sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » खोटाङमा किबी खेतिको आकर्षण बढ्यो

खोटाङ ९ माघ । आलु र कोदो फल्ने बारीमा किबीको बिरुवा रोप्दा खोटाङको फेदी–६ का धनकुमार राईलाई ‘मती बिग्रियो’ भन्ने धेरै थिए। हुन पनि वर्षभरी खाने खाद्यान्न उत्पादन हुने ठाउँमा लहरो प्रजातीको बिरुवा रोप्दा छिमेकीलाई पत्यार लाग्ने विषय पनि थिएन।


तर, धनकुमारले छोटो समयमै छिमेकीलाई लटरम्म किबी फलाएर देखाए। करिब पाँच वर्षपछि फल दिने किबीले उनको बगानमा भने तीन वर्षमै फल दिन थालेको छ। २०६९ साल माघमा १० रोपनी जग्गामा लगाइएको किबीले यस वर्ष ४ सय ३३ केजी फल दिएको राईले बताए। उनको बगानमा हाल हेवार्ड, ब्रुनो, मन्टी जातको १सय २५ बोट किबीको लहरो फैलिएको छ। रहरैरहरमा सुरु गरेको किबी खेती हाल उनका लागि आम्दानीको आकर्षक माध्यम बनेको छ। बगानको किबीको फल तथा किबीको बिरुवा बिक्रीबाट उनले वार्षिक ३ लाखको हारारीमा आम्दानी भइरहेको बताए।

बगानका कतिपय किबीको फल टिपेर भण्डारण गरिएका छन्, कतिपय बोटमै छन्। ७/८ वटा दानाले एक केजी पुग्ने किबी स्थानीय बजारमा प्रतिकेजी ५ सयका दरले बिक्री भइरहेको छ। उनले सदरमुकाम दिक्तेल, गाउँकै बजारबाहेक भोजपुरसम्म पुगेर किबीको फल बिक्री गर्दैआएका छन्। किबीको एक बोटमा कम्तीमा ५ केजीदेखि २६ केजीसम्म फल उत्पादन हुन थालेको उनी बताउँछन्। राईका अनुसार ५ वर्षपछि भने एउटै किबीको बोटबाट निरन्तर ४०–५० वर्षसम्म ५० देखि सय केजीसम्म फल उत्पादन हुन्छ। मूल्यमा अन्य फलफूलभन्दा महंगो भए पनि नयाँ फलको स्वाद चाख्नकै लागि भए पनि किबीको फल किन्नेको भीड लाग्छ। ‘किबीको फल बजार पु¥याउन गा¥हो हो,’ धनकुमारले भने, ‘बजार पु¥याएपछि चाख्ने नाममै फल खपत हुन्छ।’

उनले किबी खेतीका लागि औपचारिक तालिम भने लिएका छैनन्। वन परियोजनाको जागिर छाडेर उनले स्वःअध्ययनबाटै किबी खेती सुरु गरेका हुन्। घुमफिरका क्रममा दोलखा, इलामलगायतका स्थानमा लगाइएको खेती देखेर उनले गाउँ फर्किएर किबी खेती सुरु गरेका हुन्। २०६९ सालमा दोलखाबाट किबीको सय बोट बिरुवा ल्याएर खेती सुरु गरेको उनी बताउँछन्। उनले बिरुवा ल्याउने क्रममा अग्रिम भुक्तानी गरेर बिरुवा ल्याएका थिए। गत वर्ष मात्र काभ्रे खासकोटबाट सुर्य पाण्डेको फार्मबाट सोयु (रेड किबी) र हेवार्ड जातको किबीको थप बिरुवा ल्याएको बताए। ‘दोलखामा पहिलोपल्ट श्याम खड्काको बगानमा लटरम्म फल फलेको देखेँ, के हो भनेर बुझ्दा किबी रहेछ,’ राईले भने, ‘रहरलाग्दो फल देखेपछि मैले पनि किबी लगाउने मानसिकता बनाएर फर्किएँ।’ १० रोपनीबाट सुरु गरिएको किबी खेतीलाई बिस्तार गर्दै ४० रोपनी पु¥याउने उनको लक्ष्य छ। उनले फलबाहेक प्रतिवटा चार सय पर्ने किबीको बेर्नासमेत उत्पादन गर्दैआएका छन्। किबीले फल दिन थाले पनि सुरुका दिनमा धनकुमारलाई नपत्याउने गाउँका हरेक घरमा अहिले किबीको खेती सुरु भएको छ। हाल उनको बगानमा रमिता हेर्ने र सिक्न आउनेको भीड लाग्न थालेको छ । ‘पहिला बारी मासेर लहरा रोप्ने भनेर खिसी गरिन्थ्यो,’ उनले भने, ‘अहिले यसको जवाफ यही किबीको फलले दिएको छ।’  ६ देखि ८ मिटरको दूरीमा रोपिने किबीलाई अन्य बालीनालीलाई भन्दा कम मेहनत गरे पुग्छ। वर्षामा असिनाबाट जोगाउन प्लाष्टिकले ढाक्नु पर्छ। ‘किबीबाट नसोचेको फाईदा मिल्ने अनुभव संगालेको छु,’ उनले थपे, ‘बाबुले लगाएको किबीले छोरालाई सम्म पुग्दो रहेछ।’

राईका अनुसार समुद्री सतहबाट २५ सय मिटरमाथि अर्थात् सुन्तला फल्ने क्षेत्र भन्दामाथि र स्याउ फल्ने क्षेत्रभन्दा तल्लो क्षेत्रमा किबी खेती उपयुक्त मानिन्छ। अझ ठेकी फल फल्ने खोटाङका अधिकांश क्षेत्रमा किबी खेती गर्नकालागि माटो परिक्षण नै गर्नु पर्दैन। त्यस्ता ठाउँमा किबीको राम्रो उत्पादन हुन्छ। जिल्लामा सबैभन्दा बढी हेवार्ड र रेड प्रजातीको किबीको सम्भावना राम्रो छ। किबीलाई प्रशस्त पानीको श्रोत भएको र चिस्यान भएको ठाउँ उपयुक्त मानिन्छ। हिउँद याममा किबीलाई कम्तीमा १० दिनमा पानी दिनु अनिवार्य हुन्छ।

किबी खेतीभित्र अन्य बालीनाली लगाएर दोहोरो फाइदा लिनसमेत किबी खेती लाभदायक छ। धनकुमारले किबीको बीचमा रहेको खाली जमीनमा अलैंची, बारीको भित्तामा चिराईतो, सतुवासमेत लगाएका छन्। किबीको परागसेचन र मह उत्पादनका लागि ३० घार मौरी पालन गरेका छन् । यी सबैको आम्दानीले वर्षमा ५ लाख नाघ्छ। रहर र जिज्ञासामा सुरु गरिएको किबी खेतीबाट उनलाई अर्थोपार्जन सँगै आत्मसन्तुष्टी मिलेको छ। ‘यो जती ग¥यो उति आनन्द आउने पेशा रहेछ, त्यही हराईंदो रहेछ,’ राईले भने, ‘बिरुवा उम्रिन्छ, पलाउँछ, फूल्न थाल्छ, फल्न थाल्छ, फल दिन थाल्छ, यो देख्दा आनन्द आउँछ।’

डिग्रीको सर्टिफिकेटले किबी खेती
खोटाङको दोर्पाचिउरीडाँडा–८ का शुभचन्द्र राईले किबीको बिरुवा बिक्री गरेर लोभलाग्दो आम्दानी सुरु गरेका छन्। विगत तीन वर्षदेखि किबीको व्यवसायिक नर्सरी सुरु गरेका राईले वार्षिक पाँच लाखभन्दा बढि आम्दानी गर्दै आएका छन्। सदरमुकाम दिक्तेल नजिक पर्ने नेर्पाको तालखर्कमा २० रोपनी जग्गामा किबी खेती लगाएका राईले किबीको बिरुवा प्रतिगोटा ६ सय रुपैयाँसम्ममा बिक्री गर्दैआएका छन्। कानूनमा बिएल तथा समाज शास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर राईले यस वर्ष गोल्डेन, हेवार्ड र रेड प्रजातिका गरी ६ हजार ७ सय बिरुवा बिक्री गरेको बताए।

उनले शुभ कृषि फार्मबाट हेवार्ड प्रजातिको किबीको बिरुवा प्रतिगोटा ३ सय ५०, रेड ५ सय र गोल्डेन ६ सय रुपैयाँमा बिक्री हुने गरेको छ। फार्ममा उत्पादन गरेको बिरुवा नर्सरीबाटै बिक्री हुने गरेको राईले बताए। पछिल्लो समय जिल्लाका कृषक किबी खेतीप्रति आकर्षित बनेपछि आगामी वर्ष १२ हजार बिरुवा उत्पादन गर्ने तयारी गरेको फार्मले जनाएको छ। फार्मका प्रबन्ध निर्देशक राईका अनुसार नर्सरीमा उत्पादित किबीको बिरुवा जिल्लाभित्रका सबै गाविस तथा छिमेकी जिल्ला भोजपुरमासमेत निर्यात हुने गरेको छ। विभिन्न क्याम्पसमा अध्यापन तथा वकालतको काम गरेका ४५ वर्षीय राईको व्यवसायिक नर्सरी खेतीका कारण स्थानीय तीन युवाले गाउँमै रोजगारीको अवसर पाएका छन्।

थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएकाले किबी खेती सुरु गरेको राईको भनाइ छ। ‘तीन वर्षपहिले रोपेको बिरुवाले यस वर्षबाट फल दिन थालेको छ,’ पूर्व गाविस अध्यक्षसमेत रहेका राईले भने, ‘सुरुबाटै राम्रो फल दिएकाले आगामी दिनमा अझै बढाउने तयारी गरेको छु।’ राईको फार्ममा किबीसँगै पाउलोनिया, सिताके च्याउ, कुरिलो, स्याउ, नास्पाती लगाउनुका साथै माछासमेत पालिएको छ। - नागरिक दैनिकबाट

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post