sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » जयरामघाटको बेलीब्रिज तत्काल नझिक्न जिल्लाबासीको माग

जेठ–९, दुधकोशी नदीमा सञ्चालित अस्थायी बेलीब्रीज तत्काल नझिक्न सडक विभाग समक्ष जिल्लाबासीले माग गरेका छन् । भूकम्पपीडितका लागि आवश्यक राहत सामाग्री जिल्ला भित्र्याउनुपर्ने भएकाले तत्काल बेलीब्रिज नझिक्न सडक विभाग समक्ष जिल्लाबासीले माग गरेका हुन् । 

जिल्लाको प्रमुखद्धारमा रहेको उक्त अस्थायी बेलीब्रिज आगामी जेठ–१० गते झिक्ने विभागले निर्णय गरेपछि यस्तो माग गरिएको खोटाङ क्षेत्र–१ बाट निर्वाचित सभाषद् पाँचकर्ण राई ‘पिके’ले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपीडितका लागि जिल्लामा राहत सामाग्री ल्याउनेक्रम भर्खरैबाट सुरु भएको छ, उक्त अस्थायी बेलीब्रिज भिक्नासाथ जिल्ला अस्तव्यस्त हुने भएकाले आगामी जेठ मसान्तसम्म बेलीब्रिज नझिक्न विभाग समक्ष माग गरेका हौं ।” 

नदीमा पानीको सतह पनि नबढेका कारण बेलीब्रिजलाई कुनै असर नगर्ने भएकाले आगामी जेठ मसान्तसम्म बेलीब्रिज नझिक्न प्रशासनको तर्फबाट समेत विभागलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाको प्रमुखद्धारका रुपमा रहेको जयरामघाटमा हालिएको अस्थायी बेलीब्रीज झिकेपछि जिल्लाबाट राजधानी काठमाडौं लगायत सबै सहरसँग जिल्लाको सिधा यातायात सेवा बिच्छेद हुन्छ, त्यसैले राहत सामाग्री भित्र्याउन गाह्रो हुने भएकाले तत्काल नहटाउन प्रशासनको तर्फबाट अनुरोध गरिएको हो ।”

भूकम्पका कारण जिल्लामा आवश्यक दैनिक उपभोग्यवस्तु समेत भित्रउन बाँकी भएकाले जयरामघाटमा सञ्चालित अस्थायी बेलीब्रिज तत्काल नझिक्न अनुरोध गरिएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । उहाँले भन्नुभयो, “बेलीब्रिज झिकेपछि तराईबाट भित्र्याइने दैनिक उपभोग्य सामानहरु जयरामघाटमा झार्नु र चढाउनुपर्ने बाध्यता हुन्छ, त्यसैले आगामी जेठ मसान्तसम्म बेलीब्रिज नझिक्न आग्रह गरिएको हो ।”

जिल्लाबासीको अनुरोधलाई मध्यनजर गर्दै मौषमको अनुकुल हेरेर बेलीब्रिज झिकिने विभागका क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको समस्याका बारेमा हामी गम्भीर छौं, तर पनि मौषमले साथ दिएन भने, तत्काल झिक्न सुरु गरिनेछ ।”

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दुधकोसीमा सञ्चालित अस्थायी बेलीब्रिज प्रत्येक वर्षको हिउँदभर सञ्चालन गरिने र वर्षाको समयमा खोलेर राख्नेगरी जडान गरिएको हो । पाँच वर्षदेखि दुधकोसी नदीमा सञ्चालित अस्थायी बेलीब्रिज गत वर्ष जेठ मसान्तमा झिकिएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post