sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » अपांगको पक्षमा लड्दै आएका ईन्द्रबहादुरको गाडीभित्रै मृत्यु

खोटाङ, ६ मंसिर । अपांगको हकहितमा लामो समयदेखि लड्दै आएका अपांग सेवा संघ खोटाङका अध्यक्ष ईन्द्रबहादुर राईको मृत्यु भएको छ । सरकारी सेवामा रहेपनि अपांगको हकहितमा एक दशकभन्दा बढि समयदेखि लड्दैआएका राईको शनिबार बिहान मृत्यु भएको हो । हर्नियाको समस्यबाट पिडित राईलाई उपचारकालागि राजधानी लैजानेक्रममा नुनथला पुगेपछि गाडीमै मृत्यु भएको आफन्तले बताएका छन् ।

 उनी जिल्ला मालपोत कार्यालय खोटाङमा नासु पदमा कार्यरत थिए । कर्मचारी संयन्त्रमा सहयोगी, मिलनसार र ईमान्दार व्यक्तीकारुपमा पहिचान बनाएका राईलाई सोही कारण २०६० सालदेखि हालसम्म अपांग सेवा संघको अध्यक्षको भूमीकाले कहिल्यै छाडेन । ‘अपांगको क्षेत्रमा काम गर्ने योद्धा गुमाएका छौँ,’ अपांग सेवा संघ खोटाङका निर्देशक कृष्णप्रसाद आचार्यले भने, ‘अपांगको क्षेत्रमा निरन्तर लागीपर्ने अभिभाबक गुमाएको पिडा बोध भएको छ ।’ उनको मृत्युले उनका अधिकांश शुभेच्छुकको आँखा रसाएको छ । उनको सम्मानमा अपांग सेवा संघले संघको झण्डा ओढायो । अपांगता भएका व्यक्तीको हकहितका पक्षमा डटेर लाग्ने बानीकै कारण अपांग सेवा संघको हरेक अधिबेसनले उनको बिकल्प नदेखेको हो । उनकै नेतृत्वले कृषिबिज्ञ मदन राईबाट निशुल्क जग्गा जुटाएर दिक्तेलमा अपांग सेवा संघको आफ्नै भवन बनाएको छ । उनकै पालामा अपांगता भएका व्यक्तीको तथ्यांक संकलन लगायत कैयौँ सचेतनामुलक तालिम सञ्चालन गरिए । दोर्पाचिउरीडाँडा–४ बुवासुङ घर भएका राईको श्रीमती सहित एक छोरी र दुई छोरा छन् । ईन्द्रबहादुरको मृत्युले अशल र इमान्दार नागरिक गुमेको राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवन श्रेष्ठले बताए । 
राम्ररी हिँडडुल गर्न नसक्ने राई २०५३ मा खरिदारमा नाम निकालेर सरकारी सेवामा प्रबेश गरेका थिए । स्नातकको रिजल्ट पर्खाइकाक्रममा २०५३ सालमा उनले लोकसेवाबाट खरिदारमा नाम निकालेका हुन् । इन्द्रबहादुर बुवा बजिरमान राई र आमा लगनशोभा राईको पाँच दाजुभाई र एक छोरीपछिका कान्छा छोरा हुन् । उनी २०२७ साल फागुनमा जन्मिएका हुन् । 
प्रेरणादायी संघर्ष  
शारीरिक अपांगता भएपनि प्रतिष्ठित स्थानमा पुगेका ईन्द्रबहादुर संघर्षका नमूना हुन् । प्रेरणाका श्रोत हुन् । सबैले गन्नेमान्ने उचाई प्राप्त गर्न उनले संघर्षका कैयौँ ठेला उक्काए । बिद्यालयसम्म धाउन खुट्टाको भरपर्दो साथ थिएन । अभरिलो खुट्टाको भरमा विद्यालय जान र आउन उनका शरीरलाई कम्ती सकस थिएन । अपांगलाई हेप्ने र हेय दृष्टिले हेर्ने उतिखेरको सामाजिक परिबेश उस्तै निर्मम थियो । आफ्नै आत्मबलका भरमा कक्षा ८ अध्यायन गर्न दिक्तेल आउँदा उनी सबैको नजरमा ‘अनौठो बस्तु’ बनेका थिए । बजारमा देख्ने सबैले फर्की–फर्की रमिता हेर्थे । तर, मिजासिलो स्वभावका कारण उनी सबै साथीको सबैभन्दा प्यारो पात्र बने । सुकराज राई (हाल दिक्तेल क्याम्पस प्रमुख), सन्तबीर राई, रामबहादुर राई, फुर्तीमान गुरुङ, राजेन्द्र गुरुङ लागयतका दौतरीहरुसँग होस्टलमा बसेका राईले कहिल्यै दाउरा किन्न परेन । साथीहरुले जंगलबाट दाउरा ल्याउँथे, त्यसको सट्टा उनले मासु किन्नु पथ्र्यो । 
२०३४ सालमा गाउँकै शितला माबिमा कक्षा–१ मा भर्ना भएर कक्षा ७ सम्म अध्यायन गरेका राईले २०४६ सालमा दिक्तेलको सरस्वति माबिबाट एसएलसि उत्तिर्ण गरेका थिए । उनले २०४९ मा प्रमाणपत्र र २०५१ सालमा स्नातक उत्तिर्ण गरेका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post