sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » प्रतियोगीताको सबै स्वर्ण पदक बिजेता खेलाडीलाई अभिनन्दन

खोटाङ, ११ बैसाख । उदयपुरमा भएको सगरमाथा अञ्चल नगरपालिका स्तरिय सितोरियो कराते प्रतियोगितामा सबै स्वर्ण पदक जित्दै ‘क्लिनस्वीप’को इतिहाँस रचेको खोटाङका खेलाडीलाई नगर परिक्रमा सहित अभिनन्दन गरिएको छ ।

उदयपुर सदरमुकाम गाईघाटमा शुक्रबार सञ्चालित प्रतियोगीतामा ७ स्वर्ण पदकमध्ये ७ वटै स्वर्ण पदक आफ्नो कब्जामा पार्दै ‘क्लिनस्वीप’को इतिहाँस रचेको दिक्तेल नगरपालिकाका सितोरियो खेलाडीलाई अभिनन्दन सहित नगर परिक्रमा गराइएको हो । शनिबार दिक्तेलको माटिकोरे कबर्डहलमा अभिनन्दनपछि खेलाडीलाई दिक्तेलबजार परिक्रमा गराइएको छ । दिक्तेलका खेलाडीले मुलुकमै पहिलोपल्ट खेलकुदको क्षेत्रमा ‘क्लिनस्वीप’को इतिहाँस रचेको नेपाल सितोरियो कराँतेका जिल्ला अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो ।

अभिनन्दन कार्यक्रममा बिजेता खेलाडीलाई नगद पुरस्कार घोषणा गर्नेको होड चलेको थियो । बिजेता खेलाडीलाई सितोरियो खोटाङका संस्थापक प्रशिक्षक नवराज राईले जनही १० हजार र टिम प्रशिक्षकलाई ५ हजारका दरले पुरस्कार दिने घोषणा गरेका छन् । यस्तै, सितोरियो कराते संघले जनही ३ हजार र सितोरियो करातेका सगरमाथा अञ्चल संयोजक तथा खोटाङका प्रमुख प्रशिक्षक विचारी तामाङले सबै खेलाडीलाई एकमुष्ट १० हजार पुरस्कार दिने घोषणा गरेका छन् ।

अभिनन्दनपछि बिजय जुलुससहित खेलाडीलाई बजार परिक्रमा गराइएको हो । खेलाडीको नाराबाजीले बजार गुञ्जिएको थियो । अभिनन्दन र नगरपरिक्रमा कार्यक्रममा कांग्रेस नेता प्रेमकुमार राई, स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डे, योजना अनुगमन तथा प्रशासकिय अधिकृत नरहरि सापकोटा, नगरपालिकाका कार्यकारीअधिकृत अनिल किराती, सितोरियो करातेका सगरमाथा अञ्चल संयोजक तथा खोटाङका प्रमुख प्रशिक्षक तामाङ लगायतको सहभागीता रहेको थियो ।

महिला कुमितेतर्फ ४५ किलो तौल समूहमा रोष्मा राई र ५० किलो तौल समूहमा विद्याकला राईले स्वर्ण जितेका छन् । यस्तै, पुरुष कुमितेतर्फ ४५ किलो तौल समूहमा रोशन गुरुङ, ५० किलो तौल समूहमा अर्जुन श्रेष्ठ र ५५ किलो तौल समूहमा नविन राईले स्वर्ण पदक हात पारेका छन् । महिला एकलकाँतातर्फ रोश्मा राई र पुरुषतर्फ नबिन राईले स्वर्णपदक जितेका छन् ।

प्रतियोगीतामा बेस्टफाईटरको उपाधि पुरुषतर्फ दिक्तेलकै नबिन राई र महिलातर्फ बिद्याकला राईले जितेको सितोरियो कराते संघले जनाएको छ । ७ स्वर्ण पदकको लागि सगरमाथा अञ्चल भित्रका दिक्तेल नगरपालिका, उदयपुरको त्रियुगा, वेल्टार, वसाहा र कटारी नगरपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, सिराहाको गोलवजार, धनगढी र लाहान नगरपालिका तथा सप्तरीको राजविराज र फत्तेपुर नगरपालिकाका खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

कुमितेमा दिक्तेलकी बिद्याकलाले त्रियुगा नगरपालिकाकी बिनिता राईलाई, रोश्माले ओखलढुंगाकी सर्मिला श्रेष्ठलाई, रोशनले धनगढी नगरपालिकाका सनम मगरलाई, अर्जुनले गोलबजारका मन्सी मगरलाई र नबिनले ओखलढुंगाका धनबहादुर भुजेललाई पछि पारेका हुन् ।

प्रतियोगीतामा दिक्तेल नगरपालिका टिम प्रथम, ओखलढुंगाको सिद्धिचरण नगरपालिका टिम दोश्रो र सिराहाको गोलबजार नगरपालिका टिम तेश्रो भएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post