sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » ६३ वर्षपछि नातीद्धारा बाजेको चिहान फेला

 खोटाङ, । खोटाङको उत्तरी गाबिस बाँसपानी–५ का गञ्जमनी राईले ६३ वर्षअघि मलाया (हालको मलेसिया)मा ज्यान गुमाए । पहिलो सन्तान रामशंकर राई ४ वर्षकोहुँदा गञ्जमनीले युद्ध मैदानमा सन १९५२ मे ८ मा ज्यान गुमाएका हुन् ।

२६ वर्षको उमेरमा मलायामा भएको युद्धमा ज्यान गुमाएका राईको मृत्युको खबर घरसम्म आइपुग्यो तर भौतिक शरीर आइपुग्न सकेन, त्यो ताका आइपुग्ने माध्यम पनि थिएन । तर पनि बेलायतले आफ्नोपक्षबाट लड्नेक्रममा युद्धमा ज्यान गुमाएका नेपालीको मलायास्थित सेराम्बङमा सामुहिक चिहान बनाइदिए । त्यही सामुहिक चिहानस्थलमा गञ्जमनीको पनि परिचय खुल्ने चिहान राखियो ।

यता, जवानीमै सिउँदो पुछिएकी गञ्जमनी पत्नी पद्मसरी ४ बर्षे छोरालाई हेरेर बियोगको पीडा भुल्ने प्रयत्नमा लागिन् । बालकमै बाबु गुमाएका रामशंकर एक्ली आमाको लालनपालनमा हुर्किए । जवान भएपछि उनी पनि मलायामै भर्ती भए । बाबु गञ्जमनीको चिहान सेराम्बङमा रहेको थाहा पाएका रामशंकरले मलाय रहँदा बाबुको चिहान खोज्ने र भेट्ने प्रयास गरेका पनि थिए तर सफल भएनन् । सेराम्बङ ठूलो शहर भएकाले चिहानस्थलमा झट्ट पुग्न सकिने अवस्था थिएन, छैन । उनलाई बाबुको नाम, मिलीटरी नम्बर थाहा थियो तर चिहानस्थल पुग्न सकेनन् । त्यसबेला मलेसिया ब्रिटिसको उपनिबेस थियो र मलाया भनिन्थ्यो । रामशंकर मलाय रहेको चार वर्षपछि ब्रिटिसले मलाया छाडे र हङकङ पुगे । हङकङ पु¥याइएपछि मलाया लाहुरे भनिने उनीहरुलाई हङकङ लाहुरे भनिन थालियो । ब्रिटिसले छाडेपछि कालान्तरमा मलाया पनि मलेसिया बन्यो । बाबुको चिहान भेट्ने र हेर्ने रहर भने मरेको थिएन रामशंकरको । सिंगापुर प्रहरीमा कार्यरत छोरीज्वाईको निमन्त्रणमा गत बैसाखमा श्रीमती परिमायाँ सहित मलेसिया पुगेका रामशंकरले यसपल्ट पनि बाबुको चिहान भेट्ने सपना पूरा गर्न सकेनन् । मलाया पुगेर पनि बाबुको चिहान पत्ता लगाउन नसकेका रामशंकर आफ्ना तीन छोराहरुलाई बारम्बार ‘सेराम्बङमा बाजेको चिहान रहेको र मलेसिया पुग्ने अवशर जुटे अवश्य चिहान भेटेर ढोग्नु’ भनिरहन्थे ।
मलेसियाको सेराम्बङमा रहेको नेपालीको सामुहिक समाधिस्थल र ६३ वर्षअघि मलेसियामा ज्यान गुमाएका बाजेको समाधिलाई ढोग्दै नाती राजन राई । तस्बिर :राजन राईको फेसबुकबाट


रामशंकरको यही भनाईले जेठो छोरो राजन राईको मन छोइरह्यो । एमालेबाट राजनिती गर्दैआएका राजनले अठोट लिए बाबु ४ वर्षकोछँदा मृत्यु भएका बाजेको चिहान कुनै न कुनै दिन भेट्ने । बाजे गञ्जमनीको पल्टन नम्बर २११४६८२४ कन्ठस्थ गरेका राईले यसपल्ट ६३ वर्षअघि मलेसियामा ज्यान गुमाएका बाजेको समाधिस्थल भेटेर घर फर्किएका छन् । ‘बाबुले घुम्दा डुल्दा सेराम्बङ पुग्यौ भने त्यहाँ बाजेको चिहान छ, खोजेर ढोगी राख्नु भन्नुहुन्थ्यो,’ एमाले बैकल्पीक केन्द्रिय सदस्य राजनले भने, ‘यसपल्ट बाबुको सपना पूरा गर्न सफल भएको छु, बाजेको चिहान भेटेर श्रद्धाको फूल चढाउने अवशर पाएँ ।’

केन्द्रीय कमिटिमा चयन भएपछि एमालेकातर्फबाट पुर्वी एसिया तथा दक्षिणपुर्वी एसियाको इन्चार्जको भूमीका पाएका राजनले यसपल्ट बाजेको चिहान भेटेर बाबुले भने अनुशार फूल चढाए, ढोगेर त्यहाँको माटो लिएर फर्के । पार्टीको कामको सिलसिलामा मलेसिया सिंगापुर पुगेकोबेला राई मलेसियास्थित नेपाली दुताबासका डिपुटी चिफअफ मिसन हेमलाल भट्टराई र एमाले निकट प्रबासी नेपाली मञ्चका उपाध्यक्ष राजकुमार सापकोटाको सहयोगमा बाजेको समाधिस्थल पुगेको बताउँछन् ।

उनका अनुशार सेराम्बङमा २५० बढि नेपालीको सामुहिक चिहान कम्पाउण्डले घेरा हालेर सुरक्षित राखिएको छ । समाधिस्थल वरपर फूलका बिरुवा रोपेर व्यवस्थित र सुसज्जित बनाएर राखिएको छ । बाजेको चिहानबाट घर ल्याएको माटो राईले बाबु रामशंकर र आफ्नो छोरासहित तीन पुस्ता भएर हजुरआमा पद्मसरीको चिहानमा छरिदिए । नाम र आर्मी नम्बर थाहा भए सेराम्बङमा राखिएको चिहान हेरेर अन्य मृतक नेपालीको पहिचान गर्न सकिने राजन बताउँछन् । कतिपय मृतकका आफन्त समाधिस्थलसम्म पुग्नै नसकेको उनको अनुमान छ । किनकी त्यहाँसम्म पुग्ने पहुँच कमै नेपालीको छ । ‘कति नेपालीले अहिलेसम्म आफन्तको समाधिस्थल पुग्ने अवशर पाएका छैनन् भन्ने लाग्छ,’ उनले भने, ‘तर ब्रिटिसको खातिर लड्नेक्रममा मृत्यु भएका मेरो बाजेको चिहान भेट्ने अवशर पाएँ ।’

Published Date: 11/03/2015

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post