कसैबाट आर्थिक सहयोग पाए एक पटक तीनै जनालाई अस्पताल लगेर उपचार गराउँथे !” 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post