sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » सिङ्गिङ विथ डान्सिङका साथ दिपेश

काठमाडौं,  पुष । काठमाडौंलाईं सपनाको सहर पनि भनिन्छ । उसले देख्नेजत्तिका सपना फुलाउन सक्दैन । सक्ने भए यही खाल्डोमा सबै–सबैका पाइला पर्थे होलान् । जतिका पाइला परेका छन्, देखेका सपना पूरा गर्न उनीहरू आ–आफ्नै ढंगले लागिपरेका छन् । त्यसैमध्येका एक हुन्– दिपेश राई ।

दुर्छिम–४ चुमाखु खोटाङनिवासी राईको काठमाडौं पस्नुको पहिलो उद्देश्य उच्चशिक्षा हासिल गर्नु थियो । काठमाडौंमा रहँदा–बस्दा उद्देश्य थपिँदै गए । बदलिँदै गए । पछिल्लो समय उनी गायन र नृत्यमा भविष्य खोज्न लागिपरेका छन् । ‘सपना त्यति महत्वाकांक्षी देखेको छैन,’ काठमाडौंको कमलपोखरीमा भेटिएका गायक दिपेश राईले सुनाए, ‘तसर्थ, पूरा गरेरै छाड्नेछु ।’ हुन पनि हो नसक्ने काममा कसैले समय खेर फाल्न चाहँदैन । दिपेशले पनि किन चाहन्थे ।

देखेको सपना फुलाउन उनको मिहिनेत लोभलाग्दो देखिन्छ । उनी संगीतकार डक्टर किरातलाई गुरु थापेर संगीत साधनारत छन् । नयाँ मार्गी म्युजिक एकेडेमी बसुन्धरा काठमाडौंमा संगीत सिकिरहेका उनले संगीतभन्दा नृत्यमा समय बढी खर्चेका छन् । डान्स एडिसन बसुन्धरामा कत्थक, आधुनिक र लोकनृत्य एकैसाथ सिकिरहेका उनले त्रिकाल आर्ट एकेडेमीमा ‘हिपहप डान्स’ समेत सिकिरहेका छन् । ‘जमाना सिङ्गिङ विथ डान्सिङको छ,’ आफूले नृत्यसम्बन्धी तालिम लिनुको औचित्य प्रस्ट्याउँदै दिपेशले अथ्र्याए, ‘सम्बन्धित गायक/गायिकाले ठिङ्ग उभेरभन्दा गाउँदै नाच्दा दर्श/श्रोतालाई आकर्षित गर्न सकिने भएकाले दुवै विधामा करिअर बनाउन लागेको हुँ ।’

यति धेरै विधामा हात हालेका दिपेशले समय कसरी व्यवस्थापन गरेका होलान् ? उनी भन्छन्, ‘जहाँ इच्छा, त्यहाँ उपाय भन्ने उखान त्यत्तिकै बनेको होइन नि । उल्लिखित विधाबाहेक मैले द र्याम्पमा रोजिन शाक्यसँग मोडलिङसम्बन्धी पनि तालिमसमेत लिइरहेको छु ।’

काठमाडौंका चोक–चोक र गल्ली–गल्लीमा एक ग्लास चिया पिएर अर्थहीन गफ गर्दै दिन बिताउनेका लागि उनी उदाहरणीय मानिन्छन् । दैनिक १२ घन्टा समयमा गायन, नृत्य, नृत्यमा पनि कत्थक, आधुनिक, लोक र मोडलिङसम्बन्धी कक्षा लिन भ्याउनु भनेको चिया गफ गरेर दिन बिताएजस्तो सजिलो छैन । तर पनि दिपेश विचलित छैनन् । भनिन्छ– हिँडे त हो नि छेउ लाग्ने । यो भनाइसँग उनी जानकार छन् । जुन भनाइले उनलाई सधैं जाँगरिलो बनाएको छ । दुर्छिमको हावापानी नै स्वस्थकर मानिन्छ । त्यही स्वस्थकर हावापानी उनको नसा–नसामा बगेको छ । आफूले देखेको सपना फुलाउन उनलाई त्यसैले जाँगरिलो बनाइदिएको हो ।

गीतकार राजेश किरातीको गीतिएल्बममा दिपेशको स्वर सुन्न सकिन्छ । त्यसबाहेक अन्य थुप्रै गीतमा उनले गीत गाएका छन् । फुटकर रूपमा गीत गाउँदै आएका उनले निकट भविष्यमै आफ्नै गीतिएल्बम सार्वजनिक गर्ने ध्याउन्नमा लागेका छन् । सोलो गीतिएल्बमको काम थालिसकेको उनले जानकारी दिए ।
प्रस्तुति : दीपेन्द्र राई

 दिपेश राईको फोटो फिचर 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post