sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » धान खेत मासेर अलैंची रोप्दै खोटाङका कृषक

साउन–२२, जिल्लाका कृषकहरु अलैंची खेतीप्रति आकर्षित बन्दै गएका छन् । अन्य खेतीभन्दा अलैंचीबाट राम्रो आम्दानी हुन थालेपछि कृषकहरु यसप्रति आकर्षित भएका हुन् ।

गत वर्ष मात्रै जिल्लाबाट ८० करोड बढीको अलैंची निकासी भएपछि कृषकहरुले धान खेत मासेर भएपनि अलैंची खेती गर्न थालेको जिल्ला कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । “जिल्लामा अन्य खेतीभन्दा अलैंचीले राम्रो बजार मुल्य पाउन थालेको छ ।” उहाँले भन्नुभयो, “त्यसैले कृषकहरु धान खेत मासेर धमाधम अलैंचीको बिरुवा रोप्न थालेका छन् ।”

यस वर्ष जिल्लाको उत्तरी गाविस फेदी, ऐसेलुखर्क, सुङ्देल, बाक्सिला, पाथेका, खार्मी, जालपा, हौंचुर, खार्पा लगायतका धान खेती हुने ठाउँमा लाखौं अलैचीको बिरुवा रोपिएका छन् । त्यस्तै जिल्लाको पूर्वी गाविस बाँझेच्यानडाँडा, खिदीमा, निर्मलीडाँडा, रतन्छा, दोर्पाचिउरीडाँडा, नेर्पा लगायतका गाविसमा पनि लाखौं विरुवा रोपिएका छन् । 

जिल्लाको दक्षिणी गाविस चिप्रिङ, बोपुङ, डम्बर्खुशिवालय, बड्कादियाले लगायतका गाविसमा पनि लाखौं विरुवा रोपिएको अलैंची व्यवसायी संघ खोटाङका अध्यक्ष वीरबहादुर तामाङले बताउनुभयो । “यसलाई व्यवसायिक रुपमा विकास गर्न हामी एक भएर लागी परेका छौं ।” अध्यक्ष तामाङले भन्नुभयो,  “यसप्रति राज्यको पनि लगानी भएमा जिल्लाको आर्थिक उन्नती सम्भव हुन्थ्यो ।”

जिल्लाको ७२ गाविस र एक नगरपालिकामध्ये ६४ गाविस र एक नगरपालिकामा अलैची खेती गरिन्छ । कृषि विकास कार्यालयको रेकर्डमा आठ सय ७५ हेक्टरमा चार सय ३७ मेट्रिकटन अलैची उत्पादन हुने गरेको पाइएको छ । 

अलैंचीबाट राम्रो आम्दानी हुन थालेपछि गाउँ–गाउँमा विरुवा उत्पादन गरी किसानले लगाएका छन् । यस वर्ष पोहोरको तुलनामा दोब्बर अलैंची उत्पादन हुने बाँझेच्यानडाँडाका अलैंची कृषक रघुनन्द राईले बताउनुभयो ।

जिल्लाबाट करोडौंको अलैंची निकासी सुरु भएपछि खोटाङस्थित जिल्ला विकास समितिले निकासी कर लागू गरेको छ । गत वर्षको जिल्ला परिषद्ले पारित गरेअनुसार प्रतिकेजी चार रूपैयाँले निकासी कर लिने तयारी गरिएको स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटाले बताउनुभयो ।

यसअघि खोटाङको निकासी कर भोजपुर, उदयपुर, धनकुटा, सुनसरी, झापाबाट लिने गरिएको थियो । यो वर्षदेखि जिल्लामै निकासी कर सङ्कलन हुने भएपछि त्यसले जिल्लाको विकासमा ठूलो टेवा पुग्ने सापकोटाको भनाइ छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post