sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » दिक्तेलमा भिषण आगलागी, आधा दर्जन घर जलेर नष्ट

खोटाङ, २ पुस । खोटाङको दिक्तेल नगरपालिकामा भीषण आगलागी हुँदा आधा दर्जन घर जलेर नष्ट भएका छन् । दिक्तेल नगरपालिका–२ स्थित रत्नपार्कमा भएको आगोलागीबाट पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

स्थानीय हिरालाल पुरीको कपडा पसलबाट दिउँसो पौने तीन बजेतिर अचानक सुरु भएको आगो तीन घण्टापछि नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, जनपथ र सशस्त्र प्रहरी तथा स्थानीयवासी लागी परेका थिए ।

आगलागीबाट करोडौंको क्षति भएपनि यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए । हिरालाल पुरीको घरमा विद्युत फल्ट भएर सल्किएको आगोले पुरी, केशव दाहाल, रविध्वज राई, दानबहादुर मगर र हर्कबहादुर राईको घर जलेको माझीले हाम्रोखोटाङ डटकमलाई जानकारी दिए ।

आगलागीबाट मानवीय क्षति नभएपनि घर भाडामा बस्ने दर्जन बढी परिवार बिचल्लीमा परेका छन् । आगलागी पीडितलाई रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्रको कार्यालय परिसरमा राखिएको छ ।
आगलागीमा परी एउटा कपडा पसल, तीनवटा मोवाईल पसल, एउटा ब्यूटी पार्लर, एउटा शैलुन, दुई वटा होटल र एकवटा टेलरिङ सेन्टर जलेको सामुदायिक सेवा केन्द्रका प्रहरी नायब निरीक्षक मानबहादुर खड्काले जानकारी दिए । खड्काका अनुसार हिरालाल बाहेक अन्य चारवटा घरमा भाडामा बस्ने परिवार रहेका थिए ।
नगरपालिको दमकलमा पानी नभएकाले समयमा आगो नियन्त्रण गर्न नसकिएको स्थानीयले बताएका छन् । दमकलमा पानी नभएपछि सदरमुकाममा बिस्तार गरिएको पाइप काटेर पानी प्रयोग गरिएको उद्दारमा सहभागी मिलन कसजूले बताए ।

आगलागीपीडितका लागि तत्कालै जिल्ला दैविप्रकोप उद्दार समितिको बैठक बसेर सहयोगको पहल गरिने निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताए । ‘आगलागीबाट ठूलो क्षति भएको छ ।’ उनले भने, ‘राज्यको तर्फबाट गर्न सकिने सहयोगको लागि बैठक बसेर पहल गरिनेछ ।’

एक घर तथा पसलमा आगलागी भएको मौकामा लाखौंको सामाग्री चोरी भएको जनाइएको छ । आगलागीमा उद्दार गर्ने बहानामा चोरी भएको प्रहरीले जनाएको छ ।






यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post