sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » जोवनमा शासनसँग, बुढेसकालमा रोगसँग लड्दै प्रजातन्त्र सेनानी

खोटाङ २७ असार । जिल्लाको उत्तरी गाबिस ज्यामिरे–९ का बलबहादुर रुम्दाली राईको अधिकांश जवानी प्रजातन्त्र प्राप्तीकालागि लड्नमै बित्यो ।
हाल ८५ वर्ष पुगेका रुम्दालीको बैंसको तातो जोस र रातो रगत जहानीय राणा शासन बिरुद्ध बन्दुक उठाउनदेखि प्रजातन्त्र स्थापनासम्मै खर्च भए । २००७ सालमा प्रजातन्त्र प्राप्तीकालागि लाल सेनाको सेनानीको जिम्मेवारी लिएर बिभिन्न लडाईँमा मोर्चा सम्हालेका उनले २०१७ सालको सत्याग्रह, २०३६ सालको जनमत संग्रह देखि २०४६ सालको प्रजातन्त्र स्थापनासम्म आफ्नो भूमीकालाई दर्बिलोरुपमा प्रस्तुत गरे । 


बिरामीले थलिएका बलबहादुर रुम्दाली राई एमाले नेताहरु माझ । तस्बिर: बबी चामलीङको फेसबुक  

जीवनका अधिकांश समय प्रजातन्त्रकालागि बिताएका रुम्दालीजस्ता प्रजातन्त्र सेनानीकै त्याग, तपस्या र बलिदानले देशमा प्रजातन्त्र उदाए । देशबाट जहानीय शासन हट्यो, प्रजातन्त्र आयो । जनता सार्वभौमिक बने । गाउँ–गाउँमा उनको र उनीजस्ता योद्धाको हाईहाई भयो । तर, जीवनभर ‘मेरो देश र प्रजातन्त्र’ भनेर समर्पित भएका रुम्दाली बृद्धावस्थामा भने आफ्नै शरीरको उपचार गर्न नसकेर समस्यामा छन् । 

घर खोटाङ भएपनि उनी हाल प्रकासपुर–८ सुनसरीमा छोरी सुबासी र ज्वाईँ भवानीशंकर अधिकारीको आश्रयमा बसिरहेका छन् । दम र फोक्सोमा भएको समस्यका कारण राई २ वर्षदेखि ओछ्यानमा थलिएका छन् । बलबहादुरको फोक्सो ‘ड्यामेज’ हुन लागेकाले दैनिक औषधिकाभरमा बचाइएको ज्वाईँ भवानीशंकरले बताए । समस्या आइरहने भएकाले उनलाई बेला–बेलामा अस्पताल लगेर अक्सिजन दिनुपर्ने बाध्यता छ । उनको उपचारमै मासिक दश हजार खर्च सकिने गरेको छ । ‘बृद्ध बुबाको औषधि उपचारमा मासिक दश हजार बराबरको खर्च हुन्छ,’ भवानीशंकरले भने, ‘समस्य बल्झिने बित्तिकै अस्पताल लगेर अक्सिजन दिनु पर्छ ।’ प्रजातन्त्र स्थापनाकालागि पसिना बगाएका उनलाई रोगले थला पारेको र उपचारको विषयमा अहिले कसैलाई चासो छैन ।
 ओछ्यानबाट कम्तीमा शुभेच्छुकको सहयोगको अपेक्षा गर्छन् उनी । तर, उपचारमा कसैले ध्यान दिएको छैन । कुनै समय सबैको अगाडि हाईहाई कमाएका राईलाई अहिले ओछ्यानमा सहानुभूतीसम्म नमिल्दा हुनसम्म दुःख लाग्छ । एउटा निष्ठाबान राजनितिज्ञको जीवनको उत्तराद्र्धमा देखिएको यो नियतीले अन्य नेतालाई समेत छुन सकेको छैन । उनले बिरामीका कारण अप्ठ्यारो परेकाले सहयोगको अपेक्षा गरेको प्रकासपुर पुगेर घेटघाट गरेका एमाले खोटाङका अध्यक्ष बबी चामलीङले बताए । ‘कुराकानी गर्नेक्रममा उहाँ गम्भीर हुनुभयो,’ बलहादुरसँग शनिबार भेटघाट गरेका चामलीङले भने, ‘सहयोग र सम्मान गर्नुहोस् भन्दिन, गर्नु भए आभारी हुने छु भन्नुभयो ।’ पार्टीकै निति र निर्देशन अनुशार ईमान्दारीताकासाथ काम गरे तर, समस्या परेकोबेला पार्टीको नजर नपर्दा उनी दुःख व्यक्त गर्छन् । 
२०४९ सालतिर कांग्रेसका जिल्ला सभापति बनेका रुम्दाली २०४८ सालको आमनिर्वाचन र २०५१ सालको मध्यवधि निर्वाचनमा क्षेत्र नम्बर १ बाट सांसदको उम्मेदवार बनेपनि पराजित भएका थिए । सुकुम्बासी समस्य समाधान आयोगको जिल्ला अध्यक्ष बनेका उनी करिब १५÷२० वर्षअघिदेखि जिल्ला बाहिर बस्न थालेको कांग्रेस खोटाङका सह–सचिव प्रेमकुमार राई बताउँछन् । ३ वर्षअघिसम्म उनी पुर्खौली घर आउने जाने गरेका थिए । तर उमेर ढल्केर हिँडडुल गर्न नसक्ने अवस्था भएपछि उनी ज्यामिरे जान आउन सकेका छैनन् । कहिले काठ्माण्डौं, कहिले सुनसरी र कहिले ज्यामिरे गर्दैआएका राई तीन वर्षदेखि छोरीज्वाईँकै घरमा बस्दैआएका छन् । उनका तीन छोरा र तीन छोरी छन् । उनीहरु आ–आफ्नै सुतीखेतीमा छन् । 
दुई वर्षपछि शुभेच्छुकको नजर 
प्रजातन्त्रका खातिर लडेका बलबहादुर बिमारले थलिएको दुई वर्षसम्म कसैको नजर पर्न सकेन । उनको दयनीय अवस्था देखेर गत माघमा कांग्रेसका नेता तिलक तिम्सिनाले उपचार गर्न भन्दै २४ हजार थमाइदिएका थिए । समस्यकै कारण त्यो सहयोगलाई उनले हर्षसाथ स्वीकार गरे । त्यसबाहेक उनको हातमा केही सहयोग नपरेको ज्वाईँ भवानीशंकर बताउँछन् । कांग्रेस खोटाङले उनको सहयोगमा केही समयअघि बीरकाजी राईको संयोजकत्वमा सहयोग समिति गठन गरे तर, लक्षीत काम गरेन ।
 बलबहादुर खोटाङ्गे भएको नाताले खोटाङका सबै राजनैतिक दलले संयुक्तरुपमा उनको उपचारकालागि पहल गर्ने व्यवस्थाकालागि स्थानीय शान्ति समितिका पुर्वसंयोजक ललितकुमार राईको संयोजकत्वमा आईतबार चार सदस्यीय सहयोग समिति गठन गरिएको छ । आर्थिक अभावमा रोगको उपचार गराउन नसकेर दुई वर्षदेखि थलिएका रुम्दालीको उपचारकालागि रकम जुटाउनकालागि चार सदस्यीय समिति गठन गरिएको शान्ति समितिका संयोजक श्यामराज राईले बताए । सबै दलको प्रतिनिधित्व रहनेगरी बनाइएको चार सदस्यीय समितिले खाता खोलेर व्यक्ती तथा कार्यालयबाट स्वेच्छिक रकम उठाउन थालिसकेको छ । इटहरी पुगेकोबेला फेसबुकको माध्यमबाट प्रकाशपुर पुगेका एमाले खोटाङका अध्यक्ष बबी चामलीङ लगायतले योद्धा बलबहादुरको जीबन बचाउ र सम्मानमा सहयोग जुटाउने वाताबरण बनाउन शान्ति समिति समक्ष प्रस्ताब गरेको केही दिनमै सहयोग समिति बनाइएको हो । चामलीङ लगायतको टोलीले निष्ठावान योद्धा बलबहादुर खोटाङका सबैको साझा व्यक्तीत्व भएकाले उनको स्वास्थ्यपचारमा सबै लाग्नुपर्ने बहस चलाएसँगै शनिबार कांग्रेस खोटाङका सभापति नरेश श्रेष्ठको अगुवाईमा काठ्माण्डौंमा बलहादुरको उपचारकालागि ९६ हजार ६ सय रुपैयाँ संकलन गरिएको छ । ‘पार्टीकैतर्फबाट केही रकम संकलन भएको छ,’ कांग्रेस सह–सचिव प्रेमकुमार राईले भने, ‘रकम अरु बढाएर तत्काल बिरामीको हातमा सहयोग रकम पु¥याउने छौँ ।’ 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post