sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » तीन कृषकलाई राष्ट्रपति पुरस्कार र पाँच कृषकलाई सम्मान

खोटाङ, ३० मङ्सिर । जिल्लाका तीन कृषकलाई जिल्लास्तरीय उत्कृष्ट राष्ट्रपति पुरस्कार प्रदान गरिएको छ । बाँझेच्यानडाँडा–२ का संग्राम राई, ऐसेलुखर्क–९ का पर्शुराम श्रेष्ठ र दिक्तेल नगरपालिका–१ का भरत राईलाई बिहीबार यस वर्षको उत्कृष्ट राष्ट्रपति पुरस्कार प्रदान गरिएको हो । 

दिक्तेलमा आयोजना गरिएको बृहत कृषि मेला प्रदर्शनी तथा कृषि दिवसको अवसर पारेर उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले जानकारी दिनुभयो । पुरस्कार विजेतालाई कार्यक्रमका प्रमुख अतिथि कृषिविज्ञ मदन राईले जनही नगद दश/दश हजारको साथमा दोसल्ला ओढाएर सम्मानपत्र र करुवा प्रदान गर्नुभयो ।  

यसैबीच, गाउँमा बसेर कृषि क्षेत्रको व्यवसायिक विकासमा योगदान पु¥याएकामा छितापोखरी–६ का विनोद राई, कुभिण्डे–८ का रामकुमार राई, दिक्तेल नगरपालिका–१० की रेणुका राई, बुइपा–६ की पार्वती राई र निर्मलीडाँडा–७ का भोटराज राईलाई उत्कृष्ट कृषकका रुपमा सम्मान गरिएको छ । उनीहरुलाई जनही नगद पाँच हजार ५०० को साथमा दोसल्ला ओढाएर सम्मानपत्र र करुवा प्रदान गरिएको हो ।  

कार्यक्रममा एक गाउँ एक उत्पादनमा सफलता हाँसिल गर्नुहुने कृषि वन तथा वातावरण समिति अर्खौलेलाई विशेष सम्मान स्वरुप नगद १० हजारको साथमा दोसल्ला ओढाएर सम्मानपत्रको साथमा करुवा प्रदान गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा छितापोखरीका बाबुराम कार्कीलाई प्राविधिक रुपमा लामो समयदेखि योगदान पु¥याएको भन्दै सम्मान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।   

कृषि मेला प्रदर्शनीमा खाद्यान्न बाली, तरकारी बाली, फलफूल बाली, दलहन तथा तेलहन, आलु बाली, माछा र व्यक्ति तथा घरेलु उद्योगबाट उत्पादन गरिएका कृषि उपज राखिएको थियो । जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवम् प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्दै आएका कृषकलाई थप प्रोत्साहित तथा पुरस्कृत गर्नका लागि बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । 

कृषि व्यवसायको सम्मान तथा प्रोत्साहनका लागि जिल्लामा बिगत आठ वर्षदेखि निरन्तर कृषि मेला प्रदर्शनी तथा कृषि दिवसको मनाउने गरिएको छ । जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय तथा दर्जनबढी गैर–सरकारी संघसंस्थाहरुको संयुक्त आयोजनामा मेलाको आयोजना गरिएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post