sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » खार्मीको समग्र विकासका पाँच वर्षे आवधिक योजना

खोटाङ, २४ पुस । आगामी पाँच वर्षभित्र खार्मी गाविसको समग्र विकासका लागि आवधिक योजना निर्माण गरिएको छ । खार्मी गाविस सरमुकाम दिक्तेलदेखि सबैभन्दा नजिक रहेर पनि विकास निर्माणको क्षेत्रमा पछाडी परेको ठहर गर्दै पाँच वर्षे आवधिक योजना निर्माण गरिएको हो । 

आवधिक योजना अनुसार यस आर्थिक वर्षमा केन्द्रीय प्रशारण लाईनको विजुली बाल्ने, आर्थिक वर्ष २०७४÷०७५ मा सबै सडक सञ्चालनमा ल्याउने, आर्थिक वर्ष २०७५/०७६ मा विजुली र सडकलाई प्राथमिकता दिने, आर्थिक वर्ष २०७६÷०७७ मा विजुली, सडक र कृषिलाई बराबरी ग्राह्यता दिने र आर्थिक वर्ष २०७७÷०७८ मा कृषिलाई मात्र पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरिएको छ । गणतन्त्र स्थापनापछिको नवौं गाउँ परिषद्ले पारित गरेको आवधिक योजना अनुसार यस आर्थिक वर्षमा विजुलीलाई पहिलो प्राथमिकतामा पार्दै १९ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ । 

बिगत वर्षहरुमा धेरै योजना बनाएर बजेट बिनियोजन गर्दा ठोस उपलब्धी नभएकाले यस वर्षबाट एउटै योजनामा बजेट बिनियोजन गरिएको स्थानीय शान्ति समितिका संयोजक श्यामकुमार राईले बताउनुभयो । “बिगतमा धेरै योजना बनाएर बजेट बाँड्दा ठोस उपलब्धी केही देखिएन ।” उहाँले भन्नुभयो, “आगामी दिनमा उपलब्धीमूलक काम हुनेगरी पाँच वर्षे रणनीतिक योजना बनाइएको हो ।”

आवधिक योजना अनुसार वर्षदिनभित्र गाविसभर विजुली बिस्तार गर्नका लागि धनचन्द्र राईको अध्यक्षतामा नौंवटै वडाका प्रतिनिधि सदस्य रहनेगरी समिति बनाइएको छ । यस्तै, पूर्व गाविस अध्यक्ष बलराम राईको अध्यक्षमा सबै वडाका प्रतिनिधि सदस्य रहनेगरी सडक निर्माण उपभोक्ता समिति गठन गरिएको छ । 

विजुली र सडकको काम पूरा नभएसम्म दुवै समिति परिवर्तन नहुने पनि परिषद्मा निर्णय पारित गरिएको छ । समितिलाई आइपर्ने समस्या समाधानका लागि राजनीतिक दलले सहजीकरण गर्ने गाविस सचिव चित्रकुमार सुवेदीले बताउनुभयो । 

बिगत वर्षहरुमा योजना लिएर काम पूरा नगर्ने तथा पूरा गरेर पनि फछ्र्यौट गर्न बाँकी रहेका व्यक्तिलाई महिना दिनको समय दिइएको छ । महिना दिनभित्र पूरा नगर्ने व्यक्तिलाई कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न काँग्रेस गाउँ पार्टी सभापति रामचन्द्र राईको संयोजकत्वमा बनेको छानविन समितिलाई जिम्मा दिइएको छ ।  

खुला दिसामुक्त, पूर्ण खोपयुक्त र साक्षर गाविस घोषणा भइसकेको खार्मीमा धुँवारहित गाविस घोषणा गर्ने अन्तिम तयारी भएको एमाले गाउँ पार्टी अध्यक्ष हर्कराज राईले बताउनुभयो । धुँवारहित गाविस घोषणा गर्ने अभियान अन्तरगत ७७४ घरधुरी रहेको खार्मीका अधिकांश घरमा आधुनिक चुल्हो निर्माण गरिसकिएको छ । 

पछिल्लो समय गाविसको समग्र विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिएको नेकपा (माओवादी केन्द्र) खार्मीका अध्यक्ष सुरेश तामाङले बताउनुभयो । “विकास निर्माणका विषयमा हामी एक ठाउँमा उभिएका छौं ।” उहाँले भन्नुभयो, “हरेक विकासे कुरामा आगामी दिनमा पनि हाम्रो एकता कायम रहनेछ ।”

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post