sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » प्राचार्यको राजीनामा माग्दै शिक्षकहरुको अनिश्चितकालीन धर्ना

खोटाङ,  असोज–१४, प्राचार्यको राजीनामा माग्दै खोटाङको खार्पास्थित शारदा उच्च माविका शिक्षकहरु अनिश्चितकालीन धर्नामा बसेका छन् । दुई वर्षअघि प्राचार्यमा नियुक्त अर्जुन श्रेष्ठको राजीनामा माग गर्दै शिक्षकहरु बुधबारदेखि अनिश्चितकालीन धर्नामा बसेका हुन् ।

शिक्षा नियमावली विपरित प्राचार्यमा नियुक्त गरिएका श्रेष्ठले अहिलेसम्म आर्थिक पार्दशिता नगरेको, विद्यालयमा अनुपस्थित शिक्षकलाई कारबाही नगरेको, विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोपली गरेको, रिक्त दरबन्दीमा पदपूर्तीका लागि चासो नदिएको लगायतका धेरै कमजोरी गरेका कारण राजीनामा माग गरिएको शिक्षक गोपाल बस्नेतले बताउनुभयो । “यहाँ कार्यरत शिक्षकहरुमध्ये उहाँ कनिष्ठमा पर्नुहुन्छ ।” उहाँले भन्नुभयो, “प्राचार्य भएर आउनुभएकोमा विद्यालयको हितका लागि हामीले बिरोध गरेनौं । अहिले आएर विद्यालय नै संकटमा परेपछि राजीनामा माग गरेका हौं ।”

३१ जेठ २०७० मा प्राचार्य भएर आएका श्रेष्ठ धेरैजसो विद्यालय नआउने शिक्षकहरुले बताएका छन् । शिक्षकहरुले थालेको आन्दोलनमा अभिभावक तथा विद्यार्थीले पनि साथ दिएका छन् ।

शिक्षकहरुले आन्दोलन सुरु गरेपछि पाँच बुदे माग राख्दै विद्यार्थीले पनि आन्दोलन घोषणा गरेका छन् । विषय शिक्षक राखिनुपर्ने, समयमै पाठ्यपुस्तकको व्यवस्था गरिपर्ने, आफूले पाउँदै आएको छात्रवृत्ति तत्काल उपलब्ध गराइनुपर्ने लगायतका माग राख्दै विद्यार्थीहरु पनि आन्दोलित भएका हुन् ।

आफू विद्यालयमा नभएको मौकी पारेर राजनीतिक दम्भको भरमा उनीहरुले झुटो आरोप लगाएको प्राचार्य श्रेष्ठले बताउनुभएको छ । “अहिले म व्यक्तिगत कामका लागि काठमाडौं आएको छु ।” उहाँले भन्नुभयो, “म फर्कनासाथ सबै कुरा समाधान हुनेछ ।”

शिक्षकहरुको मागका विषयमा त्रीपक्षीय छलफलमा बसेर समाधान खोजिने जिल्ला शिक्षा अधिकारी केशव दाहालले बताउनुभयो । “म भर्खरै आएको भएकाले सबै कुरा थाहा छैन ।” उहाँले भन्नुभयो, “पठनपाठन बन्द गर्न पाइदैन । कक्षा सञ्चालन गरेर छलफलमा आउन भनेको छु ।”

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post