sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » बालापनको पढाईको तीर्खा बुढेसकालमा मेटिँदै

८० बर्षको उमेरमा अक्षर मोह
रामधन राई/खोटाङ, बैशाख । चैत्र–बेशाखको टंटलापुर घाम । जस्ताले छाएको छाप्रो । छाप्रोभित्र ३–४ जोर डेस्कबेन्च अनि अगाडीपटि सेतो पाटी । आफ्ना छोरी नातिनीसरहका महिलाहरुको हुलमा अघिल्लो पंक्तीको डेस्कमा किताब कापी राखेर हातमा  पेन्सिल समाएको अवस्थामा भेटिन्छिन् ८० बर्षिया बयोबृद्घा मनकुमारी लयालुलाई ।

अक्सर, ओम् नमः शिबाय लेखिएको पहेँलो बर्कीमा भेटिने हँसिलो अनुहारकी लयालु जब किताबमा लेखिएको ३–४ अक्षरले बनेका शब्दहरु रोकिँदै भए पनि भनिसक्छिन् तब मख्ख पर्दै दिल खोलेर सगर्ब हाँस्छिन् । उनी हाँस्दा यस्तो लाग्छ मानौं, चस्मा लगाएको ८० बर्षिया आँखाले मोतीका दाना खुट्याईन् । एउटा आँखाको अप्रेसन गरे पनि अझै स्पष्ट नै अँखाले देख्ने मनकुमारी बताउछिन् । अक्षर चिन्न सक्ने र लेख्न सक्नेमा समुहकै सक्षममा आफुलाई ठहर गर्ने लयालु आफुले लेखेको शब्दहरु देखाउन र पढेर सुनाउँन लालायित बन्छिन् । बालापनमा बुवा–माले किनिदिएको आफ्नो गर–गहना संगिनीहरुलाई देखाउन हत्तारिए झैं आफुले लेखेका शब्द तथा बाक्यलाई देखाउँन हत्तारिन्छिन् । लाग्छ, उनी शब्द–अक्षरहरुको गहनाले झरिझुत्तै हुन चाहान्छिन् ।


बालापनमा लागेको पढ्ने प्यास ८० बर्षमा आएर मेटाउँदैछिन दिक्तेल नगरपालिका– २ की मनकुमारी लयालु । जिल्ला शिक्षा कार्यलयको सहयोगमा बालसेवा सामुदायिक अध्ययन केन्द्र दिक्तेलद्वारा सञ्चालित निरन्तर शिक्षाका कक्षामा ६ महिनाअघिदेखि अक्षाराम्भ गरेकी उनी हाल सामान्य बाक्यहरु पढ्न र लेख्न सक्छिन् । पढेर ठुलै काम गर्ने धोको त होईन उनको तर अक्षर चिनेर मोबाईल चलाउन र पत्रपत्रिका पढ्न सक्षम हुने धोको छ । मुस्कुराउँदै भन्छिन्–‘यसो मोबाईल चलाउनु र पत्रिका पढ्न जान्ने धोको छ ।’ आफुले लेखेको कापीको पाना पल्टाएर पढेर सुनाई पनि हाल्छिन् । अनि भन्छिन्–‘अहिले छोराछोरी, नातिनातिनीको नामहरु लेख्न सक्छु, पत्रिका पनि अलिअलि पढ्छु ।’ माईति घर दिक्तेलकै पोखरीमा रहेका लयालुलाई सानै उमेरमा घरबाट बिहे गरिदिएकाले उनको पढ्ने धोको अधुरै  रहेको थियो । उसो त बिहे गरेपछि उन्ले आफ्नो श्रीमान र छोराछोरीलाई पढाउनमा भने जोडै गरिन् । भन्छिन्– ‘बिहे गरेर ऐंसेलुखर्क लगेपछि छोराछोरी भयो । छोराछोरी भएपछि भोजपुरबाट अम्बिका भन्ने मास्टर घरैमा लगेँ ।’ त्यो जमाना सम्झँदै थप्छिन्–‘अनि मैले चाँही भात पकाउने, खुवाउने, भाँडा माझ्ने गर्थे, त्यसतै गर्नुपरो ! त्यसै गर्दै बुढो र छोराछोरीलाई चैं पढाएँ ।’ कताकता बिस्मात छ उनीलाई । मर्ने बेला भए पनि पढ्ने रहर भएकोले गर्दा दिनै जसो कक्षामा आउने र सिक्ने गरेको उनी बताउँछिन् ।

१३ बर्षकै उमेरमा बिवाह गरेकी लयालुकी ४ भाई ४ बहिनी छोराछोरीकी १८ जना नातिनातिनी र ३ जना पनातिपनातिनी रहेका छन् । शिक्षा लिनु र दिनु नै सबेभन्दा ठुलो कुरा भएको ८० बर्षिया लयालुको भनाई छ । लयालु परिवारका पहिलेको घर ऐंसेलुखर्क भए पनि पहिलेदेखि नै दिक्तेलमै बसोबास छ ।

‘स्कुल टाढा भएकोले हिँड्न नसक्दा पढ्न पाईएन’
दिक्तेल–२ कै ५३ बर्षिया निर्मला सैंजुले पनि बिद्यालय टाढा भएकोले सानोमा पढ्न नपाएको झोंक अहिले मेटाउँदैछिन् । दाजुदिदीहरु स्कुल गए पनि उनीलाई भने हिड्न सक्दैन भनेर लाँदैनथे । भन्छिन्–‘पहिले त सानो भएकोले हिँड्न सक्दैन भनेर दाजुदिदीले लगेन अलि ठुलो भएपछि त भाई हेर्नुप¥यो । काम नि गर्नुप¥यो ।’ तर अहिले निर्मलालाई जसरी भए पनि अक्षर पढ्न र लेख्न सक्ने बन्नु छ । संैजु पनि सामान्य बाक्यहरु राम्ररी पढ्न तथा लेख्न सक्छिन् ।
‘भारी बोक्दै अक्षर चिन्दै’
बुइपा ५ घर भई दिक्तेलमै बस्दै आएकी २७ बर्षिया रामकुमारी अछामी पनि फुर्सदको समय अक्षर चिन्न र लेख्नमा खर्च गर्छिन । उनी र उनका श्रीमान १० बर्ष अघिदेखि दिक्तेलमा बसी अर्काको भारी बोक्नेलगायतका ज्यालादारी काम गरी जीबिकोपार्जन गर्ने गरेका छन् ।

३ जनाकी आमा अछामी समय मिलाएर कक्षामा त आउँछिन् नै घरमै बस्दा पनि फुर्सदको समय कापी, किताब र पेन्सिल लिएर अक्षर, शब्द र बाक्यहरसँग रमाउन थाल्छिन् । उनी सुनाउँछिन्–‘ सानोमा त घाँसदाउरा गर्दै पढ्न पाईएन । अहिले पनि फुर्सद् त कहाँ छ र ! त्यही पनि भारी बोक्दै, काम गर्दै, बच्चाहरुलाई पढाउँदै भए पनि पढ्न रहर लाग्छ ।’ उनी पनि सामान्य रुपले पत्रपत्रिका पढ्न सक्छिन् ।

दिक्तेल बजारमा सञ्चालित निरन्तर शिक्षा केन्द्रमा १५ जना सहभागी रहेको सहयोगी कार्यकर्ता सर्मिला बिकले जानकारी दिनुभयो । बिकका अनुसार सहभागीका रुचि र सिकाईप्रतिको तीब्र ईच्छाले गर्दा कक्षा उपलब्धीमुलक बनेको छ ।

जिल्लाका २८ सामुदायिक अध्ययन केन्द्र र एक बिद्यालयमा निरन्तर शिक्षा सञ्चालन भईरहेको छ । एक केन्द्रलाई ४/४ महिनाको एक÷एक शत्र पठनपाठटन गर्न गराउन दिईएको जिल्ला शिक्षा कार्यालय खोटाङका मिनबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार जिल्लामा तह २९ केन्द्रमा तह १ र तह २ गरी ५८ शत्र सञ्चालन हुनेछन् । १५ बर्षदेखि ६० बर्षकालाई प्राथमिकता दिईए पनि इच्छा गर्नेलाई ६० भन्दा माथि उमेरकालाई पनि कक्षामा सहभागी गराउन सकिने जनाईएको छ । तह १ को कक्षा गत पौषबाट शुरु गरिएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post