sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » हलेसीमा पम्पिङ गरेर खानेपानी तान्ने काम अन्तिम चरणमा

खोटाङ, १९ साउन । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा पम्पिङ प्रविधिबाट खानेपानी तान्ने योजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको सुख्खाग्रस्त क्षेत्रमा पर्ने त्रीधार्मिकस्थल हलेसीमा नजिकै पानीको मुहान नभएपछि ४९० मिटर तल पर्ने नगरेखेतस्थित मुहानबाट पम्पिङ प्रविधि अपनाएर खानेपानी तान्ने योजनाको काम अन्तिम चरणमा पुगेको हो ।

नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयको रु ५९ लाखको लागतमा निर्माणाधीन योजनाको ट्याङ्की निर्माण, पाइप बिच्छ्याउने र विद्युत जडानको काम सकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष शुक्र विश्वकर्माले बताउनुभयो । “भौतिक पूर्वाधारको काम लगभग सकिएको छ ।” उहाँले भन्नुभयो, “पम्पिङ प्रविधि भएकाले प्राविधिक कुरा मिलाएर भदौ पहिलो हप्ताभित्रमा सञ्चालन गर्ने तयारी गरेका छौं ।”

मुहानमा ४० हजार लिटरको ट्याङ्की बनाइएको खानेपानी योजनाका लागि ६३ एमएमको जिआई पाइप बिच्छ्याइएको उपभोक्ता समितिले जनाएको छ । पम्पिङ गरेर सञ्चालन गर्न लागिएको योजनाबाट मन्दिर सरसफाई, भक्तजनका लागि धारा, सार्वजनिक सौचालयमा प्रयाप्त पानी तथा स्थानीयवासीलाई समेत वितरण गरिने जनाइएको छ ।

हलेसी आउने भक्तजन तथा पर्यटकलाई पहिलो प्राथमिकतामा राखेर निर्माण कार्य सुरु गरिएको खानेपानी योजना सञ्चालनपछि बजारको खानेपानी समस्यासमेत समाधान हुने अपेक्षा गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो । “पानी अभावमा अहिले हलेसी क्षेत्रमा निर्माण गरिएका सौचालय बन्द गरिएको छ ।” उहाँले भन्नुभयो, “योजना सञ्चालन हुनासाथ सबै सञ्चालन गर्ने तयारी गरेका छौं ।”

करिब साँढे ४०० घर परिवार बसोवास गर्ने हलेसीमा यसअघि बसाहा गुफादेखि पश्चिमपट्टी रहेको पानीको मुहानबाट पम्पिङ प्रविधि अपनाएर खानेपानी विस्तार गरिएको छ । ५० हजार लिटरको ट्याङ्की निर्माण गरेर बजारका लागि खानेपानी विस्तार गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल गिरीले बताउनुभयो ।

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल मानिने हलेसीको चौतर्फी विकासका लागि नगरपालिकाले दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने तयारी गरिएको मेयर ईवन राईले बताउनुभयो । “हलेसी जिल्लाको मात्र नभएर विश्वकै सम्पत्ती हो ।” उहाँले भन्नुभयो, “यसलाई व्यवस्थित गर्न सबै लागीपर्नुपर्ने अवस्था छ ।”


यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post