sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » युवती हत्यामा संलग्न दोषी पत्ता लगाउन मानव अधिकार आयोगलाई गुहार

खोटाङ, १९ फागुन । खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रिता तामाङको हत्यामा संलग्न दोषीलाई प्रहरीले पत्ता लगाउन नसकेको भन्दै महिला अधिकारकर्मीले मानव अधिकार आयोगलाई गुहारेका छन् । 

गत माघ २६ गते बुधबार छिमेकी गाबिस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी किशोरीको हत्यामा संलग्न दोषी हालसम्म पत्ता लाग्न नसकेको भन्दै अन्तरपार्टी महिला सञ्जालले राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेललाई गुहारेका हुन् । हत्या भएको २२ दिन बित्दा समेत प्रहरीले दोषी पत्ता लगाउन नसकेकाले दोषी पत्ता लगाउनका लागि दवाव सिर्जना गर्न आयोगलाई गुहार्नु परेको सञ्जालकी अध्यक्ष दुर्गाजयन्ती राईले बताईन् । 

किशोरीको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै लिच्कीराम्चेका महिलाले मौन जुलुस र दवावमुलक जुलुस निकालेको केही दिनपछि सञ्जालले आयोगको ध्यानाकर्षण गराएको हो । सञ्जालको आग्रह अनुशार दोषी पत्ता लगाउनका लागि प्रहरी र प्रशासनलाई दवाव दिने राष्ट्रिय मानव अधिकार आयोगका लोकनाथ घिमिरेले बताए । लामो समयसम्म दोषी पत्ता लगाउन नसकेको भन्दै जिल्लामा प्रहरी र प्रशासनको आलोचना आलोचना सुरु भएको छ । घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । 

किशोरीको हत्या भएको तीन साता बित्दा समेत दोषी पत्ता लगाउन नसक्नु दुःखद भएको सञ्जालकी अध्यक्ष दुर्गाजयन्ती राईले बताईन् । ‘सुरुमा घटनाको बिषयमा प्रहरीले तत्परता देखाएकै हो, तर समय बित्दै जाँदा यसलाई गम्भीरतापुर्वक लिइएको छैन,’ पुर्वसांंसद रहेकी राईले भनिन्, ‘कस्ता–कस्ता घट्नाका दोषीलाई प्रहरीले पत्ता लगाएको उदाहरण छ, यो केसलाई किन यत्तीका दिनसम्म पत्ता लगाउन सक्दैन, हामीलाई यहीनेर अचम्म लागेको छ ।’ सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिता घर नआएपछि खोजी गर्नेक्रममा बाटोभन्दा करिब ४० मिटर तल भीरमा मिल्काइएको अवस्थामा मृत भेटिएकी थिईन् । बिहान होटलमा काम गर्न गएर साँझ घर फर्कने गरेकी तामाङको शव ढुंगाले किचेर हत्या गरेर भीरबाट खसाइदिएको अनुमान गरिएको छ । प्रहरीका अनुशार युवतीको शवको टाउको फुटेका, दाँत खसाइदिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा भेटिएको थियो ।

अपराधी पत्ता नलाग्दा हुने गम्भीर सामाजिक र मनोवैज्ञानिक अशरप्रति प्रहरी र प्रशासन सचेत हुनुपर्ने आफन्त रमेश गाउँलेले बताए । घटनाका बिषयमा दवावमुलक कार्यक्रम गर्ने सञ्जालले जनाएको छ । ‘दोषी पत्ता लाग्न लाग्यो भन्दै यत्रो दिन टार्ने काम गरिएको छ,’ पुर्व सांसद समिता कार्कीले भनिन्, ‘यो घटनामा प्रहरी र प्रशासनको गम्भीर उदासिनता देखिएको छ ।’ केन्द्रबाट अनुसन्धानका बिज्ञ टिम, तालिम प्राप्त कुकुर र प्रविधिको प्रयोग गरेर भएपनि दोषी पत्ता लगाउनु पर्ने खोटाङ क्षेत्र नम्बर २ का सांसद बिशाल भट्टराईको माग छ । ‘मैले पटक–पटक सिडिओ र डीएसपीलाई रिताको हत्यारा पत्ता लगाउन भएसम्मको शक्ति लगाँउन भनिरहें, डीएसपी आफैं घटनास्थल पुगेर अनुसन्धान गर्नुभयो । तर, अहिलेसम्म ठोस नतीजा आएको देखिदैन,’ सांसद भट्टराईले भने, ‘अपराध लुकाउनु पनि अपराध नै हो, तसर्थ हामी जोसंग जे सुचना छ, प्रहरीलाई दिएर अपराधी पत्ता लगाउन सघाऔँ ।’ ‘अपराधी अझसम्म पत्ता नलाग्नु गम्भीर, अनुसन्धानलाई तीव्रता दिन जÞरूरी’ रहेको भन्दै सांसद भट्टराईले समाजको कलंकको रुपमा रहेको जघन्य अपराधमा संलग्न दोषीलाई अदालतको कठघरामा उभ्यााउनका लागि सबैलाई आग्रह गरेका छन् । 

घटनाको अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधान आफै टोली लिएर घट्नास्थल पुगेर फर्किए पनि दोषी पहिचान हुन सकेको छैन । रितासँग बारम्बार फोन सम्पर्कमा रहेका, भेटघाट गरिरहने र फोनबाट धम्क्याउने गरेको सुचनाका आधारमा शंकास्पद व्यक्तीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भए पनि दोषी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । दोषी पत्ता लाग्न नसक्दा आफन्त थप चिन्तित छन् । प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी रहेको जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post