sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » » बराहपोखरी पर्यटन विकासका लागि ४५ लाख बजेट

खोटाङ, २५ मङ्सिर । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको पर्यटन विकासका लागि रु ४५ लाख बजेट विनियोजन गरिएको छ । बराहपोखरीलाई पर्यटन विकास गर्दै जिल्लाको आर्थिक समृद्धिमा सघाउ पु¥याउने उद्देश्यका साथ खोटाङ क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद विशाल भट्टराईको निर्वाचन क्षेत्र विकास कोषबाट बजेट विनियोजन गरिएको हो । 

विनियोजित बजेटबाट पोखरी वरिपरी घेराबार हाल्ने, पोखरीको भित्री भाग सफा गर्ने, पोखरीको बिचमा टप्पु निर्माण गर्ने र टप्पुमा सर्वधर्म मन्दिर निर्माण गरिने पोखरी संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष देविप्रसाद रेग्मीले बताउनुभयो । बाह्रै महिना पर्यटक तथा दर्शनार्थीको घुइँचा लाग्ने बराहपोखरीको लम्वाई ३३० मिटर र चौडाई २१० मिटर रहेको छ । 

करिब ४६८ हेक्टर क्षेत्रफल ओगटेको प्राकृतिक पोखरीमा विश्वमै दुर्लभ मानिने रातो माछा पाइन्छ । पोखरीमा भएका रातो माछाले पोखरीको रङ परिवर्तन गरे आसपासका गाउँमा महामारी फैलने धार्मिक विश्वास रही आएको छ । 

बराहपोखरी गाविसमा रहेको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी जिल्लाको मात्र नभइ देशकै प्राकृतिक सम्पदा भएको सांसद भट्टराईले बताउनुभयो । “बराहपोखरी हामी सबैको सम्पत्ती हो ।” उहाँले भन्नुभयो, “यसको संरक्षण, सम्वद्र्धन र पर्यटन विकास गर्न हामी सबैको दायित्व पनि हो ।”

चारैतिर अग्ला–अग्ला पहाडले घेरिएको बराहपोखरीमा विशेषगरि हरिवोधनी एकादसीको दिन ठूलो मेला लाग्ने गरेको छ । मेला भर्न र शङ्खेश्वरी महादेवको दर्शन गर्न छिमेकी जिल्ला उदयपुर, सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभाका दर्शनार्थीसमेत आउने गरेका छन् । धार्मिक आस्था र पर्यटकीय सौन्र्दयता बोकेको बराहपोखरीमा छिमेकी देश भारत, भुटान, चिन, बङ्गलादेश, श्रृलङ्का लगायतका पर्यटक तथा दर्शनार्थी आउने गरेका छन् । 

बराहपोखरीमा हरेक रामनवमी, शिवरात्री, बालाचतुर्दशी, माघे सक्रान्तिका दिन पितृका नामका सतबीज छर्ने चलन छ । पोखरीको दर्शन गर्न आउने दर्शनार्थीले हजारौं जोडी परेवा समेत उडाउने गर्छन् । 

पोखरीको पश्चिम किनारामा रहेको शङ्खेश्वर महादेव मन्दिरको वरिपरी आफ्नो पितृको संझनामा भजन कृर्तन र रुद्रीपाठ समेत गरिन्छ । बराहपोखरीलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न सके पर्यटकहरुबाट दैनिक लाखौं आम्दानी गर्न सकिने जानकारहरुको भनाइ छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post