sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हामीले मानेका तीर्थस्थल र धार्मिक आस्था


राम प्रसाद घिमिरे 
(लेख) 

बुईपा खिरी मैले पहिलो पटक संसार देखेको मेरो जन्म स्थल हो । धार्मिक आस्थाको प्रसंङ्ग उठ्दा त्यसै त तीर्थस्थल थियो हाम्रो गाउँ, परम्परा सँगै थुपै्र संस्कृतिक महोत्सवहरु कही न कही भईरहन्छन । गाउँ भित्र तथा गाउँको वरिपरि खाइलाग्दा र रमणीय थुम्का, ओढार, चौतारा, भन्ज्याङ र दोभानहरु धार्मिक सांस्कृतिक र सम्पदाले उत्प्रेरित भई हाम्रा जिजुहरुले देवीदेवताहरुको स्थापना गरी सबै गाउँलेहरुले परिवारहरुको आस्था रोपेका छन । कुनै खोलानाला, पाखापर्वत र पहराहरु धार्मिक सम्पदासँग सम्बन्ध नभएको ठाउँ नै छैनन् । यिनै रमाइला थुम्का, डाँडा र पाखाहरुमा देवीदेवताहरुको बासंस्थान हो । यस्ता सम्पदा तथा आस्थाले आपराधिक गतिबिधिबाट हाम्रो गाउँ पूर्ण सुरक्षित छ ।

प्राचीन पौराणिक तथा पूरातात्विक इतिहास भएको अर्को धार्मिकस्थल र देवीदेवताहरुको बासंस्थानमध्यको महत्वपूर्ण र नेपालकै प्रचलित तीर्थस्थल हलेसी महादेवस्थान हो । हलेसी महादेव थानको महत्व र नाम कसरी रहन गयो भनेर केही पौराणिक कुरा गरौं । पौराणिक युगका भगवान कृष्णका दाजु बलराम घुम्दै यस ठाउँमा आइपुगेर शिबजीको मन्दिर बनाउने इच्छा हुँदा कुनै औंजार नपाएको हुनाले आफ्नै अस्त्र हलोले यो गुफा बनाएको हुँदा यसको नाम हलेश्वर हुँदै आखिरमा हलेसी रहन गयो भनेर शान्ता राईले स्नातकोत्तरको शोधपत्र (२०५८) मा उल्लेख गरेकी छन् ।  

हलेसी नाम रहनको अर्को यस्तै किम्वदन्ति छ, त्यो हो एउटा बृकासुर नामको राक्षसले भगवान शिवजीको दर्शनको लागि कठोर तपस्या गरेछ । कठोर तपस्याले शिवजीले दर्शन दिएछन् र भनेछन् लौ भन के वर माग्छौ ?

बृकासुरले म जस्को थाप्लोमा हात राख्छु उसको भष्म होस् भनेर वर मागेछ । शिवजीले तथास्तु भनेर बरदान दिएछन् । त्यसबेला पार्वती शिवजीको साथमा थिइन् । पार्वतीलाई देखेर मोहित भई बृकासुरले शिवजीलाई मार्न शिवजीकै थाप्लोमा हात राख्न खोज्दा शिवजी भाग्दै आफू लुक्न र राक्षसलाई झुक्याउन पहिले पहरा फोरी भित्र पसे र बाहिर जमीनमा निस्किए, त्यो पहिलो गुफा बसाहा गुफा हो । फेरि अलिकति तलबाट फेरि
हलेसी महादेव थानको मुख्य गुँफा
जमीनमा छिरे र भित्रै लुके यही नै महादेव गुफा हो । भगवान बिष्णुले मोहिनीको रुप धारणा गरी बृकासुर राक्षसलाई यही भेटेछन् । तिमीलाई भगवान शिवजीले दिएको बरदान झुठो हो नत्रभने आफनै टाउकोमा हात राखेर हेर तिमी मर्दैनौ भन्दा भगवान बिष्णुको कुराको विश्वास गरी बृकासुरले परीक्षण गर्न भनी आफ्नै टाउकोमा हात राख्दा आफै भष्म भएछन् । बृकासुर भष्म भएको खबर शिवजी लुकेको ठाउँमा विष्णुहरि पुगेछन् । शिवजी र विष्णु भेट भएको यो ठाउँको नाम त्यसबेला भेट भएकै कारणले हरिश्वर रहन गई हलीस्यश्वर हुँदै हलेसी रहन गएको तथ्य इतिहासकार ज्ञानमणि नेपालले (२०४०ः ३३१–३३२) उनको रचना निरुरत्तमा उल्लेख गरेका छन् । यो धार्मिकस्थल हाम्रो गाउँ खिरीबाट पाँच/छ घन्टा हिडेपछि पुगिन्छ र खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट ११ कोश पश्चिममा पर्दछ । यस महादेव थान ७० रोपनी क्षेत्रफलको बराबरको जमीनमा फैलिई समुद्रको सतहबाट ४,७३६ फिटको उचाइमा अबस्थित छ । 

नेपालकै महत्वपूर्ण तीर्थस्थल हलेसी महादेवस्थलको पूर्बपट्टि अलिक तल ५०० मिटर लामो एउटा सुरुङ छ । यसको नाम भैरब गुफा हो । यो सुरुङको मुख अकाशतिर २५० मिटर अग्लो भई गोलो आकार बनाई बाहिरिएको छ । यस सुरुङको भित्तामा प्रकृतिले नै बनाएका फुक्ने शंखहरु र थुपै्र धार्मिक आस्थासँग जोडिएका देवताका पहिचानहरु छन् । तिनीहरुमध्य कोही मानव निर्मित चित्रहरु छन् त कोही प्रकृतिले आफै निर्माण गरेका छन् । पुरातत्व बिभागले गरेको सर्बेक्षण अनुसार यस्ता चित्रहरु र स्वयम् हलेश्वर महादेवको
हलेसी महादेव थानमा लागेकोे मेला
अस्तित्व सात÷आँठ सय बर्ष अगाडि देखिको हो भनेर शान्ता राईले आफ्नो शोधपत्र (२०५८ः २८) मा दाबी गरेकी छन् । महादेव थानको पश्चिमपट्टि बसाहा गुफा गाईको कल्च्युँडो र थुनको आकृतिमा देखिन्छन् । बीचको एक अद्भूत प्राकृतिक बनोट भएको जमीनबाट १५० मिटर तल ११० वटा खुटकिला ओर्लिएपछि तल भुँइमा अवस्थित शिवलिङ्ग नै मुख्य हलेश्वर भगवान महादेवको मूर्ति तथा शिवलिङ्ग आकर्षक र मनमोहक देखिन्छ । भगवान महादेवको मूर्ति तथा शिवलिङ्ग नजिकै भित्तामा पापद्वार र धर्मद्वार, स्वर्गद्वार, कर्मद्वार र जन्मद्वार छन् । जानी नजानी अज्ञानताले पाप गरेको भए या धर्म कमाउने हेतुले र दुःखकष्ट निधान होस् भनेर यी साना र बाटुला र चेप्टा द्वारमा धर्मालम्वीहरु छिर्ने गर्दछन् । आपराधि क्रियाकलापमा लागेका ब्यक्तिहरु यी द्वारबाट अडकिन्छु भन्ने डरले छिर्न डराउँछन् ।

यस गुफाको दक्षिणपट्टि गौरापार्वताको थान मानी भगवानको आकृतिको मूर्तिलाई गौरापार्वती मानी पूजा गरिन्छ र आसपासमा नै गणेश, कुमार, ब्रम्हा इत्यादि देवताको मूर्तिको रुप मानी पूजा गरिन्छ । हिन्दूहरुको धर्मग्रन्थ अनुसार हलेसी महादेवको दर्शन गर्ने प्रमुख धार्मिक तिथि र दिनहरु बालाचतुर्दशी, शिवरात्रि, रामनवमी र माघेसक्रान्ति हुन् । यहाँ नेपालबाट मात्र होइन छिमेकी देशहरुका शिवशंकरका भक्तहरु वर्षमा दुई तीन पटक आई भगवान शंकरको दर्शन गरी आफूलाई धन्य ठानी फर्कन्छन् । हलेसी महादेवको गुफा भित्रै गई दर्शन गर्ने भक्तजनहरुको घुइँचो हुन्छ । यहाँ ५–७ दिन ठूलो मेला लाग्दछ । 

बालाचतुर्दशी र शिवरात्रीको दिन पाँच/छ दिनदेखि श्रदालुु भक्तजनहरु तिब्बत, जपान, कोरिया, बर्मा, भूटान थाइल्याण्ड, श्रीलंका, भारत र नेपालका सबै ठाउँका श्रद्धालु बौद्धमार्गीहरु यहाँ आई सकेका हुन्छन् । व्यापारी र भक्तजनहरु १०–१५ दिन अगाडि नै यहाँ आई आफ्नो ठाउँ सुरक्षित गरी व्यापार शुरु गरिसकेका हुन्छन् । बालाचतुदर्शीको दिन आफ्ना मरेर गएका पितृहरुको नाममा सत्बिज छर्नाले पितृहरुले सदगति, मुक्ति प्राप्त गर्ने र दरसन्तानहरुले मोक्ष, संतुष्टि र कर्तब्यनिष्ठ हुने प्रचलन हुँदा यो दिन यहाँ यस्ता श्रद्धालुहरुको खुब भीड लाग्छ । 

हलेसी माहादेवको दर्शन गरेका केही मेरा अनुभव छन् । भाकल पूरा गर्न भोजपुरका र सिक्देलका ठूलीआमाहरु, सानीआमाहरु र तिनका परिवार बालाचतुर्दशीको बखत लाखबत्ती बाल्न, लाख बेलपत्र चढाउँन र त्रिशुल चढाउँनको लागि हलेसी आउनुहुन्थो । बुबाआमा, म, ठूलीआमा, सानीआमा सँगै हलेसीको मेलामा १०–१२ जना बन्दोबस्तीका साथ दर्शन गर्न जान्थ्यौं । एउटा निश्चित ठाउँमा दीयो, कलश स्थापना गरी भजन, कीर्तन, बालुन र दोहोरी जुहारी गीत गाएर रात छर्लङ्ग बनाउँथ्यौं । बिहान उज्यालो हुनभन्दा अगाडि सतबिज छरी पूजाआज गथ्यौँ । युवायुवतीहरु ठाउँठाउँमा लोक गीत गाउँदै र नाँच्दै मेलाको दिन र रातलाई रंगिन बनाउँथे यही मेलामा म २–३ घण्टा हराउँथें ।

अब यहा पहिलेको जस्तो दुःखी र गरिब गाउँले हलेसी छैन । तर संस्कृति र परम्परा उस्तै छ । यहा पुग्न सामल र भरिया ढाकर कसेर तीर्थयात्रा गर्नु पर्दैन, बरु एकै दिनमा तराई र राजधानीबाट मोटर बाटोबाट एकै दिनमा पुगेर फर्कन सकिन्छ । खान र बास बस्नको लागि होटल र चमेनागृह प्रशस्त छन् । विशाल भवनहरु धमाधम बन्दैछन् र केही भवनहरु बनिसकेका छन् र बन्दैछन् तापनि सबै धार्मिक प्रवृत्तिको वातावरणको कमी छैन यहाँ । 

दोस्रो धार्मिकस्थल मान्केथान हो । पण्डित रविकान्त घिमिरे हौंंचुरवाट कुम्राङ्ग राईहरुले काश्यप गोत्रीय पण्डितको खोजी गरी मान्केश्वर शिवजीको स्थापना गर्न लगाई ब्रह्म पूजारी बनाए पछि मान्केश्वर शिवजीको स्थापना भएको हो । पण्डित रविकान्त घिमिरेले मान्केश्वर शिवजीको ब्रह्मपूजा गर्न थालेपछि स्थायी बसोबास
पल्लो खिरीमा अवस्थित मान्केश्वर थान
गर्न लगाएर चौदण्डी गढीका सेन राजाको हुकुम बक्स लिई माले मन्ने कुम्राङ्ग राईले पण्डित रविकान्तलाई मान्के विर्ता दिलाएको थियो । त्यसैले यसको नाम मान्के हुन गयो भन्ने भनाई छ । चित्रमा ठूलो बरको रुखमुनि देखिएको मान्केश्वर महादेवको मूर्ति प्रतिस्थापित  छ । वरिपरिका जग्गा जमीनहरु घिमिरे बन्धुहरुले अहिलेसम्म भोगचलन गर्दै आएका छन् । पारिवारिक संकट परेको बेला मान्केमा भाकल चढाई मान्केश्वर शिवलिङ्गको रुद्री, जप, पाठपूजा गरी भगवानलाई पुकारे पछि संकट र बिपत्तीबाट मुक्ति पाउने परिवारिक मान्यता छ ।

यहाँ प्रत्येक दिन कसै न कसैको शनि पूजा, थानी पूजा, कूल पूजा र देवी पूजा प्रत्येक महिना तथा हप्तामा भइरहन्थ्यो । यस्ता स्थानीय देवीदेवताहरुलाई भाकल पूरा गर्न बोका र परेवाको भोग लगाई पूजा अर्चना गर्ने प्रथा बारम्बार हुन्थ्यो । हाम्रो समुदायमा बिभिन्न जनजाति बर्ग, लिङ्ग र भेषभूषाबाट जनजातिहरुको संस्कृति र परम्परा बने पनि धार्मिक र सामाजिक मान्यताहरु भने सबैको एउटै थियो । त्यसैले मान्केमा भाकल गर्न र पूजा अर्चना गर्न सबै जनजातिहरुलाई समान अधिकार थियो । यस्तो मान्केश्वर शिवजीको शक्ति र मान्यता भएता पनि यहाँका संरक्षकहरु बसाइँसराइँ गरेर अन्यत्र गएका हुनाले तत्कालै संरक्षण र जिर्णोद्धार गर्नुपर्ने थुप्रै कामहरु बाँकी छन् । भक्तजनहरु बस्ने र पूजाआजा गर्ने ठाउँ सत्तलपाटी, स्थायी बारबेर गर्नुपर्ने, खानेपानीका धारोको व्यवस्था, नियमित सरसफाई र प्रचारप्रसारका कामहरु तत्काल गरिनु पर्ने छन् ।

चित्रमा देखिएको खिरी गाउँ अगाडिको र अर्खौले नजिकको मलाथुम्को डाँडा हो । हलेसी जान यसै डाँडा हुँदै यहाँबाट एक डेढ घण्टामा पुगिन्छ । यही डाँडालाई हलेसी दिक्तेल सडकले फेरो मारेको छ । अर्खाैले नजिक
मलाथुम्को डाँडा र यसको सेरोफेरो
मलाथुम्कोको फेदमा हलेसी महादेव थानबाट भश्मासुर राक्षसले महादेवलाई लखेट्दा महादेव भागेर यहाँ आई गुप्तबास बसेको हुनाले यहाँको महादेवको नाम गुप्तेश्वर महादेवको नामले यो ठाउँ प्रचलित छ । हलेसीमा बालाचतुर्दशी र शिवरात्रीमा भक्तजनहरु दर्शन गर्न जांदा यसैबाटोमा पर्ने हुँदा यहाँका महादेबको पनि दर्शन गरिन्छ ।

यस डाँडाबाट तल देखिने अर्काे डाँडाको अनकण्टार भिरमा मूर्तिसँगै जालपा देवीको थान छ । यहाँ नजिकैका बासिन्दाहरुले पानी नपरी लामो समयसम्म खडेरी लागेमा, बैशाखे र मंसिरे पूर्णिमामा भाकल गरी पूजाआजा गरेपछि पानी पर्ने भनाई थियो । 

बराहा पोखरी
ऐतिहासिक प्राकृतिक सम्पदा खोटाङ जिल्लाको सम्पत्तिमध्येको बराहा पोखरी हाम्रो गाउँबाट १६ कोश दक्षिणमा पर्दछ । बराहा गाउँ बिकास समितिको वार्ड नं. ६ मा पर्ने यो पोखरी ५ कि.मि. क्षेत्रफलमा फैलिएको छ । यस्तै धार्मिक सम्पदाहरुमध्यको बाराहापोखरी एउटा महत्वपूर्ण पर्यटक स्थल पनि हो । यहाँ बिशेषगरी हरिबोधनी एकादशीमा दुई दिनसम्म ठूलो मेला लागि पोखरीमा नुहाई यसको छेउमा रहेका महमाइ र शंखेश्वरेको थानमा पूजा आरधना गर्दा चिताएको पूरा हुने धर्माबलम्बीहरु विश्वास राख्दछन् । यस पोखरीमा संसारकै दुर्लभ प्रजातिको रातो माछा पाइन्छ । 
बराहा पोखरी
बुईपा बजार भन्दा अलिक तल श्री चम्पावती माध्यमिक विद्याालय नजिकै बरपीपलको चौताराको छेउ सानो बजारमा गणेश भगवानको ठूलो मूर्तिलाई थान बनाएर मन्दिर खडा गरिएको छ । श्रावण र भदौको बीचको औंसीको चतुर्थी (चौथी) अथवा तीजको दोस्रो दिन यस गणेश थानमा भगवान गणेशको ठूलो पूजाआजा गरी गणेशचौथी मनाइन्छ । बुईपा बजारभन्दा माथि नागीडाँडामा झुरुप्प रुखबिरुवा भएको ठाउँमा अर्को देवीको थान छ । यस थानमा पनि भक्तालुजनहरु बेलाबेलामा पाठा पाठी, परेवा, र कुखुरा देवीलाई भोग दिई पूजाआजा गरी मनको संतुष्टि लिन्छन् । बैशाखे पूर्णिमा र मंसीरको पूर्णिमा विशेष यस देवीथानको महत्व बढी हुन्छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post