sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » गाविस सचिव गाउँ बसे नबसेको अनुगमन गरिने

खोटाङ, फागुन १३ । खोटाङमा गाविस सचिव सम्बन्धित कार्यालयमा बसे नबसेको विषयमा अनुगमन गर्न प्रहरीलाई जिम्मेवारी दिइएको छ । गाविस सचिव सदरमुकाम केन्द्रित हुँदै आएको जनगुनासो बढ्दै गएपछि जिल्ला दैबीप्रकोप उद्धार समितिको बैठकले गाबिसमा बसे नबसेको अनुगमन गर्ने जिम्मा प्रहरीलाई सुम्पिएको हो ।

कतिपय आगलागी, बाढीपहिरो जस्ता प्राकृतिक विपत्ती परेका समयमा गाउँमा गाविस सचिव नै नभेटिएको घटनापछि अनिवार्य गाउँमा बस्ने दवाब सिर्जना गर्नकालागि सचिवको अनुगमनको कदम चालिएको हो । 
जिल्ला दैबीप्रकोप उद्धार समितिको बैठकमा गाबिस सचिव गाउँमा नबसेको चर्चा चलेपछि गाविस सचिवलाई अनिवार्य गाउँ पठाउने र गए नगएको अनुगमन गर्ने जिम्मा प्रहरीलाई दिइएको स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बताए । 

फागुन १० गतेको बैठकमा गाबिस सचिव गाउँमा भए नभएको अनुगमन गर्ने अनौपचारिक निर्णय भएको थियो । ‘गाविस सचिव गाउँमा नबसेको जनगुनासो आइरह्यो,’ स्थानीय बिकास अधिकारी पाण्डेले भने, ‘दैबीप्रकोप उद्धार समितिको बैठकमा सचिवलाई गाउँमै बसाउनकालागि अनुगमन गर्ने अनौपचारिक निर्णय भएको हो ।’ 
बिभिन्न कारण देखाउँदै सदरमुकाम बस्ने सचिवलाई गाउँमा पठाउने यो कदमले सर्वसाधारण उत्साहित छन् । गाविसमा सचिव बसे नबसेको विषयमा नजिकका प्रहरीचौकीका प्रहरीले हेर्ने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले बताए । 

सदरमुकाम केन्द्रित रहने गाबिस सचिवलाई गाउँ पठाउन जिल्ला बिकास समितिले गाबिस सचिबसँग हुँदै आएको नियमित बैठकको अवधि समेत बढाएको छ । गाबिस सचिवसँग मासिकरुपमा बैठक गर्दैआएको जिबिसले अव ४ महिनामा मात्र बैठक गर्ने भएको छ । मासिक बैठकका नाममा गाबिस सचिव गाउँ छाडेर सदरमुकाम बस्ने गरेको जनगुनासोका आधारमा नियमित बैठकलाई चौमासिक बनाइएको जिबिसले जनाएको छ । ‘गाबिस सचिवसँग चार महिनामा मात्र हाम्रो भेट हुन्छ,’ पाण्डेले भने, ‘त्योभन्दा अघि सचिव भेटिए भने नमस्कार नै फर्काउँदिन भनेको छु ।’

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post