sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » गलत शिक्षकहरुलाई उदाङ्गो पारे विद्यार्थीले

रामधन राई/खोटाङ
असार २३ । खोटाङका रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित जगदम्बा मावि खिरीका विद्यार्थीले जिल्ला शिक्षा अधिकारीलाई विद्यालयमै बोलाई आफ्नै शिक्षकहरुको टिप्पणी गरेका छन् । 

विद्यालयका विद्यार्थीहरुले हालै जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपाललाई फोनमार्फत विद्यालयमै बोलाई शिक्षण सिकाईमा बेवास्ता गरी आफ्नो भबिश्यमाथि खेलवाड गर्ने शिक्षकहरुको प्रत्यक्ष रुपमा टिप्पणी गरेका हुन् । 

समयमा विद्यालय नआउने, चार बजे अगावै विद्यालय छाड्ने, कक्षा नलिने, मादक पदार्थ सेवन गरेर विद्यालय आउने, आफ्नो कुरा नसुन्ने, विद्यार्थीलाई अनावश्यक गाली गर्ने, कुटपिट गर्ने जस्ता गलत कार्य गर्ने केही शिक्षकहरुलाई विद्यार्थीहरुले जिल्ला शिक्षा अधिकारी नेपालकै अगाडी टिप्पणी गर्दै बिरोध गरेका थिए । गलत शिक्षकहरुलाई पटक–पटक गुनासो राख्नका साथै प्रधानाध्यापकलाई जानकारी गराउँदा समेत बेवास्ता गरिएपछि जिल्ला शिक्षा अधिकारीलाई नै बोलाउनुपरेको विद्यार्थीको भनाई छ । विद्यार्थीका अनुसार सो विद्यालयका प्रधानाध्यापक समेत अनियमित रहने गर्दछन् । जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक, ब्यवस्थापन समितिका पदाधिकारी, अभिभाबक तथा विद्यार्थीबीचमा आकस्मिक रुपमा भएको अन्र्तक्रियामा विद्यार्थीहरुले केही शिक्षक कक्षा छाडेर राजनीतिक गतिबिधिमा संलग्न हुन जाने गरेको समेत आरोप लगाएका थिए । विद्यार्थीहरुले केही शिक्षकहरु सानातिनादेखि ठुला भोजहरुमा विद्यालय नै बन्द गरेर सामेल हुन जाने गरेको शिक्षकहरुकै अगाडी बताएका छन् ।
 विद्यार्थीले बेमेल भएको शिक्षक–शिक्षकबीच कहिलेकाँही कार्यालयमै झगडा हुने गरेको समेत जनाएका छन् । आफुहरुले विद्यालयमा अतिरिक्त क्रियाकलापको माग गरे पनि नगराउने, बिहानी प्रार्थना नगराउने भन्दै विद्यार्थीले शिक्षकहरुसँग गुनासो गरेका छन् । विद्यार्र्थी हाजिरीको प्रशंगमा कक्षामा पचहत्तर प्रतिशत उपस्थिती नपुगेको विद्यार्थीलाई समेत परीक्षामा सामेल गराईने जस्ता मनपरी काम गर्ने विद्यार्थीले जनाएको छ । 
छड्के निरीक्षणका रुपमा जिल्ला शिक्षा अधिकारीको उपस्थिती भएपछि विद्यार्थीहरु एक मुख लागेर विद्यालयको बेथितीको बारेमा एकाएक खुलाएका थिए । बेथिती सम्बन्धी विद्यार्थीले राखेका कतिपय सवालमा प्रधानध्यापक तथा शिक्षकहरु नाजवाफ बनेका थिए । शिक्षकहरुको नामै किटान गरेर बिरोधमा उत्रिएका केही विद्यार्थीले आफ्नो भबिश्यमा खेलवाड गर्न नपाईने भन्दै राम्ररी पढाउन नसक्ने भए आफ्नो प्रमाणपत्र लिएर अन्यत्रै अध्ययनको लागि जाने समेत उल्लेख गरे ।

विद्यालयमा शिक्षकहरुको लापार्बाही र अध्यापन गराउने कुरामा बेवास्ता भएको भन्दै विद्यार्थीले फोन गरी विद्यालयमा आईदिन आग्रह गरेकाले आफु पुग्दा केही शिक्षकहरु नियमित भए पनि केही भने अनियमित तथा अत्यन्तै लापारबाही गर्ने भेटिएको जिशिअ नेपालको भनाई छ । नेपाालका अनुसार विद्यार्थीले शिक्षकहरुको गलत गतिबिधीको बारेमा जानकारी गराएर बोलाएपछि स्रोतब्यक्ति दिनबिनोद दाहाललाई विद्यालय निरीक्षण गर्न पठाए पनि दाहालले अन्य कार्यक्रमका कारण जान नपाउने प्रष्ट्याएपछि आफै जानु परेको हो । विद्यालयमा अधिकांश विद्यार्थी अनुपस्थित पाईएको जनाईएको छ ।
विद्यालय निरीक्षणपछि प्रधानाध्यापकको कार्यकक्षमा भएको अन्र्तक्रियात्मक छलफलपछि विद्यालय सुधारका लागि ब्यवस्थापन समिति, अभिभाबक, शिक्षक तथा विद्यार्थी मिलेर कार्ययोजना बनाई अघि बढ्ने निर्णय भएको छ । जिशिअ नेपालले विद्यार्थी स्वयमले स्वयम शिक्षकहरुकै अगाडी टिप्पणी गर्दा लाजमर्दो अवस्था भएको भन्दै आगामी दिनमा सबै मिलेर सुधारमा लाग्न अनुरोध गर्नुभयो । पन्ध्र दिनभित्र विद्यालय सुधारको कार्ययोजना पेश गर्न प्रधानाध्यापक घिमिरेलाई निर्देशन गरिएको जिशिअ नेपालले जनाउनुभयो । 
बिभिन्न कारण कार्यशैलीमा सबै पक्षबाट केही गल्तीहरु भएको स्विकार गर्दै आगामी दिनमा सुधारको लागि प्रयत्न गर्नुे प्रधानाध्यापक गोपालप्रसाद घिमिरेले बताउनुभयो । 
२०२० सालमा स्थापना भई २०६५ सालदेखि माध्यमिक तह सञ्चालन हुन थालेको करिब २ सय विद्यार्थी अध्ययनरत विद्यालयमा माध्यमिक तहका लागि कुनै पनि शिक्षक दरबन्दी नभएको अभिभाबकले जनाएका छन् । 
पुर्वाग्राही ढंगले शिक्षकलाई ‘टर्चर’ दिने गरेको जिशिअलाई आरोप
जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले पुर्वाग्राही र पक्षपाती ढंगले शिक्षकहरुलाई ‘टर्चर’ दिएको केही अभिभाबकले आरोप लगाएका छन् । केही शिक्षकहरुकै उक्साहटमा विद्यार्थीले जिल्ला शिक्षा अधिकारीलाई फोन गरेको जनाउँदै जगदम्बा माबिमा आएर एमाले निकट शिक्षक संगठनका शिक्षकहरुलाई मात्र ‘टर्चर’दिएको अनेरास्वबियुको जिल्ला अध्यक्ष समेत रहनुभएको जगदम्बा  मा.बि.को अभिभाबक ओमप्रकाश घिमिरेले उल्लेख गर्नुभयो । शिक्षकले सुबिधाको रुपमा प्राप्त गर्ने बिदामा बसेको एक शिक्षकलाई राजनीति गर्न विद्यालय अनुपस्थित रहेको आरोप लगाई ‘टर्चर’ दिएको घिमिरेको आरोप छ । विद्यालयमा नियमित उपस्थित भई पठनपाठनमा संलग्न शिक्षकलाई एमाले निकट भएकै कारण ‘टर्चर’ दिएको घिमिरेले जनाउनुभयो । 
 
  
कांग्रेस लगायतको अन्य शिक्षकलाई केही नसोध्ने जिशिअले एमाले निकट शिक्षकहरुलाई मात्र खोजी–खोजी मानसिक रुपमा दवाब दिने गरेको भन्दै बुइपाकै अन्य विद्यालयमा भने कहिल्यै नजाने गरेको आलोचकहरु बताउँछन् । आलोचना गर्नेहरुले कांग्रेस निकट प्रधानाध्यापक तथा शिक्षकहरु कार्यरत सोही स्थानका विद्यालयमा भने जिशिअ कहिल्यै नपुग्ने जनाएका छन् । 
जिशिअ नेपालले भने को शिक्षक कुन पार्टी निकट भन्ने कुरा आफुलाई कुनै मतलब नहुने भन्दै कानुन अनुरुप काम गर्ने र गराउने बताउनुभयो । को शिक्षक कुन पार्टी निकट छन् भन्ने आफुलाई कुनै जानकारी नहुने जनाउँदै सबैले आफ्नो आफ्नो कर्तब्य  पुरा गर्नुपर्ने बताउनुभयो ।  
एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियु खोटाङले जिशिअले समग्र  जिल्लामै कांग्रेसको पक्ष लिएर काम गर्ने गरेको आरोप लगाउँदै आएको छ । जिशिअ नेपालले भने नियम कानुन बिपरित जाने जो कोही शिक्षकलाई सजक गराउनका साथै कानुनी प्रक्रियामा ल्याईएको जनाउँदै आउनुभएको छ । विद्यालय सुधार गरी विद्यार्थीको भबिश्य उज्वल पार्ने अभियानमा आफु जुटेको भन्दै  सबै पक्षलाई सहयोगको लागि अनुरोध गरिएको जिशिअ नेपालको भनाई छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post