sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » स्वास्थ्य मन्त्रालय पुगेर खोटाङे प्रतिनिधि टोलिले भन्यो,- 'हामीलाई दक्ष डाक्टर पठाईदेउ'

टेनिस रोका
काठमाडौं, ११ मंसिर । सभाषदद्धय विशाल भट्टराई र पिके राईको नेतृत्वमा खोटाङ जिल्लाको एक प्रतिनिधि मण्डल स्वास्थ्य मन्त्रालयमा डेलिगेशनका लागि पुगेको छ ।

अस्पताल सञ्चालक समिति अध्यक्ष नारायण जोशीसहित बिहीबार मन्त्रालय पुगेको प्रतिनिधि मण्डलले डेलिगेशनका क्रममा जिल्ला अस्पताल खोटाङमा तत्काल दक्ष र नेतृत्व गर्न सक्षम् डाक्टरसहितको जनशक्ति पठाईदिन माग गरेको छ ।

मन्त्रालयमा सचिव तथा उपसचिवसँग छलफल गर्दै प्रतिनिधि मण्डल । फोटो : मिलन राई

सभाषद विशाल भट्टराईले खोटाङमा तत्काल डाक्टर भएपनि दक्ष नभएको र नेतृत्व रामरी गर्न नसकेकाले अस्पतालको वातारण नै असहज बनेको बताउनुभयो । 'अस्पतालका डाक्टर, चिकित्सक, जिल्लाबासी, बिरामी तथा उनका आफन्त र छरछिमेकीले पनि अहिले भईरहनु भएका डाक्टरको विषयमा धेरै गुनासा गर्नुभयो', मन्त्रालयमा सभाषद भट्टराईले भन्नुभयो, 'उहाँलाई सहज पर्ने अन्य कुनै ठाउँमा सारेर दक्ष र नेतृत्व गर्न सक्षम डाक्टर पठाईदिएर खोटाङबासीको माग सुनुवाई गरि दिन परो भन्न आएका हौं ।'

जवाफमा मन्त्रालयले सोमबारसम्म कुनै नतिजा आउने गरी काम गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले जिल्लाबासीकै यस्ता गुनासा आएकाले आफूहरु माग सुनुवाई गर्न तयार रहेको भन्दै १/२ दिनमा नै काम हुने बताउनुभयो ।

मन्त्रालयका सहसचिव रघुराम भट्टराईले यसअघि पनि अहिलेका डाक्टरको विषयमा धेरै गुनासा आएकाले फिर्ता बोलाए पनि अख्तियारले काजमा फिर्ता पठाउन निर्देशन दिएकाले समस्या आएको भन्दै केही दिनमा नै माग पूरा हुने प्रतिबद्धता जनाए । 'हामी उहाँलाई कुन ठाउँमा पठाउँदा ठिक हुन्छ भनेर उहाँसँग पनि सल्लाह गर्छौ, अनि खोटाङमा जान इच्छुक डाक्टर को हुनुहुन्छ त्यो पनि खोज्छौं,' सहसचिव भट्टराईले प्रतिनिधि मण्डलसँग भन्नुभयो, 'सोमबारसम्म तपाईहरुको माग पूरा हुनेछ ।'

प्रतिनिधि मण्डलले अस्पताललाई ५० सैयाको बनाउने निर्णय सिघ्र कार्यान्वयन गर्न, एक्सरे, लगायतको उपकरण सन्चालनका लागि बजेट उपलब्ध गराउन पनि माग गरेको छ । मन्त्रालयले भने प्रक्रियागत रुपमा यसबारे पत्राचार गर्न आग्रह गर्दै सक्दो सहयोग उपलब्ध गराउने आश्वासन दिएको छ ।

सभाषद पिके राईले खोटाङबासीले अहिले पटक पटक दक्ष चिकित्सकिय जनशक्ति पठाईदिन माग गरेकाले उनीहरुको आवाज लिएर मन्त्रालय आएको जनाउनुभयो।

अस्पताल सञ्चालक समिति अध्यक्ष नारायण जोशीले सक्षम र नेतृत्वदायी डाक्टरको अभावले अस्पतालले गुणस्तरीय सेवा दिन नसकेकाले र बिरामी र उनका आफन्तले पटक-पटक गुनासा गर्ने गरेको बतानुभयो । उहाँले अस्पताललाई विद्युतका लागि आवश्यक ट्रान्सफर्मर खरिदका लागि बजेट, तथा एक्सरे, भिडियो एक्सरे मेसिन पनि बिग्रिएकाले बजेट उपलब्ध गराईदिन सरकारसँग माग पनि गर्नुभयो ।

प्रतिनिधि मण्डलमा सभाषदद्धय तथा अस्पताल सञ्चालक समिति अध्यक्ष, पत्रकार तथा राजन राई, कर्ण घले, हरि पोखरेल, राम दङाल, कुमार आचार्य, नारायण जोशी, मिलन श्रेष्ठ, मिलन राई लगायतको सहभागिता थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post