sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » फरार अभियुक्त धमाधम पक्राउ

खोटाङ, २७ भदौ । जिल्ला प्रहरी कार्यालय खोटाङले महिना दिनयता दैनिकजसो फरार अभियुक्तलाई पक्राउ गरिरहेको छ । जिल्लामा भएका विभिन्न प्रकृतिका घटनामा संलग्न रही फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले धमाधम पक्राउ गर्न थालेको हो । 

प्रहरीले गत भदौ–१ गतेदेखि अहिलेसम्म जिल्लाका विभिन्न घटनामा संलग्नरही फरार रहेका २१ जना अभियुक्तलाई पक्राउ गरी सकेको छ । प्रहरी नायब उपरीक्षक विद्यानन्द माझी गत भदौ १ गते कार्यालय प्रमुखका रुपमा खोटाङ आएलगत्तै फरार अभियुक्त पक्राउ गर्न विशेष अभियान थाल्नुभएको हो । 

प्रहरीले दिएको जानकारी अनुसार ज्यान मार्ने उद्योगको मुद्दा लागेका ५, सार्वजनिक अपराधका ६, जबरजस्ती करणी १, कर्तव्य ज्यान १, गाली बेइजती ३, कुटपिट १, बहुविवाह २, वन पैदावार चोरीनिकासी १ र ठगी मुद्दाका १ जना पक्राउ परेका छन् । जिल्लाका विभिन्न ठाउँबाट पक्राउ परेका फरार अभियुक्तहरु नौं महिनादेखि २० वर्षअघिका घटनामा संलग्न रहेका छन् । 

पक्राउ परेका सबै जनालाई जिल्ला अदालत खोटाङले कैंद सजाय सुनाइ सकेको छ । उनीहरुलाई पक्राउ गर्नासाथ अदालतमा हाजिर गराएर कारागार पठाइएको प्रहरीले जनाएको छ ।

तनहुँको दमौलीबाट सरुवा भएर खोटाङ आउनुभएका माझीले जिल्लामा हुने घटनामा कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । “नागरिकलाई सुरक्षा दिनु प्रहरीको कर्तव्य हो ।” उहाँले भन्नुभयो, “समाजमा बितण्ड मच्याउने जो कोहीमाथि कानूनी कारबाही हुन्छ, यसमा कसैसँग सम्झौता गरिने छैन ।”

खोटाङ आउनासाथ माझीले जिल्लास्थित राजनीतिक दल तथा सरोकारवाला सबैलाई भेला गरेर प्रहरीलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ । राजनीतिक दलका कार्यकर्ताको नाममा कानून बिपरित गर्नेलाई कारबाही गर्नमा अवरोध नगर्न उहाँले अनुरोध गर्नुभएको हो ।

फरार अभियुक्त धमाधम पक्राउ पर्न थालेपछि द्धन्द्धहिनता न्युनिकरण हुनेमा जिल्लावासी आसावादी बनेका छन् । पछिल्लो समय जिल्लामा हुने द्धन्द्धहिनताका घटनामा समेत न्युनिकरण हुँदै गएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post