sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » दिक्तेलबजार स्तरोन्नतिका लागि सर्वेक्षण सुरु, डेढ वर्षमै व्यवस्थित बजार बनाइने

केदार मगर÷खोटाङ, 
२७ भदौ । रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेलबजारको स्तरोन्नतिका लागि सर्वेक्षण सुरु गरिएको छ । बजार क्षेत्रभित्रको सडक कालोपत्रे, विद्युत र टेलिफोनको तार तथा खानेपानीको पाइप जमिनमुनी गाड्ने र अव्यवस्थित अवस्थामा रहेको ढल निकासका लागि सर्वेक्षण सुरु गरिएको हो ।
सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा आगामी डेढ वर्षभित्र सबै काम सम्पन्न गर्नेगरी सर्वेक्षणको काम सुरु गरिएको नगर प्रमुख दिपनारायण रिजालले बताउनुभयो । “जिल्लाको व्यापारिक केन्द्र तथा सदरमुकाम रहेको दिक्तेलबजार अहिले कुरुप अवस्थामा छ ।” उहाँले भन्नुभयो, “डेढ वर्षभित्र यसलाई व्यवस्थित बजार बनाएर जिल्लाको मुख्य व्यापारिक केन्द्र बनाउने योजनामा हामी लागीपरेका छौं ।”
कच्ची अवस्थाको सडक, जथाभावी टाँगिएको विजुली र टेलिफानको तार, ढल फुटेर दुर्गन्धित बजार, जहाँतँहि टुक्रिएको खानेपानीको पाइप लगायतलाई व्यवस्थित गर्नुका साथै बजार क्षेत्रभित्र खुला ठाउँ निर्माण, रिङरोड तथा शाखा सडकहरु निर्माण गर्न सर्वेक्षणको काम थालिएको नगरपालिकाका कार्यकारी अधिकृत खिलाराज राईले बताउनुभयो । दिक्तेलबजारको चौतर्फी विकासका लागि सर्वेक्षणको जिम्मा लिएको ग्रीनथम्स कन्सलटेन्स कम्पनीले मङ्गलबारदेखि सर्वेक्षणको काम थालेको हो । 
सर्वेक्षण गर्नुअघि नगरपालिकाले सोमबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सर्वदलीय÷सर्वपक्षीय भेला आयोजना गरेको थियो । भेलामा सहभागी वक्ताहरुले सबैको सहमती र सहकार्यमा काम अगाडि बढाउन सुझाव दिएका छन् । 
दिक्तेलबजारका अधिकांश घरहरु पूरानो र कच्ची रहेकाले तत्काल व्यवस्थित गर्न चुनौति देखिएको छ । घोरेटो बाटोको आधारमा दुवैतर्फ घरहरु निर्माण गरिएकाले मोटर सञ्चालन हुनेगरी सडक निर्माण गर्न समस्या देखिएको छ । 
२०६४ सालमा हेलिकोप्टरमार्फत जिल्ला ल्याइएको बस बजार क्षेत्रभित्र सबै ठाउँ पुग्न सक्ने अवस्था छैन । साँघुरो तथा कच्ची अवस्थामा रहेको सडक कालोपत्रे गर्न बजारआसपासका दर्जनबढी घरहरु भत्काउनुपर्ने अवस्थामा रहेको देखिएको छ ।
बाक्लो तथा अव्यवस्थित तरिकाले बनाइएको कच्ची घरहरुमा यसअघि पटक–पटक आगलागीका ठूला घटनाहरु हुने गरेको छ । नगरपालिका घोषणा भएलगत्तै नगरपालिकामा अग्नी नियन्त्रण यन्त्र (दमकल) ल्याइएको भएपनि घटनास्थलसम्म पुग्न नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको छ ।  
कन्सलटेन्स कम्पनीले तयार पारेको सर्वेक्षण प्रतिवेदनको आधारमा योजना निर्माण गरेर काम अगाडि बढाइने नगरपालिकाले जनाएको छ । सरकारले व्यवस्थित गर्न खोजेको नेपालको ९० वटा बजारमध्ये दिक्तेलबजार पनि परेको जनाइएको छ ।  
यसअघि नगरपालिका कालोपत्रेका लागि स्थानीय विकास मन्त्रालयबाट आएको रकम नगरवासीको असहयोगका कारण फिर्ता भएको थियो । मन्त्रालयले तोकिएको मापदण्ड विपरित काम नगर्ने र नगरवासीले मापदण्ड अनुसार काम गर्न नदिने भएपछि कालोपत्रेका लागि आएको रकम फिर्ता भएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post