sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » खोटाङका बाढीपीडितका लागि राहत माग्दै गृहमन्त्रालयमा डेलीगेशन

खोटाङ, २८ असार । जिल्लाका बाढीपीडितका लागि खोटाङबासीले गृहमन्त्री समक्ष राहत माग गरेका छन् । सभाषद विशाल भट्टराईको पहलमा सभाषदहरु पाँचकर्ण राई, सरस्वती बजीमय, रामकुमार राई नेतृत्वको टोलीले सोमबार गृहमन्त्रालय पुगेर बाढीपीडितका लागि राहत माग गरेका हुन् ।

उनीहरुले गृहमन्त्री बामदेव गौतमलाई मागपत्र बुझाउँदै गत असार–१९ गतेको बाढीपहिरोले विस्थापित भएका परिवारलाई तत्काल राहतको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका छन् । खेतबारी, धान, मकै, आलु, अलैंची लगायतका बालीनाली, चौपाय, विद्युतको पावरहाउस, पुल, कुलो बगेर बिचल्लीमा परेकाले पीडितका लागि राहतको माग गर्दै गृहमन्त्रालय पुगिएको नेकपा एमालेका वैकल्पीक केन्द्रीय सदस्य राजन राईले बताउनुभयो ।

टोलीकातर्फबाट सभाषद् भट्टराईले मागपत्र वाचन गरेर गृहमन्त्री गौतमलाई बुझाउनुभएको राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जिल्लामा बाढीपहिरोले भूकम्पले भन्दा ठूलो क्षति पु¥याएको छ, त्यही भएर राहत माग गर्दै गृहमन्त्रालय पुगेका हौँ ।”

गृहमन्त्री गौतमले बाढिपहिरो पीडितका लागि सहयोग गर्ने आश्वसन दिनुभएको डेलीगेशन टोलीले जनाएको छ । जिल्लाका बाढीपहिरो पीडितको उद्धार र सहयोगका लागि राजधानीमा सशस्त्र प्रहरीका पूर्वमहानिरिक्षक सनतकुमार बस्नेतको संयोजकत्वमा १३ सदस्यीय साप्सु–तावा खोला बाढीपीडित सहयोग समन्वय समिति गठन गरिएको जनाइएको छ ।

वर्षापछि तावा खोलामा आएको बाढीमा मात्तिम–५ की ४० वर्षीया परीमायाँ राई र उनकी छोरी १२ वर्षीया समिता राई हालसम्म बेपत्ता छन् । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलमा पुगेर खोजी कार्य गरिरहेका छन् ।
वर्षाका कारण आएको भलबाढी र पहिरोले खिदिमा, मात्तिम, बाँझेच्यानडाँडा, रतन्छा लगायतका गाविसमा दर्जनौं घर विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्ला दैविप्रकोप उद्धार समितिले प्रभावित क्षेत्रका दुई सयभन्दाबढि किसानलाई राहतका लागि केन्द्रीय दैविप्रकोप उद्धार समिति समक्ष सिफारिस गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post