sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खानीडाँडा विमानस्थलमा शनिबारदेखि नियमित उडान

- ताराले हरेक मंगलबार र शनिबार तथा सिम्रिक एयरले हरेक बिहिबार उडान भर्ने 
- विमानस्थलमा कालोपत्रे सुरु गरिएपछि गत माघदेखि उडान बन्द गरिएको थियो ।

खोटाङ, असार १८ । कालोपत्रेको काम सकिएसँगै खोटाङको खानीडाँडा विमानस्थलमा नियमित उडान हुने भएको छ । सदरमुकामबाट सबैभन्दा नजिकरहेको मनमायाँ राई खानीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएलगत्तै शनिबारदेखि तारा एयर र सिम्रिक एयरले नियमित उडान गर्ने भएको हो । 

गत मंगलबार मात्र तारा एयरको विमानले परीक्षण उडान भरेको खानीडाँडामा तारा र सिम्रिक एयरले नियमित उडानका लागि तालिका सार्वजनिक गरेको विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार ताराले हरेक मंगलबार र शनिबार तथा सिम्रिक एयरले हरेक बिहिबार उडान भर्ने टुङ्गो लागेको छ । 

नेपाल एयरलाईन्सले भने हालसम्म उडान तालिकाबारे जानकारी नदिएको अध्यक्ष घिमिरले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल एयरलाइन्सले तालिका सार्वजनिक गरेको छैन, तर उसले पनि चाँडै नियमित उडान भर्ने तयारी गरेको बुझिएको छ ।”

खोटाङबासीको पहलमा निर्माण गरिएको विमानस्थलमा कालोपत्रे सुरु गरिएपछि गत माघदेखि उडान बन्द गरिएको थियो । कालोपत्रेका काम गर्नुअघि नेपाल एयरलाइन्सले खानीडाँडामा हरेक आईतबार, मंगलबार र शुक्रबार उडान भर्दै आएको थियो ।

कालोपत्रेको काम सम्पन्न भएसँगै विमानस्थलमा नियमित उडान हुनेभएपछि जिल्लावासी उत्साहित बनेका छन् । सदरमुकामबाट नजिक भएपनि कालोपत्रे नहुँदा खानीडाँडामा रहेक वर्षको वर्षाभर उडान बन्द हुने गरेको थियो । 

जिल्लाको खानीडाँडा, लामीडाँडा र थामखर्क विमानस्थलहरुमध्ये खानीडाँडा विमानस्थल सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्छ । यसमा नियमित उडान भर्नका लागि नागरिक उड्यन प्राधिकरणसमक्ष प्रशासनको तर्फबाट समेत अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “खोटाङ जिल्ला तराईसँगको सिधा यातायात सेवाबाट विच्छेद भएको छ, यसले गर्दा सबैभन्दा बढि जिल्ला अस्पतालबाट रेफर भएका बिरामीलाई सास्ती हुने भएकाले नियमित उडान भर्न अनुरोध गरेका हौं ।”

लामा बिल्डर्स/च्याङमिला कन्ट्रक्सनले जिम्मा लिएको विमानस्थलको लम्बाई ५९० र चौडाई २० मिटर रहेको छ । नेपाल नागरिक उड्यान प्राधिकरणको रु.७ करोड २४ हजार ३८० रुपैयाँ लागतमा विमानस्थल कालोपत्रेको काम सम्पन्न भएको हो ।

२०७२ जेठ–१५ गतेभित्र सम्पन्न गर्नेगरि २०६९ असोज–१५ गते विमानस्थल कालोपत्रेका काम गर्नका लागि दुईपक्षीय सम्झौता भएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post