sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » भूकम्पपीडितको घरमा पुगेनन् राजनीतिक दलका नेता

बैशाख–२३, निर्वाचनको बेला जनताको घरघरमा पुगेर भोट माग्ने नेताहरु यसपालीको महाभूकम्पमा गाउँ गएनन् । जनताको प्रतिनिधि भनेर चर्को भाषण गर्ने जिल्लाका नेताहरु जनतालाई आइपरेको महाबिपत्तीमा भने गाउँ नगएका हुन् । 

भाषणमा “हामी तपाईहरुको प्रतिनिधि हौं, जुनसुकै अवस्थामा हामीलाई सम्पर्क गर्नुस्, तपाईहरुको समस्या समाधान गरिदिन्छौं ।” भन्ने नेताहरु जनतालाई आइपरेको महाविपत्तीमा गाउँ नगएपछि नेताहरुप्रति सर्वसाधारण आक्रोशित भएका छन् । बैशाख–१२ गतेको बिनाशकारी भूकम्पले घर भत्किएर छाप्रोमा बसिरहुनभएकी डम्र्बखुशिवालय–१ की देविकुमारी रोईला भन्नुहुन्छ, “जिल्लाका नेताहरुको त के कुरा गर्नु, हामीले जिताएर पठाएको सभाषद्ले समेत हाम्रो पीडाका बारेमा बुझ्न नआउँदा दुःख लागेर आउँछ ! निर्वाचनको बेला मात्र दोहो¥याइतेह¥याइ आउँदा रहेछन् नेताहरु ।” उहाँले थप्नुभयो, “सबै कुरा घरभित्र थियो, घरै ढलेपछि सबैकुरा पुरियो । अहिले साँझबिहान हातमुख जोड्ने सामाग्री समेत नभएपछि झनै समस्या भएको छ ।”

भूकम्पले रोईलाको घर तथा घरमा भएका सम्पूर्ण सामाग्री ध्वस्त हुँदा लाखौंको क्षति भएको स्थानीयले जनाएका छन् । एक नगरपालिका र ७२ गाविस रहेको खोटाङ जिल्लामा झण्डै दुई हजार घर पूर्णरुपमा ध्वस्त भएका छन् । 

भूकम्पले घर तथा घरमा भएका सम्पूर्ण सामाग्री ध्वस्त भएपनि हालसम्म कोही आएर क्षतिको विवरण समेत लिने काम नगरेको महेश्वरी–८ का नन्दीकेशर वनले दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारी टोली त हाम्रो गाउँमा कहिले पो आइपुग्थ्यो र ! जनताको प्रतिनिधि हौं भन्ने राजनीतिक दलका नेताहरु समेत गाउँ नआएपछि कसलाई हाम्रो कुरा सुनाउनु र राहत पाइएला भन्ने आशा राख्ने ?”

आफुहरुसँग तत्काल दिने सामाग्री नभएका कारण तत्काल गाउँ जान नसकिएको एकीकृत नेकपा माओवादी खोटाङका सचिव दुर्गाजयन्ती राईले बताउनुभयो । पूर्व सभाषद् समेत रहनुभएकी राईले भन्नुभयो, “हामीसँग त केहीपनि थिएन, सबै कुरा राज्यले नै गर्ने हो । यसमा दैवीप्रकोप उद्दार समितिले समन्वय नगरेका कारण यस्तो समस्या आयो, तर, हामी आफ्नै पहलमा केही रकम संकलन गरेका छौं । त्यसबाट खरिद गरेको सामाग्रीसहित केहीदिनमै अति प्रभावित गाउँ हुँदै क्रमशः सबै ठाउँ जान्छौं ।”

भूकम्पले जिल्लामा ठूलो क्षति पु¥याएपछि जिल्ला दैवीप्रकोप उद्दार समितिले १३ समूह बनाएर राहत बितरण टोली परिचालन गरेको छ । जिल्लामा हालसम्म आएको बिबरण अनुसार एक हजार नौं सय ८४ घर ध्वस्त भएको जिल्ला दैवीप्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भूकम्पले पूर्णरुपमा घर ध्वस्त भएपछि विस्थापित परिवारको उद्दारका लागि जिल्लाबाट राहत सामाग्रीसहित टोली त परिचालन गरिएको छ, तर केन्द्रबाट राहत सामाग्री प्रयाप्त नआउँदा अप्ठ्यारो भएको छ ।”

भूकम्पले जिल्लामा मानवीय क्षति नभएपनि ठूलो मात्रामा भौतिक संरचना ध्वस्त भएको छ । बिनाशकारी भूकम्पले जिल्लाका तीन जना घाइते भएको उद्दार समितिमा तथ्याङ्क भएपनि घाइतेको संख्या धेरै रहेको स्थानीयको दावी छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post