sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » 'छौंङ्खा'ले मन लोभ्याउँदा

दमन राई 
भौगोलिक विकटताका कारण खोटाङ र भोजपुरको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल छौंङ्खा चण्डी (साकेला) स्थानमा अक्सर कमै पर्यटक पुग्ने गरेका छन् । जाने आउने सडकको सुबिधा नहुनु र यसको प्राकृतिक, धार्मिक र साँस्कृतिक महत्वको प्रचार–प्रसारको अभावका कारण पनि छौंङ्खा चण्डी (साकेला) स्थान अहिले पनि ओझेलमा छ । एउटा मिडियाकर्मी भएका नाताले छौंङ्खामा लाग्ने मेला, त्यसको महत्व, ऐतिहासिकपक्षको विषयमा स्थानीयबासीले समाचार प्रकाशन र प्रशारणकालागि फोनबाटै सुचना टिपाउँदा कुनै न कुनै दिन त्यस ठाउँमा पुग्ने रहर जागेको थियो । एक पटक छौंङ्खा पुग्नैपर्छ भन्ने लागीरहेको थियो । 

छौंङ्खा परिसरमा साकेला नाच्दै स्थानीय ।
छौंङ्खा चण्डी स्थानलाई स्थानीय राई समुदायले नेपालकै पहिलो चण्डी (साकेला) स्थानकारुपमा लिने गरेका कारण पनि मेरो मन त्यसतर्फ तानिएको थियो । चिताएको कुरो पुगेझैँ भयो मेरा लागि । डम्बर्खुशिवालयका समाजसेबी बिदुर राईको निमन्त्रणामा गत मंसिर तेश्रो साता छौंङ्खा चण्डी (साकेला) स्थान पुग्ने अवशर जु¥यो । डम्बर्खुशिवालय नै घर भएका पत्रकार भाई युवराज रोइलाको सहयोगमा दिक्तेलबाट छौंङ्खा चण्डी (साकेला) स्थान पुगियो । सदरमुकाम दिक्तेलबाट पैदल हिँडेका हामी खोटाङबजार, चिसापानी, हुम्मापोखरी हुँदै दुई दिनमा छौंङ्खा पुगेका थियौँ । खोटाङबजारको लोकल थोकको खाना र चिसापानीको अगुवा किसान देबेन्द्र श्रेष्ठले उत्पादन गरेको माछाको स्वादले अहिले पनि मुख रसाउँछ । खोटाङ र भोजपुरको सिमामा पर्ने भञ्ज्याङखर्कबाट दुई घण्टा ओरालो झरेपछि छौंङ्खा पुग्न सकिन्छ । बरको फेदमा रहेको छौंङ्खा मन्दीरमा टाढैबाट दर्शनार्थीको भीड, साकेला नाचमा बजाइएको ढोलझ्याम्टा र गाइएको गीत गुञ्जिरहेको सुनिन्थ्यो । बाटोमा ओहोर–दोहोर गर्नेको भीड भएका कारण उकाली ओराली गर्दाको पीडा महसुस भएन । 
खोटाङको डम्बर्खुशिवालय–९ मा पर्छ छौंङ्खा चण्डी (साकेला) स्थान । सो ठाउँबाट केही मिनेटमै पार गरिने बुवाँ खोलापारी भोजपुरको बालंखा गाबिस पर्छ । खोटाङको डम्बर्खुशिवालय, बोपुङ र भोजपुरको बालंखा, वासिमथर्पु, यूँ, थिदिंखा, पाङचा गाबिसको बीचमा रहेको चण्डी स्थानमा हरेक बैसाखे पूर्णीमाको दोश्रो सोमबार र मंसिर पूर्णीमाको पहिलो सोमबारका दिन पूजाआजा गर्ने र मेला लगाउने प्रचलन छ । बरको फेदमा रहेको छौंङ्खा मन्दीरलाई चारैतिरबाट मान्छेभन्दा अग्लो पर्खालले घेरिएको छ । भित्र जान आउनकालागि दुई वटा ढोका बनाइएको छ । छौंङ्खा मन्दीरमा दर्शनार्थीले चढाएको घण्टी र त्रिसुलको थाक नै बनेको रहेछ । मनोकांक्षा पूरा हुने बिश्वासमा सेतो भालेको बली दिने प्रचलन रहेछ छौंङ्खा मन्दीरमा । एउटा ढोकाबाट भालेलाई भित्र लैजाने र बली दिएर अर्को ढोकाबाट निकालिने गरिएको रहेछ । भालेको बली दिन भित्र प्रबेश गर्ने र बली दिएर बाहिरिने दर्शनार्थीको घुइँचो थियो । बिशेषगरी राई समुदायले पुज्ने छौंङ्खामा सबै जातजातीले पूजाआजा गर्छन् । धार्मिक सहिष्णुताको नमूना बनेको रहेछ छौंङ्खा । जेठमा १२ सय भाले र मंसिरमा ७ सयको हाराहारीमा भालेको बली चढाइने स्थानीयले बताए । छौंङ्खा चण्डी (साकेला) स्थान परिसरमा लागेको मेलामा सुन्तला, बदाम, तरुल लगायत स्थानीय फलफुलको बजार थियो । 
सदरमुकामबाट दक्षिणी क्षेत्रमा रहेको छौंङ्खा स्थान दिक्तेलबाट १९ कोस टाढा पर्छ । दिक्तेल र भोजपुर दुबैतिरबाट पैदल छौंङ्खा पुग्न सकिन्छ । उकाली ओराली, जैबिक बिबिधता, रहनसहन, साँस्कृतिक बिबिधता अध्ययन, चिसो हावापानी, लोकल स्वादकालागि छौंङ्खा यात्रा उपयुक्त गन्तव्य रहेछ । बिभिन्न जातजातीको मिश्रित बसोबास रहेको यस ठाउँका स्थानीयको सत्कारमा हामी लपक्क भयौँ । दुरगमको गाउँमा रहेपनि छौंङ्खामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्दो रहेछ । छौंङ्खा चण्डी थानमा खोटाङ बाहेक भोजपुर, उदयपुर, धनकुटा, मोरङ, धरान, काठ्माडौं लगायतका स्थानका दर्शनार्थीको उपस्थिति देखियो । हरेक जेठमा पर्ने उभौली पूर्णिमाको पञ्चमीको सोमबारका दिन र मंसिरमा पर्ने उद्यौलीको पूर्णिमाको पञ्चमीको सोमबारका दिन पूजाआजा गर्ने, मेला गर्ने र साकेला नाच्ने प्रचलन रहेछ । सोही दिन बालंखामा भने मेला मात्र लाग्ने गरेको रहेछ । छौंङ्खासम्म झर्न नसक्नेले बालंखामै पूजाआजा गरेर मेला भर्दा रहेछन् । छौंङ्खामा पर्व बाहेक अन्य दिनमा पनि पूजाआजा र दर्शन गर्न आउनेको भीड लागि नै रहँदो रहेछ । धनकुटाहुँदै बालंखा बजारसम्म ग्रामिण सडक बनेपछि पछिल्लो समय छौंङ्खा चन्डी आउनेको संख्या बढेको समाजसेबी बिदुर राईले बताए । 

छौंङ्खा चण्डी थानभित्र भालेको बली चढाउँदै स्थानीय ।
छौंङ्खा चन्डीमा बजाउनका लागि दश जोर पूराना पगरी (ढोल) छन् । त्यसलाई छौंङ्खा मन्दीरमै गोलो घेरामा राखिएको थियो । दश वटा ढोलमध्ये खोटाङमा चार जोर र भोजपुरमा ६ जोर राख्ने प्रचलन छ । ती पूराना ढोललाई उभौली र उद्यौलीको पूर्णिमाको पञ्चमीको सोमबारका दिन मात्र बजाउन मिल्ने बिश्वास रहेछ । अघिल्लो दिन आइतबार खुला गरिएको ढोल सोमबारसम्म बजाएर थन्को लगाइन्छ । उभौलीको बेलामा यामाङ तोङ्मा (पानी) माग्न पनि तिनै ढोल प्रयोग गर्ने प्रचलन छ । एक जोर ढोल बराबर एक नाक्छोङ (पूजारी)को व्यवस्था गरिएको रहेछ । 
नेपालकै पूरानो साकेला थान
छौंङ्खामा भेटिएको एउटा पूरानो घण्टीमा उल्लेख मितीले स्थानीय यस चण्डीलाई नेपालकै सबैभन्दा पूरानो साकेला थानकारुपमा दाबी गर्दा रहेछन् । त्यो चाँदीको घण्टीमा उल्लेख मिति अनुशार बिक्रम संबत ६०६ सालमा चण्डी स्थान स्थापना भएको छौंङ्खा चण्डी थान संरक्षण समितिका उपाध्यक्ष दिपक राईले जानकारी दिए । 
छौंङ्खा स्थापनाका विषयमा एउटा रोचक किंवदन्ती छ । सो किंवदन्तीलाई सोही स्थानमा ताम्रपत्रमा लेखेर राखिएको छ । ताम्रपत्र अनुशार नाम्नु र हाङखिम नामका ससुरा ज्वाई थिए । उनीहरुले भोटबाट नुन लिएर फर्कनेक्रममा कुखुराको अण्डा भेट्यो । त्यसलाई गाउँमा लैजानेक्रममा सो स्थानमा आइपुगेपछि एक जनालाई दिसा लाग्यो र पर्खिन लगाएर दिशा गर्न गए । फर्किदा त्यो अण्डा उठाउनै नसकिने ढुंगा बनेकोले छौंङ्खा चन्डी थानकारुपमा पुज्न थालिएको हो । भाकल गरेमा मनोकांक्षा पूरा हुने र चिताएको पुग्ने बिश्वासमा जिल्ला बाहेक अन्य जिल्लाका दर्शनार्थी छौंङ्खा आउने गरेका छन् । 

पृथ्बीनारायणले तरबार त्रिसुल चढाए   
छौंङ्खामा पृथ्बीनारायण शाहले तरबार र त्रिसुल समेत चढाएको इतिहास रहेको स्थानीय बताउँछन् । बाईसे–चौबिसे राज्य एकीकरणकाक्रममा पृथ्बीनारायण शाहले किरात राजामाथि जितको कामना गर्दै छौंङ्खामा एक थान तरबार र एक थान त्रिसुल चढाएको बुढापाकाको भनाई छ । छौंङ्खामा ढोल बजाउँदा काठ्माडौंको किरातेश्वर थर्किने कहावत अहिले पनि छ । हाल पनि किरातेश्वरमा खुर्मी, चिन्डो र केराको पात लिएर कछुर (अदुवा) काटेर हानेमा किरातेश्वर उठ्ने किंवदन्ती छ । त्यही भएर तत्कालिन राणा शासकले किरातेश्वरमा बोका र राँगाको बली दिएर त्यो शक्ती नाश गरेको सुन्न पाइन्छ । राणा शासकहरु छौंङ्खा चन्डीमा आएर ‘राणा ज्यू, राणा ज्यू’ भन्दै गीत गाउन लगाएको र ४÷५ वर्षअघिसम्म छौंङ्खामा यही गीत गाउने प्रचलन थियो तर, हाल राणाको गुणगान गाउने चलन हटाइएको छ । त्यसको सट्टा साकेला गीत गाउँदै नाच्ने थिति बसाइएको छ । 
यातायात, सञ्चार, भौगोलिक बिकटता, जनचेतनाको कमी लगायतका कारण हालसम्म ओझेलमा रहेको छौंङ्खा चण्डी थानको धार्मिक पर्यटन प्रबर्धनकालागि पहल भइरहेको समाजसेबी राई बताउँछन् । यसकालागि हाल भोजपुर र दिक्तेलबाट छौंङ्खा जोड्ने सडक निर्माणको काम भइरहेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post