sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » औधोगिकग्राम स्थापनाका लागि स्थलगत अध्ययन

खोटाङ, २४ मङ्सिर । जिल्लामा औधोगिकग्राम स्थापनाका लागि स्थलगत अध्ययन सुरु गरिएको छ । जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका घरेलु तथा साना उद्योगलाई एउटै थलोमा ल्याएर एकीकृतरुपमा सञ्चालन गर्ने उद्देश्यले स्थापना गर्न लागिएको औधोगिकग्रामका लागि स्थलगत अध्ययन सुरु गरिएको हो । 
औधोगिकग्रामका लागि आवश्यक पर्ने जग्गा, पानी, विद्युत र सहरीकरणको सम्भावनाका विषयमा अध्ययन थालिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ खोटाङका अध्यक्ष रामबहादुर राईले बताउनुभयो । नेपाल सरकारको लगानीमा स्थापना गर्न लागिएको औधोगिकग्रामका लागि दिक्तेल नगरपालिकाको वात्तल र तालखर्क तथा पाथेका गाविसको ठूलोबारी आसपासको सम्भाव्यता अध्ययन गरिएको छ । 

पिकासो कन्सलटेन्सी प्रालि काठमाडौंका ईन्जिनियर मण्डु अधिकारीसहितको टोलीले गरेको स्थलगत अध्ययनको प्रतिवेदन कार्यालयमार्फत उद्योग मन्त्रालय पठाइने घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय खोटाङका निमित्त प्रमुख दिनेशकुमार राईले जानकारी दिनुभयो । “प्रतिवेदन पारित भएपछि योजना स्वीकृत हुन्छ ।” उहाँले भन्नुभयो, “औधोगिकग्राम स्थापना भएपछि खेर गइरहेका कच्चा पदार्थलाई प्रयोगमा ल्याएर आयआर्जन गर्न सकिन्छ ।”

कम्तिमा ५० रोपनी जग्गामा स्थापना गर्न लागिएको औधोगिकग्रामका लागि निःशुल्क जग्गा दिने जिल्लाका दाताको होटाहोट नै चलेको छ । आफ्नो क्षेत्रमा औधोगिकग्राम स्थापना गर्न सकिएमा स्थानीय स्रोत तथा साधनलाई प्रयोग गरेर आम्दानीका स्रोत बढान सकिन्छ भन्ने उद्देश्यले उनीहरु निःशुल्क रुपमा प्रयाप्त जग्गा दिन तयार भएका हुन् । 

जिल्लामा स्थापना गर्न लागिएको औधोगिकग्राम सगरमाथा अञ्चलकै ठूलो हुने उद्योग महासङ्घका अध्यक्ष राईले दाबी गर्नुभयो । “औधोगिकग्राममा घरेलु, साना, लघु, मझौला लगायत सबै किसिमका उद्योगहरु अटाइएको हुन्छ ।” उहाँले भन्नुभयो, “राम्रोसँग चलाउन सकेमा जिल्लाले आर्थिक समृद्धिमा कोल्टे फेर्नेछ ।”

औधोगिकग्राम आफैमा ठूलो हुने भएकाले यसका लागि लागि दीर्घकालिन सोचका साथ ठाउँ पहिचान गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “जिल्लामा कुनै योजना पर्नासाथ आफ्नो पायक पर्ने ठाउँमा तान्ने प्रचलन छ ।” उहाँले भन्नुभयो, “यसमा त्यस्तो हुनु दिनुहुन्न ।”

औधोगिकग्राम स्थापनाका लागि यसअघि गत असार २९ गते स्थानीय विकास अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय समिति गठन गरिएको थियो । औधोगिकग्रामलाई प्रभावकारी र विवादरहित बनाउन जिल्लास्थित राजनीतिक दललाई समेत समेटेर गठन गरिएको समितिले समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post