sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » संस्मरण: आल्पस पर्बतको काखै काख भयर - भेनिस !

- भीम राई
बिबाह भएको ठेक्कै २५ बर्ष भएको थियो । रेल बाट ‘सिल्भर जुबिली’ भेनिसमा मनाउन जाने योजना बने । रोमियो र जुलिएटको शहर ‘सिटि अफ लब’ भरोना भएर ।अनि जुलियटको मुर्ति संग फोटो खिच्नेरहर जागे। अझै हात राखेर उनको दाहिने बक्षस्थलमा । रेलको यात्रा लिभरपुल बाट सुरु गरेरलन्डन, ब्रसेल्स, म्युनिक, भरोना, भेनिस, पेरिस अनि लिभरपुलमा नै अन्त गर्ने तय भयो ।


१२ जुलाई २०१५- तारा र म रेल बाट लन्डन लाग्यौ ।

घट्याक... घट्याक... आवाज निकाल्दै रेल बिस्तारै हिड्यो । ताराले रेलको सिट पाउने बित्तिक्कै आँखा चिम्ले । पातलो पश्मिनाको बर्किले अनुहार गर्ल्यामै ढाकिन् । कुहिरेहरुले सुतेकी देख्छन भन्ठानेर होला ? बिरालोको बच्चा जस्तो सानो स्वरमा यदाकदा घुरेकी जस्तो लाग्यो । सायद सपना देख्न थालिन क्यारे ? अनि सपनीमा उही पुरानो चुङ्गकिंग मेन्सन, हंगकंगको बराहा ज्वेलरी पुगेकी होलिन् ? उनि घुम्न निस्कदा सधै आँखा बन्द गरेर रमिता हेर्छिन र आज पनि त्यहि गरिन ।

रेलको छक छक छक छक एकोहोरो आवाज आई रह्यो ।

ताराले आँखा चिम्लेर अनि आँखा मैले खोलेर आ-आफ्नो सपना देख्न थालेको थियौ । बास्तबमा चक्का जाम गर्नु र चक्का जाम खोल्नु दुबै राजनीति नै भन्ने मेरो ठम्याई छ । हाम्रो पनि सपना ठेक्कै त्यस्तै भयो । ताराले ज्वेलरीको सट्टामा वा आज फरक देखिन कि ? मलाई थाहा भएन । तर मेरो सपना चाही लगभग पुरा भए जस्तै लागेको थियो । किनभने आज हामी छोरीकोदिक्षान्त समारोहको लागिलन्डन जाँदै थियौ । गत वर्ष छोरोले मेडिसिनमा र यस बर्ष छोरीले कानुनमा डिग्री गरेकोलेजाबो म दुखि भरियाको सानो सपना पुरा भएको महसुस गर्दथे ।

लिभरपुल बाट बर्मिङ्गघाम सम्म रेल अती शान्त गतिमा गुडी रहेको थियो । यदा कदारेलको झ्याल बाट बाहिर नजर लगाउदथे । बेलायतमा जुलाई महिनाको मौसम अती राम्रो हुने गर्छ । आज पनि ठिक त्यस्तै भयो । रेलको झ्याल बाट बाहिर हरियो घासे जमिनहरु कति उर्बर भुमि जस्तै देखिन्थे । कुनै कुनै गाउ तिर कुहिरेहरुको पातलो बस्ति पनि देखिएका थिए । अझै कसै कसैले त घर पछाडीको बगैचामा बारबिक्यु पोली रहेको देख्दा मुख बाट रस आउदथ्यो ।

पर टाढा फाट सम्म चरी रहेका गाई, गोरु र भेडाहरु देख्दा मन लाई प्रफुल्ल बनाउथे । गरिब किसानको छोरो भएकोले बाल्यकालमा गाई बस्तुहरुसंगै हुर्केको अनुभब म संग थिए। त्यसैले मेरो घर पालुवा जन्तुहरु संग प्रेम बसेको थियो । यी जनवारहरुलाई देख्दा सिम खेतमा गाई बस्तुर भेडा बाख्रा संग गोठमा एक्लै सुतेको झल्झलि याद आउदथ्यो । कुनै बेला एका बिहानै गाईले दुध दिन नमान्दा किलो ठोकेर खुट्टे लगाउदथे । अहिले सोच्छु, बाच्छाको दुध अलिक बढी चोर्ने म त्यस बेला अलिक जंगली नै थिए रहेछु । तर आजभोली घरपालुवा प्राणीहरु र प्रकृति प्रति अगाध स्नेह राख्छु । त्यसैले आन्दोलनको नाममा हरित बाताबरणलाई असर पर्ने गरि सडकमा टायर बालेर ताप्न मलाई छुद्दे हुँदैन ।

अझै सबै भन्दा मनोरम त मैदान भरि देखिएको सुँगुरहरुले पो गरेका थिए । यी सबैलेपोर्क लाई पास गरेर बेकन या ससेजका लागी तैयार भएका जस्ता देखिन्थे। यसो सोचे अब ‘स्वाइन फ्लु’ जति सबै एसिया तिर लागेछन्क्यारे । अझै भएन कति शुन्दर देखिन्छन् यहाका सुँगुर खोरका दम्साइलो डांडा काँडाहरु । सायद त्यहि भएर कुहिरेहरुले यता मिडल्याण्ड तिर समयमा नै अती उतम ठाउँ छानेर बसेका होलान् ? हो साच्चै, कति रमाइलो छन् गृष्मकालीन बेलायत ।

लामो हर्नबजाउदै रेल लन्डनको युस्टन स्टेसनमा रोकियो।

हर्नको आवाजले तारा चिर निन्द्राबाट झसंगैब्युझीईन् । रेल बाट झरेर नजिकै अग्रिम बुक गरेको होटलमा बस्यौ । छोरा र छोरी केहि दिन अगाडी नै लन्डनमा सप्ताहान्त मनाउन आएका थिए ।

भोलि बिहानछोरीको दिक्षान्त समारोहको लागी ‘क्विन मेरी बिश्व बिधालय लन्डन’ तर्फ लाग्यौ । छोरा छोरी हामी भन्दा अगाडी नैपुगी सकेको रहेछन । दिक्षान्त समारोह सुरु भयो । त्यति धेरै लामो समय लागेन चाडै सकियो । अलिकति सेम्पेन र सान्डविच लियौ । अनि मैले छोरीलाई सरप्राइज कोसेली पनि दिनु थियो ।त्यसैले एउटा ब्ल्याक क्याब पक्रेर त्यहा बाट हिड्यौ । क्याब पार्कलेन लन्डन तर्फ मोडियो । चालक लाई ‘डोरचेस्टर होटल’ अगाडी रोक्न अनुरोध गरे ।

१८ अप्रिल १९३१ मा खोलिएको डोरचेस्टर लन्डन बेलायतको सबैभन्दा महँगो एबम लक्जरियस ५ तारे होटलहरुमा पर्दछ । हुन त यो संसारको कुलीन बर्गहरुको एउटा क्लब जस्तै मानिन्छ । अग्नि, बारुद एबम भूकम्प निरोधक भएकोले दोश्रो बिश्व युद्दको समयमा यहाको भूमिगत कार्यालयहरु धेरै प्रयोगमा आएका थिए ।

होटल भित्रकोबाताबरण अती राम्रो थियो । ‘मेरो ग्रेजुएसनमा यहा आउनु पाएकोमा अती खुसि छु’ छोरीले भनिन ।

“बेलायतको हजुर महारानीको श्रीमान् राजकुमार फिलिपको बिबाह पूर्वको स्टाग डू पार्टी र राजकीय इन्गेजमेन्ट पार्टी यिनै होटलमा गरिएको थियो” बेयरापेमेलाले भनिन् । मैले डोरचेस्टरमा मध्यान्हको खाना (आफ्टरनुन टि) को बन्दोबस्त मिलाएको थियो । बेयराले खानालाईसजि सजावटको साथ भब्य तरिकाले मिलाएर ल्याईन । मुख्य खाना पश्चात स्पेसल ग्य्राजुएसन सेरेमनीको केक पनि आए । पेमेलालाई धेरै धन्यबाद दियौ ।

होटल ब्रुनाईको शुल्तानले १९८५ मा ५० मिलियन डलरमा खरिद गरेका हुन् । यस होटलमा रास्ट्रपति नेल्सन मन्डेला गायक जोन लेनन अनि नायिका एलिजाबेथ टेलरले रात बिताएको थिए।

१५ जुलाई २०१५ ।तारा र म लण्डनकोसेन्ट पेनक्रस अन्तरास्ट्रिय रेल स्टेसन तर्फ लाग्यौ ।

१० बजेको रेल समात्नु थियो । रेल स्टेसनमा समय भन्दा अलिक अगाडी पुग्यौ । पुर्व योजना अनुसार कृष्ण र बहिनि सानु पनि अल्डरसट बाट समयमा आई पुग्नु भयो । टिकट अनुसारको सिट पहिचान गर्न युरो स्टारको कोच तर्फ अब लाग्यौ ।

तिरीरीरी,..... ‘ट्रेन’ मास्टरले लामो सिटि फुके । निर्धारित समयमा रेलले सेन्ट पेनक्रास अन्तरास्ट्रिय स्टेसन छोड्यो । त्यसपछी केहि क्षण ‘एब्बसफ्लीट’ मा रोकियो । र रेलले क्रमस: आफ्नो गन्तब्य तिर फेरी जान सुरु गर्यो । यूरो स्टारबाटअंग्रेजी ‘च्यानल’ पार गर्दै गरेको यो प्रथम अनुभबथियो । त्यति बेला मनमा अलिकति कौतुहल,हर्ष र उमङ्गले छाएको थियो । योरेलको बाटो बेलायत र फ्रान्सले मिलेर सन १९७४ बाट खन्न थालेका थिए । प्राबिधिक कठिनाइहरुले गर्दा केहि समय रोकिएता पनि फेरी सन १९८८ बाट सुरु गरेर १९९३ मा पुरा गरेका हुन् । यसको उदघाटन भने ६ मे १९९४ मा बेलायतको हजुर महारानीले लन्डन र फ्रेन्च रास्ट्रपति फ्रान्सो मितराले पेरिस बाट गरेका थिए ।

रेल करिब ३०० किलोमिटर प्रति घण्टाको गतिमा गुड्यो । अंग्रेजी च्यानल पार गरेर एक्कै चोटी ब्रसेल्स, बेल्जियममा १२ बजे उत्रियौ । त्यस पछी ब्रसेल्स, बेल्जियम बाट म्युनिक, जर्मनीको रेल समात्नु थियो ।

दुइ बजेको ड्युक बन्डेसभान (डी बी) रेल समात्नको लागी रेलको प्लेट फर्म तर्फ गयौ ।त्यहा अलिकति मुस्कान छर्दै दुई जना महिलाहरु मेरो छेउमा आईन् । एउटीले उनको भाषामा बोलाईन । मैले केहि बुझ्न सकिन त्यहि भएर नबोली बसे । “के तपाई भियतनामिज हो ?” भनेर एउटीले सोधिन । “माफ गर्नु होस् म होइन” मैले भने । सायद फुच्चे भनेर भियतनामिज जस्तो देखीए होला ?“संसार थर्काउने बहादुर गोर्खाहुँ । जाबो मरेको भियतनामिज शरणार्थी जस्तो के हुन्थे ?”निडर भएर भन्दिए ।

तिनीलेकेहि सहयोगको अपेक्षा गर्दै फेरी बोल्न सुरु गरिन । मेरी बहिनी पनि ‘कोलन’ जादै छिन । अनि उनी भियातनामिज भाषा बाहेक अन्य भाषा केहि बोल्न जान्दीनन् । यदि बाटोमा आबश्यक पर्यो भने कृपया केहि सहयोग गरि दिनुहोस् है भनिन् । ठिकै छ भनेर मन्जुर गरे । तर मन मनै लाग्यो, मेरो र तिनको भाषा त मिल्दैन के सहयोग गर्नु होला ?

ठिक समयमा रेल आई पुग्यो, अनि गन्तब्य तर्फ लाग्यौ । उनि संग मेकोंग डेल्टा रिभर, साईगन र हाल्यङ्ग बे को गफ गर्न मनलागेको थियो । तर के गर्ने ? मोरी केहि बोल्दिनन । यात्रा भरि न्याउरी शरणार्थी अनुहार मात्रै देखाइ रहिन् । जे होस् कोलन आई पुग्यौ । ति बहिनीलाई झर्नको लागी हातले इसारा गरे । एकै शब्द नबोली रेल बाट झरिन । तर हात उठाएर बाई बाई गरिन । अनि झरे पछी एक्कै क्षणमा कोलनमा बिलिन भईन ।

साँझको ६ बजे म्युनिक आइपुग्यौ । रेल स्टेसन नजिकै होटल ‘सोफिटेल’ बुक गरेको थिए । होटलमा चेक इन भइयो र हल्का स्नान गरियो। जिन्दगीमा धेरै होटलहरुमा बास परी सकेका थिए । तर यो होटल चाही अती सफा भएको महसुस भयो । सायद यो जतिको सफा ‘बर्ज अल अरब’ दुबाई (जुन धर्तिको एउटा मात्र ७ तारे)पनि छैन कि ? जस्तो लाग्यो । जे भए पनि बर्जको खाना भने एकदम राम्रो थियो । सेफले मेनुमा सुन्नको लागि पनि राम्रो नामहरु राखेका रहेछन । जस्तै; ‘हवाइन ब्लाक साल्ट’ अनि ‘फ्रेन्च गोट चिज’ भनेर । यस्तोराम्रो नाम राख्ने एक्जुकेटिभ सेफलाई मन मनै धन्यबाद दिएथे । किनभने हवाईको लाभा बाट निस्केको कालो नुन र जाबो फ्रान्सको बाख्राको मखन नभनेर ।

इजर नदीको तटमा रहेको शहर म्युनिक (अंग्रेजीमा) र मुन्चेन (जर्मन) मा भनिन्छ । मुन्चेन, बर्लिन र ह्यामबर्ग पछाडिको जर्मनिको तेश्रो ठुलो शहर हो ।

पहिले ९० को दशकमा र अहिले गरेर म्युनिक मेरोदोश्रोभिजिट हो । त्यस बेला सन् १९७२ को ओलम्पिक रंगशाला हेरेको अनुभब छ । अनिबैसले मातिएको मान्छे भएर हातमा बेक्स बियर लिएर रेड लाइट क्षेत्रमा देखिने अर्ध नग्न युवतीहरु तिर फिस्स छाडेका मुस्कानका यादहरु अझै ताजै छन् । यहा बिश्व प्रशिद्ध बिएमडब्लु कार कम्पनीको मुख्यलय र प्रख्यात बायर्न म्युनिक फूटबल क्लब रहेका छ । अझै संसारको सबैभन्दा ठुलो बीयर फेस्टिबल (अक्टोबर फेस्ट) पनि यहि मनाईन्छ । त्यस पर्वमा यहा लगभग ६ मिलियन मान्छेहरुले करिब ७ मिलियन लिटर बियर पिउछन् ।

बेलुकी म्युनिकको चक्कर मार्नको लागी होटल बाट निस्कियौ । यस पटक बैसको जस्तो हातमा बियर लिएर हिडने रहर गरिएन । केहि समय रमित हेरी सके पछी खानाको खोजी गर्यो । आज काकताली नै परेको मान्नु पर्छ । दिउँसो भियतनामिज बहिनीहरु संग जम्का भेट भएको थियो । सायद त्यसैले होला बेलुकीको खाना पनि भियतनामिज रेस्टुरेन्टमा नै जुर्यो ।यसो सोचे भियतनामिज शरणार्थीहरु कति छिरे होलान ? लडाईको बेला जर्मनीमा । हामीलाई भियतनामिज खानामा त्यति अनुभब नभए पनि खाना मगायौ । “एउटा मगाएको अर्को परेछन्” ताराले सबैलाई मज्जाले हसाईन । बिचरी उनि पनि बिहान रेलमा संगै यात्रा गर्ने भियतनामिज बहिनि भन्दा कमि छैनन् ।

बिहान होटलमा जर्मन ससेज संगको ब्रेकफास्ट पश्चात फेरी म्युनिक परिक्रमा गर्न निस्कीयौ । अनि दिउसोको लन्च पछी हाम्रो रेल यात्रा पुन: सुरु भयो ।

आज म्युनिक, जर्मनी बाट भेनिस, इटाली जादै थियौ । लामो हर्न बजाउदै रेल बिस्तारै गुड्यो ।रेलको यात्रा लगभग ६ घन्टाको थियो । योरेलको बाटो १९औ शताब्दिमा अस्ट्रो हंगर साम्राज्यले बनाएका हुन् । ब्रेंनर उपत्यकाको यो रेलको बाटो सायद संसारको सबैभन्दा राम्रो सिनिक यात्राको बाटो हुन पर्दछ । हुनत स्विटजरल्याण्ड र क्यानाडाको सिनिक रेल यात्राको पनि जिन्दगीमा राम्रो संग अनुभब संगालेको छु । यो भन्दा उत्कृस्ट सिनिक रेलको बाटो चाही भविष्यमा कन्चनजग्घा देखि सगरमाथाको काखै काख मात्र हुन्छ होला ? तर कहिले हुन्छ ? भन्ने प्रश्नको उतर चाही रेलका पिता रिचार्ड ट्रेभिथिक लाई स्वर्गमा पुगे पछी सोध्नु पर्ला ?

केही समयमा ‘विप उपत्यका’ भएर रेल गुड्यो । रेलको झ्याल बाट रमित हेर्नबाया पट्टिको सिट रोजे । त्यहा बाट मुनि गहिराइमा कति राम्रो हरियो घाँसे फाटहरु देखिन्थे । तिनै फाट अनि नागीहरुमा लस्करै मिलेर चरी रहेका विभिन्न रंगका गाईगोरुहरु देखिएका थिए । ति गाईहरुलाई देख्दा यतै कतै गाई हेर्न लुकेर बस्नु पर्छ कि के हो ? जस्तो लाग्दथ्यो । यदि बसि हालियो भने धित मरिन्जेल गाईको मासु पनि खानु पाइन्थ्यो होला ?

किनभनेयता तिर गाईलाई गौ माता मान्न पर्दैन । त्यसैले विभिन्न प्रकारले काटेर जस्तै; शान्क, रिब्स, रम्प, टप साइड, सरलिएन अनि ब्रिस्केटको छानी छानी भाग लगाउथे। अनि मज्जाले रातो वाइन संग ‘मेडीयम’ अथवा ‘वेलडन’ बनाएर हसुर्थे ।तर धेरै रातो मासु स्वास्थको लागी हानि कारक छ । चिकित्सक छोरोलेसल्लाह दिन्छन,के गर्ने ? कुखुरा र टर्की मात्रै कति खाने ? द्विविधामा पर्थे । तर ‘कोबे बिफ’पाएको भए त के छाडथे ? ‘रेयर’ मा नै बजाउथे, ज्यानै गए नी मज्जाले खाएर मर्थे ।

माथी हिउले ढाकेका हिमाल जस्तै सेताम्मे डांडाहरु देखिन्थे । हिमाल मुनि एक टुक्रा बादल पनि थिएनन् । निलो आकाशमा २-४ वटा पंग्छीहरु मात्रै बेग मारी रहेका थिए । त्यहि मुनिका डांडा काँडा हरुमा धुपी सल्लाको रुखहरु रमिता हेर्न लाएकका थिए । जसलाई देख्दा भोक प्यास हरण हुन्थे । ति रुखहरु अति आकर्षक थिए । मलाई लाग्दथ्यो ति सबै रुखहरु मेसिन द्वारा मिलाएर बनाईएका हुन् । अब यहा बाट कतै नगएर दिनभरी हेरी रहौ जस्तो लाग्यो।

तल खोंचमा हिउ बाट पग्लेका निश्चल पानीका नदिएक रफ्तारले बहिरहेका देखिन्थे । यहा नदिहरु पनि मानिसको जीन्दगी जस्तै रहेछन कतै छुटिने र कतै भेटिने । अझै मानिसको विचारहरु जस्तै पनि होला ? कतै साँघुरा अनि कतै फराकिला भएर बहने । अझै समय समयमा नदीहरुलाई पार गर्नु पर्दा हाम्रो रेल संग लुकामारी खेलेको झैँ भान हुन्थ्यो । घरि घरि नागबेली झैँ मटरका बाटोहरु देख्दा स्वर्गको अनुभुति हुन्थे । यी बाटाहरु बेला बेलामा रेल संग समानान्तर भएर दगुरी रहेका थिए । यी सबै लोभलाग्दा दृश्यहरु लाई शब्दमा म कसरि बर्णन गर्न सक्थे हुँला ?

रेल क्रमस: आल्पस पर्बत हुँदै अस्ट्रिया तर्फ बढ्यो । आल्पस माथिको आकाशमा धेरै चोटी उडेता पनि यस पर्बतको यात्राचाही मेरो दोश्रो चोटी हो । सन् १९८९ मा इन्सब्रक अस्ट्रियामा दुइ हप्ता ‘स्की’ तालिमको लागि आएको थिए । आज इन्सब्रक भएर जाँदा ति पुरानो दिनहरुको यादले जले । स्की मलाई असाध्य मन पर्ने खेलहरुमा पर्दछ । यहाको तालिमले गर्दा मैले साइप्रसको ट्रडोस पर्बतमा राम्रो प्रदर्शन गर्ने सकेको थिए ।

हामी क्रमस:केहि टनलहरु पार गर्दै आल्पस पर्बतलाई छाड्यौ ।त्यस पछीब्रेन्नर टनल भएर अस्ट्रिया लाई बिदाई गर्दै इटाली तर्फ लाग्यौ । अब रेल बिस्तारै ब्रेनर पास हुँदै अगाडी गुडी रह्यो । कुनै कुनै रेलको बाटो पहराको बीच भाग भएर जानु पर्ने रहेछन् । त्यसैले रेल हिडने बाटो माथी सुरक्षाको दृष्टिकोणले फलामको तारहरुले बारिएका रहेछन । पहाड बाट ढुंगा खसेर यात्रुको टाउकोमा लाग्छ भनेर होला ? यस्तो जोखिम पुर्ण लाग्ने बाटो हेर्दा शरीर नै जिरिंग हुन्थे। तर केहि समयमा दाया बाया लटरम्म पाकेका अंगुर र स्याउहरु देखे पछी मुख बाट पानी आउथे । अझ कुनै कुनै ठाउँ त मनै लोभ्याउने मकैको खेतिहरु पनि देखीन्थे । ब्रेंनर उपत्यकाकोयो रेल यात्राले स्वर्गीय आनन्द लिन सके । मानिसहरुले मरे पछी स्वर्ग देखिन्छन भन्थे, मैले त जिउदै छँदा नै पो देखे जस्तो लाग्यो ।

रेल भेनिसको मेस्ट्रो स्टेसनमा रोकियो । रेल बाट झरेर अग्रिम बुक गरेको होटल प्लाजामागयौ । भेनिस (अंग्रेजी) र भेनिजिया (इटालियन) इटालीको उतरपुर्वी शहर हो । कोठा होटलको ८औ तलामा पाएका थियौ । यहिबाट नै एक बोटल प्रोसेको वाइनको साथ रोमान्टिक शहरको रात्रीकालिन दृश्यबलोकन गरियो । राती भेनिस धपक्कै बलेको जस्तो देखिन्थे । लामो समयको अथक परिश्रम पश्चात भेनिस आई पुगेको हुनाले दिललाई अलिकति भए पनि शान्त भयो । अब कति बेला बिहान हुन्छ र भेनिस घुमी हाल्यौ जस्तो भएको थिए ।

बेलुकी खाना खोज्न मेस्ट्रो तिर लाग्यौ । नजिकै चाइनिज रेस्टुरेन्ट रहेछ । बास्तबमा चाइनिजहरु संसारमा नपुगेको ठाउ कमै हुन्छन् होला ? यहा हल्का इटालियन कियान्ति वाइन संग बेलुकीको डिनर गर्यौ । यो वाइन टस्कन्यी क्षेत्रमा साङ्गीभेसेधेरै प्रतिशत र थोरै क्याबरनेट शोभिङ्गनन्अंगुर बाट मिसाएर बनाइन्छ । यो वाइन पिउदै गर्दा टस्कन्यी भाइन यार्ड इटालीको खुब याद आयो । इटाली मेरो अती मन पर्ने देशहरुमा पर्दछ । त्यहि भएर इटाली जिन्दगीमा धेरै चोटी पुगेको छु । हुनत नेपालिहरु अमेरिका पुगे पछी चन्द्रमाको नजिक पुगेको महसुस गर्छन । तर मलाई त्यहा पुग्दा कहिलेपनि त्यस्तो लागेन जति इटाली पुग्दा लादग्छ ।

भोलि बिहान मौसम अती सफा थियो । सात बजे नै ब्रेकफास्ट खायौ । यहा बाट एक स्टेसन उता सेन्ट लुसिया स्टेसन सम्म मात्रै रेल जान्छ । गाडीहरु बाट जाने हो भने पियथाले बस स्टेसन मात्र अन्तिम स्थान हो । त्यहा देखि उता कुनै पनि गाडीहरु जादैनन् । पानीको सवारी साधनहरु मात्रै चल्छन् । थोरै हिडे पछी बस समातेरलगभग दश मिनेटको यात्रा पछी अन्तिम बस स्टेसनमा झर्यो।

बिश्व सम्पदा सुचिमा रहेको भेनिस एड्रिरियटिक सागरको मुखैमा पर्दछ । यहाको जनसख्या लगभग २ लाख ६५ हजार छन् ।यो २५ मार्च ४२१ बाट निर्माण गर्न सुरु गरिएको हो । यहा सन् १५७५ देखि १५७७ सम्ममा प्लेगले ५० हजार मानिसहरुको मृत्यु भयो । त्यो जनसंख्याको तिन भागको एक भाग थियो ।यो सामुन्द्रिक सतह भन्दा एक मिटर वा लगभग ३ फीटको उचाईमा अबस्थित छ । भेनिसको निर्माण गर्नको लागि काठहरु स्लोभानिय, मन्टिनेग्रो अनि क्रोएशिय बाट ल्याइएको थियो । ति काठहरु समुन्द्र मुनी बिछ्याइएको छन् । त्यस माथी लाइम स्टोन राखेर कंग्क्रिटको ढलान गरिएको छन् । तिनै ढलान माथि भेनिसको घरहरु निर्माण गरिएका छन् ।

एक क्षण हिडेर पोन्टा डेल्लापुल माथी रोकिए । मनमनै धेरै खुसि हुँदै मज्जाले भेनिसको पहिलो नजर मारे । भेनिसलाई पानी माथिको शहर, पुलहरुको शहर, टापुहरुको शहर, नहर (क्यानल) हरुको शहर र अन्तमा रोमान्टिक शहर पनि भनिन्छ । यहासाना ठुला गरेर जम्मा ११८ वटा टापुहरु ११७ वटा क्यानलहरु अनि ४०९ वटा पुलहरू रहेका छन् । यी सबै चिजहरुको सम्मिश्रण हो‘भेनिस’ । यो जस्तो नाम त्यस्तै शुन्दरछ । मलाई भाग्यले साथ दिएर जिन्दगीमा साना ठुला गरेर प्रसस्त शहरहरु संग अँगालो मारी सकेको थिए। तर यो जतिको शुन्दर शहर संसारमा अर्को कुनै छैन जस्तो लाग्यो । त्यसैले धर्तीका सबै मानिसहरुले भेनिसलाई जिन्दगीमा एकपटक पुग्न पर्ने शहर भनेका छन् ।

बिहान देखि नै गर्मि बढ्दै गयो । कता कता बेलायतको सर्दी राती नै भागी सकेको जस्तो अनुभुति हुन्थे । केहि समय हिड्दै ग्रान्ड क्यनालमा अबस्थित ‘फेरोभिए’ पानी बस स्टेसन पुगेर रोकियौ । यहा देखि यातायातको साधनहरु जस्तै; पानी ट्याक्सी, पानी बस, हाते डुंगा (कन्ड़ोला) पानी एम्बुलेन्सहरु मात्रै उपलब्ध हुन्छन्। ग्राण्ड क्यानलको गहिराइ झन्डै १५-१६ फीट होला । यसको लम्बाई लगभग २.७ माईल अनि चौडाई ३० देखि ९० मिटरको छ ।माथी आकाश बाट हेर्दा यसलाई उल्टो अंग्रेजी अक्षर ‘एस’ जस्तो देखिन्छ ।

यहा झन् धेरै गर्मि भयो । सायद यतिका धेरै गर्मि त मैले खाडीका शहरहरु दुबाई, दोहा, बासरा र रियादमा पनि नभोगेको जस्तो लाग्यो । त्यसैले यहि पानीमा झ्याम्म हाम फाल्यौ कि जस्तो मन भयो । क्यानलको नजिकै गएर भेनिसको पानीलाई हल्का स्पर्स गरे । अनि अन्जुलिमा एक मुठी पानीउठाएर पुजा गरे । धर्तिको स्वर्ग सम्झेर !

त्यस पछी वाटर बस बाट ‘रियाल्टा’ ब्रिज जानु थियो । पानी बस चढेर गयौ, अनि रियाल्टा ब्रिजमा उत्रियौ । ब्रिज नजिकैको घरहरुको दर्शन गरे । ति घरहरु तेह्र देखि अठार शताब्दि तिर बनेका हुन् । हज्जारौ बर्ष अगाडी घर बनाउन प्रयोग गरिएका काठहरु अहिले सम्म कसरि रहे होलान् ? धेरै अचम्ममा परे । प्राय सबै काठहरु अल्डर रुख बाट काटिएका रहेछन । पानी मुनि अक्सिजनको कमी भएकोले शताब्दियौ सम्म ति काठहरु सडन र मक्किन पाएका छैन रेभन्ने मैले सुने । त्यति मात्रै नभएर यसलाई बचाऊ गर्न समुन्द्रको नुनिलो पानीले पनि मदत गरेको रहेछन् ।

रियाल्टा ब्रिजग्रान्ड क्यानलको सबै भन्दा पुरानो ४ वटा मध्यको एउटा प्रमुख ब्रिज हो । जसले सान मार्को र सान पोलो जिल्लाहरु छुट्टाउने काम गर्दछ । मलाई भेनिस पुग्ने बित्तिक्कै रियाल्टा ब्रिज हेर्ने ठुलो रहर थियो । किनभने यहि ब्रिजमा प्रख्यात अंग्रेजी पब संगीतका रानी म्याडोनाले सन् १९८४ मा उनकी प्रसिध्द गीत ‘एउटी कुमारी जस्तै’ (लाइक अ भर्जिन) को छायांकन गरेकी थिइन् । उनको त्यो गित हेरे देखि रियाल्टा ब्रिज जाने रहर लगभग ३० बर्ष पिछाडी पुरा भयो । जिन्दगिमा कुनै कुनै रहर यस्ता पनि हुन्छन । जसलाई पुरा गर्न धेरै लामो समय कुर्नु पर्ने रहेछ । उनले जुन स्थानमा टेकेर नाचेकी थिईन मैले पनि त्यहि टेकेर तस्बिर लिए ।

रियाल्टा ब्रिज पछी सेन्ट मार्को स्क्याएर तर्फ लाग्यौ । दिउसोको मौसम लगभग ४० डिग्री थियो होला ? नेपोलियनले बनाएका चर्चको शुन्दर छहारी मुनि भेनिसको चिसो पानी संगै जिन्दगिको अलिकति भारी बिसायौ । चार जना चार तर्फ फर्केर । निक्कै बेर आराम गरेर नजिकै ग्राण्ड क्यानलरेस्टुरेन्टमा भेनिजियन लन्च खायौ । समय समयमा डुंगाहरुले उछिटाएको पानीको बछिटाले जिउ लाई शीतल बनाउथे । नत्र भने जुलाईको भेनिस यात्रा ज्यादै कस्टदायक नै रह्यो । सबै कपडाहरु खोलेर झोला भरेको थिए । मेरो बाकी पहिरन पातलो सानो गन्जी मात्रै थियो । भेनिसमा सिक्स प्याकको जिउ देखाएर मिलानको फेशन शो मा जस्तै हिडेको थिए । यदि तारा नभएको भए त्यो गन्जी पनि खोलेर ग्राण्ड क्यानलमा सुईक्याइ दिई सक्थे ।

गर्मि असाध्य भएकोले लन्च पछि आराम गर्न होटल फर्कने निधो गर्यो ।

बेलुकी पुन: भेनिसको रात्रि कालिन जिन्दगि हेर्नको लागी निस्कियौ । होटल पापाडोपोली अगाडी पुग्यौ । जहा हलिवुड नायक जर्ज कोलुनी र अमल अल्मुद्दीनले हाल सालै बिहे गरेका थिए । यहा आई पुग्दा जर्जको केश लाई सम्झे । उनको र मेरो केश बराबरी सेताम्मे भएका छन् । केश पाकेको सम्झंदा मलाई जिन्दगि संग कता कता थाकेको अनिभुती हुन्थे । तर उनले त पो भर्खरै बिहे गर्दै छन् । उनको बिहेले मलाई जिन्दागिको खासै उर्जा दिन सकेन ।

बेलुकी भेनिसको क्षितिजमा सुर्यास्त हुनै लागेको थियो । यहि समयमा पर्यटक रोमियोहरुले आफ्नो जुलियटहरुलाई रातो गुलाफको फूल ट्रक्र्याउने रहेछन । हाम्रो पनि बिबाह भएको ठेक्कै २५ बर्षको अबसरमा लजाउदै एउटा रातो गुलाफ किनेर ल्याए । जेम्स बोन्ड मुभीका नायकले झैँ अलिकति निहुरिएर श्रीमतीलाई टक्र्याए । म भन्दा बढी उनी पो लजाईन।बुढेस कालको लाजले मलाई उनले धन्यबाद सम्म पनि भनिनन् । जे होस् त्यस पछी हामी होटल फिर्यो ।

भोली बिहान सबै भन्दा पहिले सेन्ट मार्क बासालिका क्याथेड्रल हेर्नको लागी गयौ । यो क्याथेड्रल उतरी इटालीको सबै भन्दा प्रख्यात रोमन क्याथोलिक क्याथेड्रल(चर्च) हो । यो बैजान्तीन शासक हरुले ८३२ मा निर्माण गरेका थिए । यो ९७६ मा बम बाट ध्वस्त भए पछी ९७८ मा पुन: निर्माण गरिएको हुन् ।

लन्चको लागी एउटा रेस्टुरेन्टमा गयौ । लन्च लिदै गर्दा बेयराले मार्को पोलोको बिषयमा केहि कथा सुनाए । उनि भेनिसमा सन् १२५४ मा जन्मेका थिए । र जन्मेको ठेक्कै ठाउँ चाही कसैलाई थाहा छैन रहेछन् । सबैलाई उनि भेनिसमा जन्मेका भेनिसियान हुन भन्ने चाही थाहा रहेछ । तत्कालिन समयमा मार्को पोलो असाध्यै घुम्मकड़ थिए । उनले सिल्क रोड भएर मध्य एसीय र चाइनामा ब्यापार गर्न पनि गए । अझै मंगोलियन सम्राट कुब्लाई खानलाई पनि भेटेका थिए । उनि भेनिस बाट हिडेको २४ बर्ष पिछाडी पुन: आफ्नो घर फिरेका रहेछन ।

हामी पनि आज सानो ‘मार्को पोलो’ हुँदै थियौ । त्यहि भएर बेलुकीको सात बजेको रेल समात्न थियो । बेलुकी रात्रि कालिन ‘थेलो’ ट्रेन भएर भेनिस, इटाली बाट पेरिस, फ्रान्स जाँदै थियौ । यो ट्रेन जोइन्ट भेन्चरमा ट्रांसडेव कम्पनी र ट्रेन इटालियले मिलेर चलाएका छन् । ११ डिसेम्बर २०११ बाट हरेक रात ठिक यहि ठाउँ बाट पेरिस सम्मको रात्रि कालिन सेवा चलेको छ । बाटोमा हामीले दिजोन, मिलान, भरोना र पदोभा शहरहरु हुँदै जानु थियो ।

दुर्भाग्यबस ट्रेन एक घण्टा ‘डिल्येड’ भएको थियो । गर्मीले गर्दा ट्रेन पर्खनु एकदम सास्ती थियो । ट्रेनको अनुहार देखे पछी अलिकति अनुहारमा खुसि छायो । ट्रेनमा पस्ने बितिक्कै कन्डक्टरलाई टिकट देखायौ । उनले हाम्रो कोठाहरुदेखाई दिए । २-२ जना सुत्न मिल्ने दुईवटा (बर्थ) कोठाहरु अग्रिम बुक गरेका थिए । ट्रेनमा एक मात्र एलएसजी स्काई सेफको रेस्टुरेन्ट थिए । जहा धेरै प्रकारको खानाहरु थिएनन् । तरपुर्व जानकारी पाए अनुसार रेल समात्नु अगाबै बिभिन्न प्रकारको बोकेर हिडने खाना (टेक अवे) लिएर गएका थियौ ।

ठेलो ट्रेन अलिक पुरानो रहेछ । जसले गर्दा अलिक बढी इन्जिनको हल्ला भएको जस्तो महसुस भयो । हुन त भर्खरै जर्मनको बुलेट ट्रेनको स्मुथ यात्राको स्वाद नभुलेर होला ? जे भए पनि सुत्ने बिस्ताराहरु चाही राम्रो थिए । अझै कोठामा मुख धुने, ब्रस गर्ने,साबन, तौलिया र चप्पल लगायतका सुविधाहरु पनि थिए । यहाको सुताई सोचे भन्दा आरामदायी रह्यो ।

बिहानको ९ बजे हामी ‘गेर डी लियन’ स्टेसन पेरिसमा आइपुग्यौ । पेरिस पहिले पनि घुमी सकेका थियौ । त्यै पनि रेल स्टेसनमा लगेज थन्क्याएर फेरी पेरिस घुम्न जाने योजना थियो । प्राय रेल स्टेसनहरुमा पैसा तिरेर सुरक्षित तरिकाले लगेज राख्न मिल्ने ठाउको ब्यबस्था हुन्छ । यहा भाषाको समस्यले गर्दा लगेज राख्ने ठाउँ पता लगाउन निक्कै समय लाग्यो । धन्न एउटा अंग्रेजी बोल्ने स्विस नागरिकले राम्रो सहयोग गरे । त्यस पछी सिधै मेट्रो बाट इफेल टावर तिर लाग्यौ ।

इफेल टावर पुगे पछी कृष्ण, सानु र ताराले टावरको टुप्पामा जाने रहर गरे । म पहिले पनि टावरको टुप्पामा पुगी सकेका थिए । त्यहि भएर महिलाहरुको झोला पर्खेर बस्ने ड्युटी गरे । उनीहरु उकालो लागे । मैले यस पटक टावरको वरिपरी निक्कै फरक महसुस गरे । किनभने चन्दा माग्ने पूर्वी यूरोपियन केटिहरु प्रसस्त देखिन्थे । अझै अचम्म त सेल्फिको डण्डा बेच्नेभारतीय मुलका शरणार्थीहरु झन् धेरै देखे । फ्रेन्च प्रहरीहरुले पर्यटकहरुलाई असुविधा नहोस भनेर तिनी हरुलाई समय समयमा लखेटी रहन्थे । मन मनै लाग्दथ्यो, बिचरा यी शरणार्थीहरुले कति पैसा कमाई गर्ला । अनि तिनका परिवारहरुले भारतमा कस्तो अपेक्षा गरेका होलान् ? तर पनि प्रहरी र शरणार्थीको मुसा र बिरालोको जस्तो खेल हेर्न मलाई रमाइलो नै भयो ।

उनीहरु टावर बाट झरे पछी फ्रेन्च लन्च गर्यौ । अनि समान लिन गेर डी लियन मेट्रो स्टेसन पुगेर त्यहा बाट यूरो स्टार समात्न गेर डु नोर्ड तर्फ लाग्यौ । गेर डु नोर्ड स्टेसन बाट युरो स्टार भएर हामी सात बजे पेरिस बाट लन्डन लाग्यौ ।
(खोटांग बुईपा, निवासी भीम राई पुर्व ब्रिटिश गोर्खा सैनिक हुन् ।)

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post