sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » विकास निर्माण ढिलासुस्तीप्रति उद्योग वाणिज्य संघको चासो

खोटाङ, २७ भदौ । विकास निर्माणमा भइरहेका ढिलासुस्ती अन्त्यका लागि खोटाङ उद्योग बाणिज्य संघले चासो देखाएको छ । बिशेषगरी जिल्लामा सञ्चालित सडक तथा पुल सम्बन्धी ठूला बिकासे योजनाहरुमा भइरहेको ढिलासुस्तीप्रति बाणिज्य संघले चासो देखाएको हो ।

 ठेक्का लागेको बर्षौँ बित्दा समेत सडक तथा पुल निर्माण नहुँदा सर्वसाधारण मारमा परेको भन्दै बाणिज्य संघले जिल्लाका बिकासे अड्डा, राजनैतिक दलका नेता, सम्बद्ध ठेकेदार, व्यवसायी, नागरिक समाज लगायतलाई एक ठाउँमा भेला गरेर ध्यानाकर्षण गराएको छ । ‘छिटो र गुणस्तरिय बिकासकालागि जिल्लास्थित सरोकारवालाको भूमीका’ बिषयक अन्तरक्रीया गरेर संघले खोटाङ र ओखलढुंगाको जयरामस्थित दुधकोसीको मोटरेबल पुल र साप्सु खोलाको मोटरेबल पुल निर्माणमा भइरहेको ढिलाईको अन्त्यकालागि सबै सरोकारवालालाई सचेत गराएको छ । 

संघका अध्यक्ष राजेन्द्र लयालुले जयराम–हलेसी सडकको पिच उक्किसकेको, हलेसी–दिक्तेल सडक, दिक्तेल–चखेवाभञ्ज्याङ सडकको कालोपत्रेका काममा ढिलाइ भइरहेको, पिच गरेको केही महिना नबित्दै खानीडाँडा बिमानस्थलको पिच उक्किन थालेको र खाल्डाखुल्डी भएको, दिक्तेलमा दुई वटा बसपार्क निर्माण बनेपनि व्यवस्थापन हुन नसकेको बिषयमा राजनैतिक दल, प्रशासन, जिल्ला बिकास समिति र नगरपालिकाको ध्यानाकर्षण गराए । लयालुले वर्षा सकिएलगत्तै दुधकोसीस्थित जयरामघाट र फोक्सिङटारस्थित सुनकोसीको अस्थायी बेलिब्रिज तत्काल सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन, दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माणकालागि पहल थाल्न ध्यानाकर्षण गराए ।

 ‘जयरामघाटको पुल सम्झौता मिति सकिएको तीन वर्षसम्म बन्न सकेको छैन, पिच गर्ने भनिएको सडकको काममा ढिलाई भइरहेको छ,’ अध्यक्ष लयालुले भने, ‘ठेकेदारको यस्तो लापरबाहीलाई हामीले कहिलेसम्म सहिरने ? जिल्लाबासीको हितमा अव बोल्ने की नबोल्ने ?’ ठूला बिकास निर्माणमा भइरहेका ढिलासुस्ती एबं कम गुणस्तरप्रति चासो कम भएको भन्दै बाणिज्य संघले सरोकारवालाई एक ठाउँमा भेला पारेको हो । कार्यक्रममा हलेसी–दिक्तेल सडक पिचको काम जिम्मा लिएका ठेकेदार कम्पनीका प्रतिनिधि तथा साप्सु खोला पुलको ठेक्काको जिम्मा लिएका ठेकेदारलाई उभ्याएर तोकिएको समयमा काम पूरा गर्न प्रतिबद्धता जनाउन लगाइएको थियो । 

बिकास निर्माणमा भइरहेका ढिलासुस्ती र कम गुणस्तरका बिषयमा रखवारी गर्न संघको पहलमा स्थानीय शान्ति समितिका संयोजकको नेतृत्वमा दवाब समिति बनाउने टुंगो लागेको छ । बिकास निर्माणका सवालमा भइरहेका ढिलासुस्तीप्रति जागरुकताको बिकासकालागि संघले अन्तरक्रीयाको बन्दोबस्त मिलाइएको हो । ‘बिकास निर्माणमा भइरहेका लापरबाहीका बिषयमा किन हामी चुप बस्छौँ,’ लयालुले भने, ‘ठेकेदारको लापरबाहीले सर्वसाधारणले खेप्नु परेको आर्थिक भारको जिम्मा कसले लिने ?’ 

बजार बन्द तथा हड्ताल अन्त्या गर्ने प्रयास बिफल 
बजार बन्द तथा हड्ताल अन्त्याकालागि खोटाङ उद्योग बाणिज्य संघले गरेको प्रयास भने बिफल भएको छ । बन्दले जिल्लाको बिकास निर्माण तथा नागरिकको जीवनयापनमा समस्य पु¥याउने भएकाले सँधैकालागि बन्द हड्ताल अन्त्यकालागि प्रस्ताब गरेको थियो । बन्द अन्त्याकालागि बाणिज्य संघको प्रस्ताब प्रत्यक्ष वा अप्रत्यक्षरुपमा अस्वीकृत भएको छ । कांग्रेस र एमालेले आफुहरु बन्द र हड्तालको बिपक्षमा रहेको जवाफ दिए । भने, एमाओबादी, राप्रपा नेपाल, संघीय समाजबादी फोरम, राप्रपा, नेपाल कम्यूनिष्ट पार्टी, नेकपा माओबादी, खम्बुवान राष्ट्रिय मोर्चाका नेताहरुले बन्दको पक्षमा वकालत गरे । ‘सत्ताको ध्यानाकर्षणकालागि बन्द पनि एउटा बिधि हो,’ एमाओबादी नेतृ दुर्गाजयन्ती राईले भनिन्, ‘बन्द हड्ताल जनतालाई दुःख दिनेकालागि नभै अधिकारको लागि गरिने हो भन्ने बुझिदिनु पर्छ ।’ 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post