sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » काकीद्धारा बिष खुवाइएका बालकलाई उपचार खर्च अभाव

भदौ–१७,  काकीद्धारा बिष खुवाइएका खोटाङका एक बालकको उपचारमा खर्च अभाव भएको छ । दोर्पाचिउरीडाँडा–७ की २२ वर्षीया बिमला भट्टराईले खुवाएको बिषका कारण गम्भीर बिरामी परेका ४ वर्षीय भतिजा युशन भट्टराईको उपचारमा खर्च अभाव भएको हो ।

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार गराइरहेका युशनको स्वास्थ्यमा केही सुधार आएपनि अझै चार वर्ष अस्पतालमै राख्नुपर्ने भएकाले खर्च अभाव भएको बुबा युवराज भट्टराईले बताउनुभयो । “अहिलेसम्म साँढे पाँच लाख रुपैयाँभन्दा बढी खर्च भइसक्यो ।” उहाँले भन्नुभयो, “अस्पतालले अझै चार वर्ष यही राख्नुपर्छ भनेको छ, खर्च अभावले छोराको जीवन बचाउन गाह्रो हुने भो ।”

बिष खुवाइएका बालकको उपचारमा सहयोगको निवेदन आएकाले समितिको तर्फबाट पाँच हजार रुपैयाँ उपलब्ध गराइएको जिल्ला बाल कल्याण समिति खोटाङका बाल अधिकार अधिकृत रविन राईले बताउनुभयो । “बालकको आफन्तले उपचार खर्च उपलब्ध गरिदिन हुन भनेर कार्यालयमा निवेदन दिएका थिए ।” उहाँले भन्नुभयो, “उनको आर्थिक अवस्था पनि कमजोर भएकाले पाँच हजार रुपैयाँ सहयोग गरेका हौं ।”

काकीले खुवाएको बिषका कारण गम्भीर बिरामी परेका युशनलाई जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि थप उपचारका लागि हवाईजहाजमार्फत काठमाडौं लगिएको थियो ।

घरमा जेठाजुसँग भएको विवादपछि गत साउन १० गते सँगै विद्यालय गएका भतिजालाई बिमलाले मुसा मार्ने बिष खुवाएकी थिइन् । बिमला युशन पढ्ने सोही गाविसको सिर्जनशिल बोर्डिङ स्कूलको शिक्षिका हुन् ।

बिमलाले खाजा खाइसकेपछि ड्युको बोत्तलमा मुसा मार्ने बिष घोलेर खान दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनापछि बिमलालाई साउन ११ गते पक्राउ गरेर अनुसन्धान गर्दा उनीले भतिजालाई मार्ने उद्देश्यले मुसा मार्ने बिष खुवाएको बताएकी प्रहरीले जनाएको छ ।

घरैबाट पक्राउ परेकी उनीविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको छ । घटना लगत्तै पक्राउ परेकी बिमलालाई जिल्ला अदालत खोटाङको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।

घरमा बुबासँग भएको अंश विवादपछि बुहारीले यस्तो व्यवहार गरेको पीडित बालकका बुबा युवराजले बताउनुभएको छ । “यसअघि बुबाले हामी छोराहरुको नाममा नभइ कान्छी बुहारीको नाममा जग्गा पास गर्ने तयारी गर्नुभएको रहेछ ।” उहाँले भन्नुभयो, “त्यो कुरा मैले थाहा पाएपछि मालपोत कार्यालयमा गएर रोक्का गरेँ ! त्यसैको झोकमा बुहारीले मेरा नाबालक छोरालाई बिष खुवाइ दिइन् ।”

युशन आफ्नो एक मात्र सन्तान भएको युवराजले बताउनुभएको छ । उहाँले भन्नुभयो, “तीनवटी श्रीमतीकी एउटा छोरा, त्यो पनि यस्तो अवस्थामा हुँदा दुःख लागेर आउँछ !”

स्थानीयका अनुसार दोर्पाचिउरीडाँडा–७ का रामप्रसाद भट्टराईका छ भाइ छोरा छन् । तीमध्ये कान्छा छोरा मोहन भट्टराई र बुहारी बिमलासँग बुबा रामप्रसाद बस्दै आएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post