sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » कर्मचारीको गल्तिले गणेशप्रसादको उमेर १७६ वर्ष

खोटाङ, असोज । खोटाङको दक्षिणी गाबिस खोटाङबजार–७ राटमाटाका गणेशप्रसाद गेलाल उमेरले ७६ वर्षका हुनुभयो । जन्मेको मितिलाई आधार मान्ने हो भने गाविसमा उहाँभन्दा अन्य ज्येष्ठ नागरिक छन् । तर उहाँको नागरिकतामा उल्लेख भएको जन्म मितिलाई आधार मान्ने हो भने गाबिसमा मात्र नभएर बिश्वकै ज्येष्ठ नागरिकमा उहाँको नाम पर्न सक्छ ।

२०४२ सालमा जारी भएको गेलालको स्थायी नागरिकतामा जन्म मिति १८९६ साल कार्तिक–४ गते उल्लेख छ । टोलीका कर्मचारीबाट १९९६ साल उल्लेख गर्नुपर्ने ठाउँमा १८९६ साल उल्लेख हुन पुग्दा गेलालको उमेर १७६ वर्ष पुगेको पाइएको गाबिस सचिव गोबिन्द पराजुलीले बताउनुभयो । नागरिकता बितरणकालागि खटिएका टोलीका कर्मचारीको गल्तीका कारण गणेशप्रसाद सबैभन्दा ज्येष्ठ नागरिक बन्न पुग्नुभएको हो । ‘संसारकै ज्येष्ठ नागरिक र ज्येष्ठ नागरिक परिवारका सदस्य’ भनेर आफन्तले गर्ने मजाक र ठट्टाले पिरोल्ने गरेको गेलाल परिवारको भनाई छ । उहाँको खास उमेर हाल ७६ वर्ष भए पनि नागरिकता अनुशार उमेर सय वर्ष बढि हुन पुगेको छ । 

छिमेकी टिकाराम राईका अनुशार गल्ती गणेशप्रसादको आफ्नो होईन, कमजोरी नागरिकता प्रमाणपत्रमा लेख्ने कर्मचारीको हो । सामाजिक सुरक्षा भत्ता थाप्न पनि छिटो भयो । तर, त्यसका कारण सिर्जित प्रश्नको झटारोको सामना गर्न बाध्य छन् गेलाल परिवार । कान कम सुन्ने गेलाल र कर्मचारीबीचको ‘सञ्चार ग्याप’का कारण नागरिकतामा गलत जन्म मिति उल्लेख हुन पुगेको स्थानीयको अनुमान छ ।

नागरिकतामा सय वर्ष जेठो उल्लेख भएकै कारण केही अप्ठ्यारो आइनपरेका कारण गणेशप्रसादले अहिलेसम्म जन्म मिति सच्याउन चासो दिएका छैनन् । गेलाल परिवारले नागरिकता सच्याउनकालागि आवेदन दिए सच्याउन सकिने गाबिस सचिव पराजुलीले बताउनुभयो । गत वर्ष गाबिसका ज्येष्ठ नागरिकलाई सम्मान गर्नेक्रममा गणेशप्रसादको नामलाई लिएर केही बिवाद समेत भएको थियो । गाबिसमा खास जन्म मितिका आधारमा सम्मान पाउने अरु बृद्धबृद्धा थिए । नागरिकता र प्रमाणका आधारमा सम्मान पाउने गेलाल भए । अन्तमा खास जन्म मितिको आधारमै बृद्धबृद्धालाई सम्मान गर्ने निर्णय गरिएको स्थानीय एबं एमाले जिल्ला सदस्य राजन बञ्जराले बताउनुभयो । ‘नागरिकतामा उल्लेख भएको आधारमा वा खास जन्म मितिको आधारमा सम्मान गर्ने भन्नेमा बिवाद उठेको थियो,’ बञ्जराले भन्नुभयो, ‘अन्तमा खास जन्मका आधारमा सम्मान गर्ने निष्कर्षमा पुगिएपछि गणेशप्रसाद सम्मान पाउनबाट बञ्चित भएका थिए ।’ सामाजिक सुरक्षा भत्ताकै लागि आबेदन दिएपछि मात्र गेलाल वास्तबिक उमेरभन्दा सय वर्ष जेठो बनेको खुलासा भएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post