sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » साउदीमा ज्यान गुमाएका मृतक परिवारलाई थप ५९ हजार सहयोग

खोटाङ, फागुन १८ । साउदी अरबमा ज्यान गुमाएका खोटाङका एक मृतक परिवारलाई थप ५९ हजार आर्थिक सहयोग प्राप्त भएको छ । केही समयअघि साउदी अरबमा ज्यान गुमाएका मौवाबोटे–५ दाप्साका ३२ वर्षीय होमबहादुर राई ‘भीमकुमार’को परिवारलाई हाल दक्षिण कोरियामा कार्यरत* खोटाङ्गेबाट आर्थिक सहयोग प्राप्त भएको हो । 
मृतक होमबहादुर परिवारको नाममा साउदीबाट आएको रकम बुझ्दै यायोक्खाका प्रतिनिधि –बायाँबाट दुई जना) । तस्बिर : हाम्रोखोटाङ डटकम 

सहयोग रकम आईतबार रुपाकोट रेडियोको संयोजनमा मृतक परिवारले पाउनेगरी किरात राई यायोक्खालाई हस्तान्तरण गरिएको छ । बाक्सिलाका निरज सामपाङ, यामकुमार राई, बिपिन हदी लगायतको पहलमा साउदीमा संकलन भएको रकम रेडियोका स्टेशन मेनेजर टंक थापाले यायोक्खाका सदस्य मनोज राई र किसन राईलाई हस्तान्तरण गरेका छन् । प्राप्त रकम यायोक्खा मातहतको आर्थिक संकलन समितिको नाममा राष्ट्रिय बाणिज्य बैंक दिक्तेलमा खोलिएको चल्ती खाता नम्बर–२०६०००४१६५०१ मा जम्मा गरिएको यायोक्खाले जनाएको छ ।

सहयोगीहरुको नामावली
 साउदीबाट सञ्चारकर्मी भीमसेना राईको खातामा जम्मा भएको रकम मृतक परिवारको नाममा हस्तान्तरण गरिएको हो ।

होमबहादुरको मृत्यु भएपछि अलपत्र बनेका ७३ वर्षीय बुवा लालबहादुर राई, १४ वर्षीया छोरी जुना, १२ वर्षीय छोरा सुदिप, १० वर्षीय छोरा सुनिल, ९ वर्षीय छोरी मुना, ८ वर्षीय छोरा निलिख र ६ वर्षीया छोरी पुजना राईको जीवनयापन तथा शिक्षा दिक्षाकालागि आर्थिक सहयोग गरिएको दाताहरुले बताएका छन् । 

बिचल्नीमा परेका राई परिवारको सहज जीवनयापनका लागि यसअघि हङकङबाट भोजपुरका किरण राईको संयोजनमा १ लाख ८२ हजार ४३५, दुबईमा कार्यरत मोरङकी चन्द्रकला र धनबहादुर साम्पाङ दम्पत्तीबाट १० हजार ५०, ओमनबाट रामेछापका गुमानसिं सुनुवारको संयोजनमा ५ हजार १३५, मलेसियामा कार्यरत खोटाङ नुनथलाका चिसाङ शेर्पाबाट ५ हजार १४२, बाम्राङ चुप्लाका विश्वचन्द्र राईबाट ५ हजार, दुवईमा कार्यरत मोरङ बयरवनका कमल रोकाबाट २ हजार ५२५ र खोटाङ बाम्राङका प्रकाश राईबाट ५ हजार आर्थिक सहयोग प्राप्त भइसकेको छ । बिचल्नीमा परेका राई परिवारको सहयोगका लागि हालसम्म ३ लाख ९२ हजार हजार बढि आर्थिक सहयोग जुटिसकेको छ । 

मृतक परिवारलाई १७ हजार ६६७ प्रदान गरेपछि बाँकी रहेको रकमबाट ५ लाखको अक्षय कोष स्थापना गर्ने पहल भइरहेको यायोक्खाका सचिव युगसन राईले बताए । अक्षयकोषमार्फत तीन–तीन महिनामा आउने ब्याजबाट मृतक राईको ६ जना बालबच्चाको शिक्षादिक्षाका लागि खर्च जुटाइने सचिव राईले बताए । अक्षयकोष बालबच्चा नहुर्केसम्म मात्र सञ्चालन गरिने यायोक्खाले जनाएको छ । ‘बाँकी रकम पनि जुटाएर पाँच लाखको अक्षय कोष स्थापना गर्छौँ,’ सचिव राईले भने, ‘त्यही कोषको व्याजबाट बालबच्चाको पठनपाठनका लागि खर्च जुटाउने हाम्रो लक्ष्य हो ।’ हाल मलेसियामा कार्यरत खोटाङका ईन्द्र नारथुङ्गेको संयोजनमा संकलन भएको १ लाख ३० हजार रकम पछि केही समयपछि आउने यायोक्खाले जनाएको छ । बिचल्नीमा परेका परिवारलाई जिल्ला बालकल्याण समितिले पनि ५ हजार आर्थिक सहयोग गरेको थियो । 

रोजगारीका सिलसिलामा तीन वर्षअघि साउदीअरबमा पुगेका राईको मृत्यु भएपछि बिचल्नीमा परेका उनका बृद्ध बुवा र ६ जना बालबच्चाको सहयोगकालागि देश तथा बिदेशबाट आर्थिक सहयोग जुटेको हो । अलपत्र बनेका बालबालिकाको सहयोगका लागि अझैपनि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । होमबहादुरको मृत्यु भएको केही समयपछि श्रीमती हिराले पनि छाडेर दोश्रो बिहे गरेर गएपछि बुढेस कालका लालबहादुर र ६ बालबच्चाको विचल्नी भएको हो ।

 पाँच महिना पनि खान नपुग्ने राई परिवारलाई अहिले साँझ बिहान चुल्होमा आगो बाल्न र एक छाक टार्नकालागि समस्या पर्न थालीसकेको स्थानीय प्रेमबहादुर राईले बताए । धन कमाउने सपनामा बिदेश गएका एक्लो छोरो होमबहादुरको मृत्यु भएपछि लट्ठीको भरमा उभिने लालबहादुरले नाती नातिनीको लालनपालन गर्दैआएका छन् । अहिले बुवा बिदेश जाँदा लिएको ऋणकालागि साहुले दिनदिनै धाउने गरेको छोरी जुनाले बताईन् । बीमा वापतको रकम पनि अहिलेसम्म नपाएको मृतक परिवारको गुनासो छ । 

तीन छोराछोरीको लालनपालन र शिक्षादीक्षाको बैकल्पिक व्यवस्था 
बिचल्नीमा परेका होमबहादुरका ६ छोराछोरीमध्ये जेठा छोरा सुदिप र माइली छोरी मुनालाई नुनथलाका–२ का समाजसेवी तेजबहादुर राईले उच्च शिक्षासम्म पढाउने शर्तमा जिम्मा लिएका छन् । 
यस्तै, माइला छोरा सुनिललाई कृषिविज्ञ मदन राईको शुभम् फाउण्डेशनले पठन–पाठनको व्यवस्था मिलाउनेगरी जिम्मा लिएका छन् । कान्छो छोरा निखिल मावलीमा र जेठी जुना र कान्छी पुजना हजुरबाकैसाथमा बसिरहेकी छन् ।

( * यसअघि भूलबस्  दक्षिण कोरियामा कार्यरत खोटाङ्गेबाट हुनुपर्नेमा अन्यथा भएकाले क्षमाप्राथीसहित सच्याइएको ।) - सम्पादक

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post