sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » » पूर्वको पशुपति, आस्थाको त्रिवेणी हलेसी

विश्वको ध्यान खिच्न सफल पूर्वको पशुपति भनेर समेत परिचित प्रसिद्ध ‘हलेसी गुफा’ पुर्वी नेपालको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलदेखि करिब ९ कोश पश्चिम महादेबस्थान गाविसमा अवस्थित छ ।

८६३५ डिग्रीदेखि ४६४० डिग्री पुर्वी देशान्तर र २७१० डिग्री देखि २७१४ डिग्री उत्तरी आक्षांशमा फैलिएको हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाईमा रहेको छ । किरात, बौद्ध तथा हिन्दु धर्मको संगमस्थल मानिने यस हलेसी धाम कित्ता नम्बर ६७ को करिब २६ रोपनी क्षेत्रफलमा फैलिएको छ । समग्रमा यो ठाउँ गुराँसे, तुवाचुङ (मलाथुम्की), रुपाकोटजस्ता सदाबहार डाँडाको काखमा अवस्थित छ ।


इतिहासका अनुशार पृथ्बीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिले यस भूमीमा किराती राजा ‘होलैसुङ’ ले शासन गरेको थियो । पछिल्लो समयमा सोही ‘होलैसुङ’ शब्द अपभ्रंश भइ ‘हलेसी’ नाम रहन गएको किंवदन्ती छ । समयको परिवर्तनसंगै यस ठाउँ विश्वभरी ‘हलेसीधाम’को नामले प्रसिद्ध छ । मनोरम प्रकृतिको छटाले भरिपूर्ण एबं बिभिन्न अनौठा र आकर्षक प्राकृतिक चट्टान (शिला)का आकृतिहरुले झकीझकाउ हलेसीधाममा बिशेषत- शिब गुफा, बसाहा गुफा र भैरब गुफासहित तीन वटा महत्वपूर्ण गुफाहरु रहेका छन् । यस्ता अनौठा–अनौठा प्राकृतिक चट्टानले बनेको आकर्षक दृश्यले हलेसीमा घुम्न आउने जो कोहीको मन लोभ्याईरहेको छ ।

हलेसीमा हेर्न लायक ठाउँहरु
प्रस्ताबित किरात प्रदेश अन्तरगत खोटाङ जिल्लाको महादेब स्थान गाबिस–४ मा बाक्लो जंगलले ढाकिएको एउटा थुम्को (डाँडा) रहेको छ । सोही डाँडाको टाकुरामा आकाशतिर फर्केको एउटा ठूलो चट्टानको गुफा छ । त्यही गुफालाई महादेब÷शिब गुफा भनिन्छ । यसै गुफाको नामबाट यस गाबिसको नाम समेत महादेबस्थान रहन गएको हो । यस खाल्डो आकारको गुफाभित्र प्रबेश गरी करिब तीनसय फिट मुनी ओर्लेपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजार जनाभन्दा बढि मानिस अटाउन सकिन्छ । गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेब (शिब) र गणेशको प्राकृतिक मुूर्ति एकैसाथ अवस्थित छ । त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीस्थान छ । सो स्थानमा पार्वतीले गणेशजीलाई कोक्रोजस्तो देखिने शिलामा दुध ल्याइरहेको आकृति छ, जुन ठाउँमा निसन्तान मानिसले सन्तान माग्ने प्रचलन छ । गुफाभित्रको उत्तरी कुनामा धर्मद्धार, पापद्धार रहको छ । त्यस द्धारबाट धर्मात्मा मानिस छिर्न सक्ने र अधर्मीहरु छिर्न नसक्ने किंवदन्ती रहिआएको छ । यस बाहेक जन्मद्धार, स्वर्गद्धार, कर्मद्धार, तेत्तिसकोटी देवताका प्रतिमूर्तिलगायतका बिशेष महत्वका ढंगाका प्राकृतिक मूर्तिहरु समेत यसै महादेब गुफाभित्र देख्न सकिन्छ ।
महादेब गुफादेखि करिब सय मिटर पश्चिमतिर बसाहा गुफा रहेको छ । यो गुफा करिब २२० फिट लामो र ५० फिट चौडा भएर फैलिएको छ । एकै पटकमा सयौं जना मानिस सजिलै भित्र–बाहिर गर्न सकिने यस गुफाबाट करिब २१० फिट भित्र प्रबेश गरेपछि खुल्ला, उज्याले आँगनमा पुगिन्छ । त्यहाँ चट्टानको प्वालबाट खुल्ला आकाश देख्न सकिन्छ । त्यस ठाउँको पश्चिमी कुनाबाट हात थापेर महादेबसंग दुध माग्ने प्रचलन छ । दुध माग्दा भाग्यमानीको हातमा दुध र अभागीको हातमा पानी झर्ने बिश्वास गरिन्छ । त्यस्तैगरी सोही ठाउँदेखि उत्तरी दायाँ कुनामा हात्तीको सुँडमा गणेशको मूर्ति पनि अवस्थित छ । यस बसाहा गुफामा नन्दी भृंगीको मुर्ति, गौरीशंकर, गोमन सापलगायतका प्राकृतिक मूर्तिहरु समेत छन् । त्यस्तैगरी महादेब गुफादेखि करिब ३० मिटर पुर्वपट्टि आकर्षक भैरब गुफा अवस्थित छ । यस गुफाको पनि आफ्नै महत्व र बिशेषता छ । महादेबलाई बृषासुर÷भष्मासुर÷बकासुर राक्षशबाट बचाउन पार्वतीको रुप धारण गरी भगवान बिष्णु कैलाशबाट यस ठाउँमा आएर उक्त राक्षशलाई झुक्याएर भष्म गरिदिएका थिए । जुन अवशेषहरु त्यस भैरब गुफामा रहेको बिश्वास गरिन्छ । त्यसैले यस गुफालाई भष्मासुर गुफा पनि भनिन्छ । दुंदेलो गुफा, गर्दुङ गुफा पनि यहाँका प्राकृतिक सुन्दरता हुन् ।
त्रि–धार्मिक स्थल
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको त्रिगमस्थल ‘हलेसीधाम’ नेपालको थुप्रै तिर्थस्थल एबं पर्यटकीय स्थलहरुमध्ये एक प्रमुख स्थल हो । प्राग–ऐतिहासिक कालमा किरातीहरुको पुर्खा (पुर्वज) खोक्चिलीप्पा/रैछाकुले/हेच्छाकुप्पा यस हलेसी गुफामा बसेको किंवदन्ती छ । खोक्चिलीप्पा सानै हुँदा उनका दिदीहरु तायामा र खियामा हराए । पछि, उनी आफु केही सामथ्र्यवान र बुझ्ने भएपछि हराएका चेलीहरुको खोजी गर्न वापा (कुखुरााको भाले)लाई पठाउँछ, उता तायामा र खियामा भने तुवाचुङ/जायजुम (हालः महादेबस्थान–१ मा पर्दछ) मा कपासको खेती गरेर तान बुन्दै बसिरहेका थिए । यसरी भालेको सहायताले दुबै चेलीहरु भाई खोक्चिलिप्पाको घर हलेसी गुफा पुगेको किंवदन्ती छ । धेरै समयपछिको त्यस ऐतिहासिक भेटघाटको खुसीयालीमा माईतीचेली मिलेर धुमधामसंग मुन्धुम गाउँदै, ढोलझ्यम्टा बजाउँदै साकेला शिली नाचे । त्यसैबेलादेखि किरातीहरुले यस भूमीलाई आफ्नो पितृका रुपमा पुज्दै आएका छन् । यहाँ बर्षेनी किरातीको महान चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुङगा, सोलुखम्बुलगायतका किराती भेला भइ आफ्नो पितृलाई पुज्ने गर्दछन् । पितृलाई अक्षता, अदुवा, वासिम (जाँड), आराखा (रक्सि) चढाएर मुन्धुम गाउँदै ढोलझ्याम्टा बजाएर साकेला सिली नाच्दै पुजा गर्ने गर्दछन् ।

अर्कातिर हिन्दु धार्मिक किंवदन्तीअनुशार सत्ययुगमा महादेब भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा बृषासुर÷भष्मासुर÷बुकासुर नाम गरेको राक्षशले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस्’ भन्ने बरदान मागे । मातेर लट्ठ परेका महादेबले पनि बिचारै नगरी ‘तथास्तु’ बरदान दिए । तर, बरदान पाएपछि बुकासुरले महादेबकै टाउकामा हात राख्न तयार भए । भष्म हुने डरले महादेब पनि ज्यान जोगाउन भाग्न थाले । भाग्दा–भाग्दा संसार घुमे तर बुकासुरले महादेबलाई खेद्न छाडेनन् । अन्तमा भाग्दै जाँदा हलेसीको यस डाँडालाई फोडेर चट्टानभित्र प्रबेश गरे र त्यही अलप भए । उसबेलादेखि नै यहाँ महादेबको बास रहेको बिश्वास गरिन्छ ।
त्यस्तै बोद्धधर्मअनुशार यस भूमीमा सयौं बर्ष पहिले महान बौद्धगुरु पद्यमसम्भवले बर्षौँ तपस्य गरी बुद्धत्व प्राप्त गरेको पबित्र भूमी हो भन्ने किंवदन्ती छ । तसर्थ, त्रिधार्मिक महत्वका धरोहर हलेसी कसैकोलागि नौलो नाम हैन । यहाँ बर्षेनी बिश्वका किरात, बौद्ध तथा हिन्दुधर्मावलम्बीहरु हजारौंको संख्यमा भित्रिने गरेका छन् । बिश्व अहिले धार्मिक द्धन्द्धमा फस्न लागीरहेको बेला बिश्वले यहीबाट धार्मिक सहिष्णुताको पाठ सिक्नु जरुरी छ, जहाँ किरात, बौद्ध, हिन्दु सबैले एकै थलोमा एकैसाथ पुजाआजा गर्दै आइरहेका छन् ।

किरात राजा शङ्खोहाङ, लेलिमहाङ, खम्सोहाङ, बौद्ध धर्मगुरु पद्मसम्भव, मिर्चैया बाबा श्रीदामोदरानन्द ब्रह्मचारी, कालिदास बाबाका साथै हिन्दुधर्म गुरु शंकराचार्य समेतको आगमन भइसकेको यस पवित्र मन्दीरमा बि.सं. २०४४ सालमा तात्किालिन भुटानी राजा जिग्मेसिग्मे वाङचुग समेतको आगमन भइसकेको छ । यस बाहेक नेपालका राजा बीरेन्द्रदेखि ज्ञानेन्द्र तथा पुवप्रधानमन्त्री शेरबहादुर देउवादेखि खिलराज रेग्मी, राष्ट्रपति डा. रामबरण यादव लगायतका बिशिष्ट व्यक्तीहरुले हलेसीमा दर्शन तथा पूजापाठ गरिसकेका छन् । धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण बिश्वप्रसिद्ध तिर्थस्थल हलेसीको दर्शन गर्नाले दुःखबाट मुक्ती मिल्ने, आपत बिपतमा बचाउने, सन्तान नहुनेलाई सन्तान लाभ हुने, खडेरी, बाढीपहिरो, रोगव्याधीबाट बचाउने बिश्वास रहिआएको छ । मनोकांक्षा पूरा हुने तथा आफन्तको मृतात्माले मुक्ती पाउने बिश्वासमा रात भर जाग्राम बसी सतबीज (सय थरीका बीउबीजन) छर्ने चलन पनि बिधमान छ । यहाँ बर्षेनी रामनवमी, महाशिबरात्री, बालाचतुर्दशी, तिज, हरिबोधनी एकादशी, उभौली–उधौलीलगायतका अवशरमा हप्तौं दिनसम्म मेला लाग्ने गर्दछ । जुनबेला यहाँ पुजाआजा, जप–तप, दान–धर्म, तिर्थब्रतकालागि देशी–बिदेशी तिर्थालु भक्तजनहरुको घुईँचो लाग्ने गरेको छ । जीवनमा एक पटक हलेसी पुगेरै छाड्ने प्रतिज्ञा गर्नेहरु पनि प्रशस्त भेटिन्छन् ।
हलेसी कसरी पुग्न सकिन्छ ?
हलेसीधाम पुग्नको निमित्त हवाईमार्ग र धावनमार्ग दुबैको राम्रो सुबिधा छ । हलेसी दर्शन गर्न जानका लागि हलेसीभन्दा ४ कोश टाढा रहेको लामीडाँडा बिमानस्थल उपयुक्त छ । हवाईमार्ग मध्ये खोटाङ जिल्ला सदरमुकाम दिक्तेल नजिकै खाल्लेस्थित मनमायाँ राई खानीडाँडा बिमान स्थल पनि एक हो । त्यहाँबाट सदरमुकाम दिक्तेलहुँदै हलेसी जान सकिन्छ । यसबाहेक, हेलीकोप्टरबाट सोझै हलेसी पुग्न सकिन्छ । त्यसो त अहिले काठमाडौंबाट सुचारु भएका मध्येपहाडी राजमार्गहुँदै आफ्नै सवारीसाधन मार्फत सिधै हलेसी जान र आउन सकिन्छ । अहिले पुर्वपश्चिम राजमार्गसंग जोडिएको सिराहा–सप्तरी–उदयपुर कटारीदेखि हलेसीसडक पनि सञ्चालनमा रहेको छ । त्यहाँबाट समेत हलेसी पुग्न सहज र सजिलो छ । त्यसैगरी ईलाम–धनकुटा–भोजपुर–दिक्तेल सडक खण्डबाट पनि हलेसी पुग्न सकिन्छ । यसरी चारैतिरबाट सडकले छोए पछि हलेसीमा पर्यटकहरुको भीड लाग्न थालेको छ ।
पुर्वको पशुपतिनाथको नामले परिचित यस हलेसी मन्दीरको उचित प्रचार प्रसार एबं संरक्षण संबद्र्धन गर्न सरोकारवालाको ध्यान नजानुले अझैसम्म ओझेलमा परिरहेको छ । विश्वप्रसिद्ध धार्मिक एबं पर्यटकीय स्थल हलेसीको प्रचार–प्रसारमा अझै व्यवपकता दिन सके, खाना, आवास, सुचना, स्वास्थ्य लगायतका पुर्वाधारको उचित प्रबन्ध गर्न सके, तिर्थयात्री एबं पर्यटकहरुकालागि टिकट बुकिङ र यातायात सेवाको राम्रो प्रबन्ध गर्न सके हलेसी मुलुककै धार्मिक पर्यकीय स्थल बन्नेमा दुई मत छैन ।



यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post