sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » दिक्तेल–हलेसी सडक वर्षामा पनि सञ्चालन हुने

खोटाङ, १ जेठ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक यस वर्षबाट वर्षाको समयमा पनि सञ्चालन हुने भएको छ । कालोपत्रेको काम थालिएको उक्त सडकमा पहिलो चरणको ग्रावेल गर्ने काम सकिएकाले यसवर्षबाट वर्षाको समयमा पनि यातायात सञ्चालन हुने भएको हो ।

यातायात सेवा सञ्चालन भएको लामो समयपछि यस वर्षबाट वर्षाको समयमा पनि यातायात सञ्चालन हुने भएपछि जिल्लावासी हर्षित भएका छन् । यसअघि हिउँदको समयमा छ महिना मात्र यातायात सञ्चालन हुने उक्त सडकमा यस वर्षबाट बाह्रै महिना यातायात सञ्चालन हुने भएपछि जिल्लावासी हर्षित भएका हुन् ।

दुई वर्षअघिदेखि कालोपत्रेको काम थालिएको उक्त सडकमा अहिले दोस्रो चरणको ग्रावेल गर्ने, नाली निर्माण र सफा गर्ने काम भइरहेको आयोजना प्रमुख इन्जिनियर किशोरी राययादवले बताउनुभयो । “यातायात सञ्चालनमा अवरोध नहुनेगरी तीब्रगतिमा काम गरिहेका छौं ।” उहाँले भन्नुभयो, “लामो समयपछि यस वर्षबाट वर्षाको समयमा पनि निर्वाधरुपमा यातायात सेवा सञ्चालन हुने भएको छ ।”

यस वर्ष वर्षाको समयमा पनि निर्वाधरुपमा यातायात सेवा सञ्चालनमा रहेको खण्डमा जिल्लाको बजारभाउसमेत अहिलेकै अवस्थामा रहने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “छ महिना मात्र यातायात सञ्चालन हुँदा यसअघि बजार मुल्य आकासिने गरेको थियो ।” उहाँले भन्नुभयो, “यस वर्ष यातायात सेवा सुचारु रहेको खण्डमा त्यो समस्या रहन्न ।”
लामो समयसम्म कच्ची अवस्थामा रहेको यस सडक खण्डमा यसअघि दिक्तेलदेखि हलेसीसम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । सडक ग्रावेलिङ भएसँगै यस वर्षबाट वर्षाको समयमा पनि सडक अवरुद्ध नहुने भएपछि नियमित यातायात सेवा सञ्चालन गर्ने तयारी गरिएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो ।

यद्यपि, कालोपत्रेको काम थालिएको उक्त सडकमा नुनथलास्थित हुर्लुङ पाखाको कमसल (सेतो फोस्के) रोडा÷ढुङ्गा प्रयोग गरेको अनुगमनका क्रममा पाइएको छ । दिक्तेलदेखि हलेसीसम्म तीन खण्ड बनाएर कालोपत्रेको काम सुरु गरिएको सडक गुणस्तरहीन बन्दै गएको जनगुनासोपछि जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, प्रशासन, प्राविधिक, यातायात व्यवसायी, उद्योग वाणिज्य सङ्घ, पत्रकार लगायतको टोलीले वैशाख २५ गते अनुगमन गरेको हो ।

जिल्लाबाट गएको संयुक्त अनुगमन टोलीले ठेकेदार कम्पनीलाई प्रत्यक्ष भेटेर गुणस्तर कायम राख्न र तोकिएको समयमा सम्पन्न गर्न सुझाव दिएको छ । सडक कालोपत्रेको जिम्मा लिएका ठेकेदार कम्पनीले भने, ल्याव परीक्षण गरेरै सडकमा प्रयोग हुने ढुङ्गागिटी प्रयोग गरिरहेको दाबी गरेको छ ।

सडक कालोपत्रेको जिम्मा लिएका ठेकेदार कम्पनीले नाफा कमाउने उद्देश्यले कमसल सामग्री प्रयोग गरेको स्थानीयवासीको आरोप छ । जिल्लाको प्रमुख मार्ग दिक्तेल–हलेसी सडक कालोपत्रेको जिम्मा लामा नागार्जुन र लामा नागार्जुन त्रिसुलीले लिएको छ ।

जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सुर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्रे गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन त्रिसुलीले लिएको छ । एसियाली विकास बैंक (एडिबि)को आर्थिक सहयोगमा तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्नेगरी काम थालिएको हो ।

करिब दश वर्षअघिदेखि यातायात सू्चारु भएको दिक्तेल–हलेसी सडक लामो समयसम्म कालोपत्रे नहुँदा हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको थियो । सम्झौता गरेको लामो समयसम्म सुस्त गतिमा काम भइरहेको दिक्तेल–हलेसी सडक कालोपत्रे तत्काल सकाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ठाडो निर्देशन दिनुभएपछि यस वर्षबाट मात्रै कालोपत्रेको कामले गति लिएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post