sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » एमालेले संसद अवरुद्ध गर्नुको कुनै औचित्य छैन : नेता राई

खोटाङ, १२ पुस । संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोककुमार राईले नेकपा एमालेले संसद अवरुद्ध गर्नुको पछाडि कुनै औचित्य नभएको दाबी गर्नुभएको छ । 
कार्यकर्ता भेटघाटका लागि गृह जिल्ला खोटाङ आउनुभएका बरिष्ठ नेता राईले मङ्गलबार दिक्तेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै एमालेले संसद अवरुद्ध गरेर देशलाई संकटतर्फ धकेलेको आरोप लगाउनुभयो । 

अहिलेको अवस्थामा जारी संविधानले मुलूक चलाउन नसक्ने भन्दै बरिष्ठ नेता राईले सबैको सहमतीमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । “अहिलेको संविधान ८० प्रतिशत संशोधन गर्नुपर्ने अवस्थाको रहेको छ ।” संसदीय दलका नेतासमेत रहनुभएका राईले भन्नुभयो, “सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावप्रति एमालेले संसद नै अवरुद्ध गर्नु निकासको बाटो हैन ।” 

दिक्तेलस्थित सगरमाथा होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेकपा एमाले जनताको नेतृत्व गर्ने पार्टी नभएको दाबी गर्नुभयो । “एमालेका कारण अहिले देश अनिर्णयको बन्दी भएको छ ।” एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “समस्या मात्रै खडा गर्ने नेता हुन सक्दैन ।”
स्थानीय तहको निर्वाचन सम्बन्धी पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिनुहुँदै नेता राईले देशमा पूरानै संरचनामा निर्वाचन गर्न नहुने बताउनुभएको छ । “मुलूक धेरै अगाडि बढीसकेको छ ।” उहाँले भन्नुभयो, “निर्वाचनको नाममा फेरि पछाडि हटिए देश ठूलो दुर्घटनामा फस्छ ।”

सोमबार खोटाङको सदरमुकाम दिक्तेल आउनुभएका नेता राई आज मङ्गलबार कार्यकर्ता भेटघाटमा व्यस्त हुनुहुन्छ । करिब हप्तादिन जिल्ला बस्नुहुने नेता राई पुस १६ गते दक्षिणी गाविस चिसापानीमा आयोजना गरिने पार्टीको कार्यक्रमलाई सम्बोधन गरेर राजधानी फर्कनुहुने पार्टीका जिल्ला अध्यक्ष नविन राईले जानकारी दिनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post