sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » एक सिंगे गैंडालाई राष्ट्रिय जनावर राख्न खोटाङबाट सुझाव

खोटाङ ५ साउन । संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन गर्न अर्खौलेमा आयोजित कार्यक्रममा शिक्षक खगेन्द्र राईले राष्ट्रिय जनावर फेर्न सुझाव दिए। बुईपाबाट मस्यौदामाथि सुझाव दिन हिलाम्मे सडकमा चिप्लिँदै आइपुगेका राईले एकसिंगे गैंडा नेपालबाटै लोपोन्मुख बनेकाले त्यसैलाई राष्ट्रिय जनावर बनाउन राय दिएका हुन्।

गाई हिन्दु धर्मावलम्वीसँग मात्र सम्बन्धित भएको र राप्रपा नेपालको चुनाव चिह्नसमेत रहेकाले गाईको सट्टा एकसिंगे गैंडालाई राष्ट्रिय जनावर बनाउनुपर्ने राईको सुझाव छ। 'राष्ट्रिय जनावरलाई विवादित बनाउनु हुँदैन,' शिक्षक राईले भने, 'बरु लोपोन्मुख बन्दै गएको एक सिंगे गैंडालाई राष्ट्रिय जनावर बनाइयो भने सान्दर्भिक र विवादरहित हुन्छ।' कतिपय सहभागीले उनको सुझावमा समर्थन जनाए। आफ्नो सुझावको सूचीमा उनले शिक्षक सेवा आयोगलाई संवैधानिक आयोग बनाउनुपर्ने पनि थपे।

मंगलटारबाट कार्यक्रमस्थल पुगेका कांग्रेस नेता इवन राईले पनि शिक्षक राईको भनाइमा समर्थन जनाए। 'राष्ट्रिय जनावरलाई विवादरहित बनाउनुपर्छ,' कांग्रेसका संगठन विभाग प्रमुख रहेका राईले भने, 'संविधानले राष्ट्रिय जनाबर हामी सबैको हो भन्ने बनाउनुपर्छ।' उनले संविधानमा दोहोरो अर्थ लाग्ने शब्द हटाउन र सबै भाषा, धर्म, जातजातिको भावना समेटिनुपर्ने राय पेस गरे। सहभागीको लिखित र मौखिक सुझावलाई नोट गरेर टिपिरहेका थिए मञ्चमा बसिरहेका सभासद पिके राई, सरस्वती बजिमय र जेबी टुहुरे।

यस्तै, चार घन्टा ट्र्याक्टर चढेर कार्यक्रमस्थल पुगेका डुम्रेधारापानी–९, भोर्लेनीका पहलमान मगरले गाउँपालिका, नगरपालिकालगायत निकायमा अपांगका लागि आरक्षण व्यवस्था हुनुपर्ने सुझाव दिए। संविधान मस्यौदाका विषयमा सुझाव दिन आउनेमा गाविसबाटै उनी एक्ला हुन्। संविधान मस्यौदामा अपांगको हक–अधिकारलाई कमजोर रूपमा प्रस्तुत गरिएको उनको भनाइ छ। 'गाविसबाट सुझाव दिन आउने म एक्लो भएछु,' अपांगता भए पनि शिक्षण पेसामा संलग्न मगरले भने, 'मस्यौदा पनि कार्यक्रम स्थलमै आएर हेर्न पाइयो।'

कार्यक्रममा विजयखर्कबाट पुगेका एमालेका नेता उदयबहादुर कार्की, च्यास्मीटारबाट आएका एमाओवादी नेता संगीन राईलगायत २५ जनाले मौखिकरूपमा आ–आफ्नो सुझाव दिए। दुई सय हाराहारीमा उपस्थिति रहेको कार्यक्रममा सुझाव दिनेको पंक्तिमा धेरैजसो दलका स्थानीय कार्यकर्ता र शिक्षक बढी देखिए। सर्वसाधारणको उपस्थिति कम भएपछि सुझाव दिनेको सूचीमा उनीहरुको संख्या बढी देखिएको हो। अर्खौलेमा क्षेत्र १ का ३५ गाविसका नागरिकलाई सुझाव दिनका लागि बोलाइएको थियो। भौगोलिक विकटता र वर्षायामका कारण सबै गाविसबाट अपेक्षितरूपमा सर्वसाधारणको उपस्थिति रहन सकेन। 'सबै किसान खेतीपातीमा व्यस्त छन्, मौसम अनुकूल नभएका कारण उपस्थिति कम देखिएको हो,' कांग्रेसका संगठन विभाग प्रमुख राईले भने, 'ठूलो क्षेत्रको सुझाव संकलन गर्न एउटा मात्र केन्द्र ताकिनु हुन्नथ्यो, कम्तीमा चार/पाँच वटा केन्द्र बनाएको भए उपस्थिति बाक्लो हुन सक्थ्यो।'

अर्खौलेमा सहभागीले संविधानको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान राख्नुपर्ने, राष्ट्रपतिको उमेर ४० देखि ६० वर्षको तोकिनुपर्ने, रोजगारमूलक पेसा–व्यवसाय गर्ने युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने, चेलीबेटी बेचबिखनमा संलग्न र बालबालिकामाथि यौन दुर्व्यवहार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने, गाउँ, जिल्ला र केन्द्रमा युवा परिषदको व्यवस्था गर्नुपर्ने सुझाव दिएको खबर नागरिकमा छ ।

आइतबारै चिसापानीमा सभासद विशाल भट्टराईले मस्यौदामाथि सुझाव संकलन गरेका छन्। सुझाव दिने अवसरबाट सकेसम्म सबै जनतालाई नछुटाउनका लागि चिसापानीमा सुझाव संकलन गर्ने व्यवस्था मिलाएको भट्टराईले बताए। चिसापानीमा आयोजित कार्यक्रममा २१ जनाले लिखित र ३५ जनाले मौखिक सुझाव दिएका छन्। सकेसम्म संघीय प्रदेश कम बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने, मस्यौदामा उल्लेख भएअनुसार बेरोजगार भत्ता दिन नहुने, जनजाति आयोगको व्यवस्था गरिनुपर्ने, धार्मिक निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता उल्लेख गर्नुपर्ने, दलबाट अलग राखेर पेसागत संगठन बन्ने व्यवस्था मिलाउनुपर्ने सुझावस हभागीले दिएका छन्।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post