sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ‘कोलीफर्म’ नष्ट पार्न ब्लिचिङ पाउडर प्रयोग

जेठ–२८ । दिक्तेल नगरपालिकामा बिस्तार गरिएको खानेपानीमा ‘कोलीफर्म’ भेटिएपछि त्यसलाई नष्ट पार्न ब्लिचिङ पाउडर हालिएको छ । 

झण्डै १२ सय घर नगरबासीले उपभोग गर्ने खानेपानीमा दिसामा पाइने ‘कोलीफर्म’ नामक किटाणु भेटिएपछि पानीको मुहान तथा रिजर्भ ट्याङकीमा ब्लिचिङ पाउडर हालिएको हो । 

पानीमा देखिएको किटाणु नष्न पार्न खानेपानी विभागबाट प्राप्त ५० केजी ब्लिचिङ पाउडर हालिएको दिक्तेलबजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको सबै ट्याङ्कीमा ब्लिचिङ पाउडर हालिएको छ, यो दीर्घकालीन समस्या समाधान नभएकाले सबैले पानी उमालेर वा सुद्धिकरण गरेर मात्र उपभोग गर्नु होला !”

नगरपालिकामा बिस्तार गरिएको खानेपानीको मुहान खुला ठाउँमा रहेकाले यस्तो समस्या आएको खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङका प्रमुख विजयकुमार ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “यसको दीर्घकालीन समस्या समाधानका लागि प्राविधिक स्टमेट सहित विभाग समक्ष रकम माग गर्ने तयारी गरिएको छ, तत्कालका लागि वैकल्पिक विधि मात्र अपनाएका हौं ।”  

नगरपालिकामा बिस्तार गरिएको माझखोला खानेपानी आयोजनाको रिर्जभ ट्याङकीमा ३० प्रतिशत र रम्बाखोला खानेपानी आयोजनाको ट्याङकीमा ४० प्रतिशत किटाणु फेला परेको छ । उक्त मुहानबाट बिस्तार गरिएको खानेपानी फोहोर रहेको गुनासोपछि परीक्षण गर्दा दिसामा पाइने कोलीफर्म नामक किटाणु फेला परेको हो ।

पानीमा कोलीफर्म भेटिएको समाचार विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि मंगलबार साँझ प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले आपतकालीन बैठक बोलाएर तत्काल नष्ट पार्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो । प्रजिअ सापकोटाको अध्यक्षमा बसेको बैठकमा खानेपानी उपभोक्ता समितिले ब्लिचिङ पाउडर हाल्ने, खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले प्राविधिक सहयोग गर्ने, नगरपालिकाले पानी उमालेर मात्र पिउन वा सुद्धिकरणका उपायहरु अवलम्बन गर्न माईकिङ तथा सञ्चार माध्यबाट आग्रह गर्ने र उक्त पानीका मुहानहरुलाई दीर्घकालीन संरक्षणका लागि खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयले प्राविधिक स्टमेटको आधारमा विभाग समक्ष आवश्यक रकम उपलब्ध गराउन माग गर्ने निर्णय गरेको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष धनप्रसाद गिरीले बताउनुभयो । 

नगरपालिकामा बिस्तार गरिएको खानेपानीको मुहानदेखि माथिल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीयले खुला ठाउँमा दिसापिसाब गर्नाले यस्तो समस्या आएको उपभोक्ताहरुको गुनासो छ । आफ्नो धारामा आउने खानेपानीको पाइप ठाउँ–ठाउँमा फुटेको र ढलको फोहोर सोही पाइपमा मिसिएर आउने गरेको दिक्तेल नगरपालिका–२ का जयप्रसाद राईले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post