sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » अभिभावकको सम्मान पाउँदा छात्र/छात्रा दंग

खोटाङ, मंसिर ४ । प्रथम स्थान प्राप्त गरेर कक्षा ३ बाट ४ मा उक्लिएका खोटाङको च्यास्मीटार–४ दाल्फुका छात्र दिलीप राई गाउँमै सम्मानित भए । सबैभन्दा बढि अंक ल्याएवापत बिद्यालयमा पुरस्कृत हुँदा दिलीप जती खुसी थिए, त्योभन्दा खुसी गाउँमा पाएको सम्मानमा भए । गाउँमा सँगै गुच्चा खेलीरहेका, घाँसदाउरा गरिरहेका दौतरी सामु सम्मानित हुँदा उनको अनुहारमा खुसीको चमक झल्किएको देखिन्थ्यो । पुरस्कारकालागि उदघोषकले नाम उच्चारण गरे लगत्तै उनी पुरस्कार थाप्न सरासर स्टेजमा पुगे, पुरस्कार थापे अनि आफ्नै स्थानमा फर्किए । ‘स्कुलको पुरस्कार पाउँदा यस्तो खुसी थिएन,’ दिलीपले भने, ‘सानो कापी भएपनि गाउँमै खुसी लाग्यो ।’ 
उत्कृष्ट अंक ल्याएकामा सम्मानित भएका छात्र/छात्रा । 

मेहनत गर्ने र राम्ररी पढ्ने गाउँका बालबालिकालाई पढाईमा प्रोत्साहित गर्न र अन्य छात्रछात्रालाई पनि पढाईप्रति आकर्षित गर्न अभिभाबककोतर्फबाट सम्मान गरिएको श्रृजनात्मक एकता युवा सेवा समाजका अध्यक्ष रसकुमार राईले बताए । समाजले गाउँका सबैभन्दा इमान्दार किशोरकारुपमा छात्र रोमन राई र इमान्दार किशोरीकारुपमा छात्रा ख्यामला राईलाई पनि सम्मान गरेको छ । गाउँघरमा अझैपनि आफ्ना स्कुले छोराछोरीलाई पठनपाठनमाभन्दा घरायसी काममा लगाउने प्रचलन कायम छ । ‘पढिगुनी के काम, हलो जोति खायो माम’ भन्दै बालबच्चालाई विद्यालय नपठाउने अभिभाबकको चेतना अभिबृद्धि एबं उनीहरुमाझ नैतिक दवाव सिर्जना गर्न पनि गाउँका उत्कृष्ट छात्र÷छात्रालाई सम्मान गरिएको अध्यक्ष राईले जनाए । समाजले बालबालिकालाई बिद्यालय जानबाट बञ्चित नगराउन अभिभाबकलाई सचेत गराएको छ । ‘छोराछोरीले पढ्छन्, राम्रो अंक ल्याएपनि अभिभाबकबाट प्रोत्साहन पाउँदैनन्,’ अध्यक्ष राईले भने, ‘पढ्ने र नपढ्ने दुबैलाई आकर्षणकालागि सम्मानको व्यवस्था जरुरी ठानिएको हो ।’ राम्रो लेखपढ गर्ने कतिपय बालबालिकाको क्षमताको कदर गर्ने प्रचलन कम छ । अझ शहर र सदरमुकामबाट दूरदराज मानिएका ठाउँमा यस्तो अभ्यास कमै हुन्छन् । त्यही भएर राम्रा बिद्यार्थीलाई अझ मेहनत गर्न र अन्यलाई पनि पढाईमा प्रोत्साहित गर्ने अभ्यासको सुरुवात गरिएको समाजका सचिव खबिराज राई बताउँछन् । गाउँमा सम्मान पाउँदा बालबच्चामा पढ्ने हौसला मिलेको अभिभाबक अम्बरबहादुर राईले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post